आँखाको मोतियाबिन्दुको शल्यक्रिया
नुवाकोट : आँखाका बिरामीहरूको सुविधाका लागि नुवाकोटको विदुरमै आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ।
तिलगंगा आँखा प्रतिष्ठान, नुवाकोट रेडक्रस र सामुदायिक आँखा केन्द्र नुवाकोटको संयुक्त आयोजनामा गरिएको विशेषज्ञ शिविरमा ८८ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो। रेडक्रस भवन विदुरमा दुई दिनसम्म सञ्चालित शिविरमा महिला ५२ र पुरुष ३६ जनाको आँखाको मोतियाबिन्दु गरिएको आयोजकले जनाएको छ।
नुवाकोटका विभिन्न स्थानबाट छनौट गरेर आँखाका मोतियाबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको आयोजक रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिए। उनका अनुसार विदुर युवा रेडक्रस सर्कलको समन्वयमा सम्पन्न शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका डा. कृपा वैद्यको आँखा चिकित्सक टोलीले शल्यक्रियासहितको उपचार गरेका थिए।
बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतले आँखाको महत्व विशेष रहेका कारण यसको संरक्षण र स्याहारमा ध्यान दिनु पर्ने बताए। उनले शल्यक्रिया शिविरमा सहयोग गरेका व्यक्ति तथा संस्थाहरूलाई प्रमाणपत्र प्रदान गरे।
गत कात्तिक २८ देखि मंसिर ४ गतेसम्म विभिन्न स्थानमा गरिएको छनौट शिविरबाट एक सय २१ जना आँखामा मोतियाबिन्दु भएका बिरामी पहिचान गरिएको रेडक्रस नुवाकोटका कार्यालय प्रमुख समुन्द्रबाबु अधिकारीले जानकारी दिए। शल्यक्रिया शिविरमा आँखाको शल्यक्रिया गरिएका बिरामीहरूलाई निःशुल्क औषधि वितरण गर्नुको साथै शल्यक्रिया गरिएको आँखाको स्वास्थ्य सुरक्षाबारे सचेतना गरिएको थियो।