उपनिर्वाचनका लागि यस्तो छ कर्णालीमा दलहरूबीच रस्साकस्सी
वीरेन्द्रनगर : कर्णाली प्रदेशका ८ वटा स्थानीय तहमा मंसिर १६ गते हुने उपनिर्वाचनमा आफ्नो पक्षमा परिणाम ल्याउन दलहरू चुनावी मैदानमा छन्। २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको विविध कारणले निधन भएपछि रिक्त रहेका कर्णालीका ८ वटा पदका लागि हुने उपनिर्वाचन केन्द्रित सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू परिणाम आफ्नो पक्षमा ल्याउने कसरतमा सक्रिय छन्। अहिले चुनावी माहोल निकै तातेको छ।
जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष तथा दैलेखको दुल्लु नगरपालिका वडा नं. १३ नम्बर वडा, कालिकोटको तिलागुफा नगरपालिका वडा नं. ४, जाजरकोटको कुसे गाउँपालिका वडा नं. ७, डोल्पाको त्रिपुरान्दरी नगरपालिका वडा नं ५ र रुकुमश्चिमको सानीभेरी गाउँपालिका वडा नं. ५ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ।
दैलेखको महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको हृदयघातका कारण २०७९ माघ २७ गते निधन भएको थियो। जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ मा जाजरकोट भूकम्पमा परी मृत्यु भएको थियो। गत ४ भदौमा सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटनामा परेका हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको उपचारकाक्रममा नेपालगन्जको भेरी अस्पतालमा निधन भएको थियो।
नेकपा एमालेबाट दुल्लु नगरपालिका वडा नं. १३ का वडाध्यक्षमा निर्वाचित भएका विर्खबहादुर शाहीको ब्रेन ट्युमरका कारण २०८० माघमा मृत्यु भएको थियो। कालिकोटको तिलागुफा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष परमहादुर शाही २०७९ असोज २४ गते मलामी गएको अवस्थामा राचुलीस्थित तिला कर्णाली माथिबाट आएको पहिरोमा परी बेपत्ता भएका थिए। उनको अवस्था अझै पनि अज्ञात छ।
माओवादी केन्द्रबाट जाजरकोटको कुशे गाउँपालिका वडा नं. ७ का वडाध्यक्षमा निर्वाचित मनबहादुर घर्तीको २०७९ असार ४ गते निधन भएको थियो। डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष नन्दलाल रोकाको दमका कारण गत माघमा निधन भएको थियो। २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट रुकुमश्चिमको सानीभेरी गाउँपालिका वडा नं. ५का वडाअध्यक्ष निर्वाचित भएका अलबहादुर खत्रीको जन्डिसका कारण २२ माघ २०८० मा निधन भएको थियो।
गाउँपालिका अध्यक्षका लागि ७ जना, नगर उपप्रमुखका लागि ६ जना, गाउँपालिका उपाध्यक्षका लागि ७ जना र पाँच वडाध्यक्षका लागि २४ जनाले कर्णालीमा उम्मेद्वारी दिएर चुनावी मैदानमा हुमिएका छन्। दैलेख महावुमा नेपाली कांग्रेसबाट झलकबहादुर भण्डारी, नेकपा माओवादी केन्द्रबाट जंगबहादुर बराल मगर, नेकपा एकीकृत समाजवादीबाट जगतबहादुर हमाल, नेकपा एमालेबाट जंगबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश कुमार बुढा, राप्रपाबाट सुर्जे रावत र नेपाल मजदुर किसान पार्टीबाट दुर्गबहादुर मगर चुनावी मैदानमा छन्।
दैलेखको दुल्लु नगरपालिका वडा नं. १३ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट रेशमबहादुर शाही, नेकपा एमालेबाट लालबहादुर शाही, नेकपा माओवादी केन्द्रबाट ढकेन्द्र शाही, नेमकिपाबाट पूर्णप्रसाद उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेशम मल्ल चुनावी मैदानमा छन् ।
जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसबाट ईन्द्रा चन्द सिंह, नेकपा एमालेबाट सुनिता बोहरा, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने, राप्रपा नेपालबाट सुनिता पुन रावल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन, नेपाल समाजवादीबाट पवित्रा जैशी चुनावी मैदानमा छन्। हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्षमा नेपाली कांग्रेसबाट सविता बुढा, नेकपा एमालेबाट जाना शाही, नेकपा माओवादी केन्द्रबाट देवकी तिमिल्सेना, राप्रपाबाट संगीता शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाचा बुढा र स्वतन्त्र उम्मेद्वार रामसरा खड्का साउँद र नरेश शाही चुनावी मैदानमा छन्।
कालिकोटको तिलागुफा नगरपालिका वडा नं. ४ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट पैलबहादुर शाही, एमालेबाट ऐनबहादुर शाही, नेमकिपाबाट खड्कराज शाही, नेकपा माओवादी केन्द्रबाट नैशोभा शाही, राप्रपाबाट गोगनबहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गगन बम चुनावी मैदानमा छन्। जाजरकोटको कुशे गाउँपालिका वडा नं. ७ मा हुने वडाध्यक्षमा एमालेबाट डम्मरबहादुर घर्ती, कांग्रेसबाट खम्बबहादुर सिंह, नेकपा माओवादी केन्द्रबाट गोरखबहादुर नेपाली र राप्रपाबाट लालबहादुर खत्री चुनावी मैदानमा छन्।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ५ को वडाध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसबाट राजेन्द्रप्रसाद न्यौपाने, एमालेबाट नरबहादुर रोकाय, नेकपा माओवादी केन्द्रबाट नरबहादुर झाक्री र नेकपा एकीकृत समाजवादीबाट ज्योति घर्ती चुनावी मैदानमा हुमिएका छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. ५ को वडाध्यक्षमा कांग्रेसबाट मोतिराम खत्री, नेकपा माओवादी केन्द्रबाट जसीराम बस्नेत र नेकपा एकीकृत समाजवादीबाट हंसराज पुरी र स्वतन्त्र उम्मेद्वार वीरबहादुर बस्नेत चुनावी मैदानमा छन्। जहाँ सबै दलहरु तथा स्वतन्त्र उम्मेद्वारहरु समेत आफ्नो पक्षमा जनमत बटुल्न सक्रिय रूपमा लागिरहृका छन्। उनीहरूले आ-आफ्ना उम्मेदवारहरू विजयी हुने दाबी गरिरहेका छन्