मुस्ताङको कृषि उत्पादनमा पर्यटकको क्रेज

मुस्ताङको कृषि उत्पादनमा पर्यटकको क्रेज

जोमसोम : हिमालपारीको जिल्ला मुस्ताङ कृषि र पर्यटनको प्रसिद्ध हब बन्दै जान थालेको छ।  राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला)सडक आयोजना सहज हुँदै जान थालेपछि मुस्ताङको आर्थिक समृद्धिको मुख्य आधार कृषि र पर्यटन बन्न थालेको हो।

मुस्ताङमा बर्सेनि लाखौं पर्यटक मुस्ताङ  भित्रदै गर्दा यहाँको पर्यटन व्यवसायले मात्रै होइन, यहाँको कृषि उत्पादनले पनि राम्रो बजार पाएको छ। मुस्ताङ भन्ने बित्तिकै पर्यटकले यहाँ स्याउ, खुर्पानी, ओखर आदि फलफूललाई झट्ट सम्झने गर्छन्। त्यसो मुस्ताङमा स्याउ तथा अन्य शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूलले बनेका विभिन्न परिकार निर्माण हुन्छन्। 

मुक्तिनाथ दर्शनका साथै मुस्ताङ जिल्लाको भ्रमण गर्ने पर्यटकले फर्किँदा यहाँको कृषि उत्पादन कोसेलीका रूपमा लैजाने गर्छन्।  स्याउ लगायतका फलफूलबाट जिल्लाका किसानको प्रत्यक्ष आम्दानी छँदैछ त्यसका अलावा यहाँको कृषि उत्पादन बिक्री गर्न बसेका कोसेली घरले पनि गतिलो आम्दानी गर्न थालेका छन्। 

जोमसोम, पुथाङ एयरपोर्ट, मुक्तिनाथ, मार्फा, कागबेनी लगायतका स्थानमा बग्रेल्ती कोसेली घरहरू सञ्चालनमा छन्। यसका अलावा राष्ट्रिय राजमार्ग सडकको फुटपाथमा समेत कतिपयले मुस्ताङको उत्पादन बिक्री गर्न बस्छन्।

मुस्ताङका कोसेली घरमा पर्यटकको क्रेज बर्सेनि वृद्धि हुँदै जान थालेको छ। हिमाली जिल्लाको शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारी र याक च्यांग्राको सुकुटी स्वादिलो र पोसिलो हुन्छ। यसै भएर पनि मुस्ताङका उत्पादनमा पर्यटकको आकर्षण बढेको हो। मुस्ताङ  भ्रमण गरेका पर्यटकले यहाँबाट केही न केही स्थानीय उत्पादन कोसेलीको रूपमा लैजाने गरेको पुथाङ एअरपोर्टमा मुस्ताङ कोसेली घर एण्ड सप्लायर्स चलाएर बसेका स्थानीय रामलाल बिकले जानकारी दिए। 

विक आन्तरिक पर्यटकलाई स्याउ तौलदै गरेका थिए। उनको कोसेली घरमा नेपाली पर्यटक स्थानीय उत्पादन किन्न झुम्मिएका थिए। कोसेली घरका सञ्चालक विक भन्छन्, ‘मुस्ताङ आउने पर्यटकले यहाँको उत्पादन किनेर लैजान्छन्, कोसेली घर चलाएर राम्रै आम्दानी भएको छ। हामीले प्राय गरी यहाँकै उत्पादनलाई प्राथमिकता दिएर कोसेली घर चलाएका छौं।’

उनले मुस्ताङका किसानको बगैँचामा पुगेर फलफूल र अन्य सामाग्री खरिद गर्ने गरेको बताए। उनले कृषि उत्पादन जुटाउन भने निकै गारो हुने सञ्चालक विकको भनाइ छ।

मुस्ताङको जोमसोम, पुथाङ एरपोर्ट र मार्फामा दर्जनौ कोसेली घरहरू खोलिएका छन्। यहाँका कोसेली घरहरूले स्याउ, स्याउको सुकुटी, स्याउको जुस, जाम, ब्रान्डी, ओखर, खुर्पानी, वाइन, साइडर लगायतका कोसेलीहरू बिक्री गर्ने गरेको पुथाङ एअरपोर्ट स्थित सरोज फलफूल तथा किराना पसल चलाएकी बलदेवी फगामीले उल्लेख गरिन्। उनले सिजनको समय दसैं, तिहार र चैते दसैंको समयमा पर्यटकहरूले यहाँको कोसेली लैजाने गरेको बताइन्। 

मुस्ताङका कोसेली घरहरूमा मुख्य रूपमा बिक्री हुने यहाँको स्याउ नै हो। मुस्ताङमा उत्पादित स्याउमध्ये करिब २० प्रतिशत स्याउ जिल्लामै खपत हुन्छ। यसवर्ष मुस्ताङमा ७ हजार ३३० मेट्रिक टन स्याउ उत्पादन हुँदा ९२ करोडको स्याउ आम्दानी भएको प्रक्षेपण कृषि ज्ञान केन्द्रले गरेको छ। 

यो वर्ष स्थानीय जातका लोकल स्याउ ६ हजार ८० मेट्रिक टन र इटालीबाट आयात गरिएको उच्चघनत्वको हाइब्रिट स्याउ  १ हजार २५० मेट्रिक टन फलेको थियो। सडक सहज भएसँगै यहाँ उत्पादित कृषि उत्पादनको बजारीकरण समस्या कुनै समस्या छैन। यसैका कारण कृषि क्षेत्रमा यहाँका किसानहरूको आकर्षण बढेको छ।

मुस्ताङका कोसेली घरहरूमा मुख्यतया स्याउ र स्याउबाट बनेका विभिन्न परिकार बिक्री गर्न राखिने गरिएको छ। यसका अलावा टिमुरको छोप, याकको पुच्छर, छुर्पी, फापरको पीठो र सिमीको दाल ,बोडीको दाल र जिम्मु आदि बिक्री गर्ने गरिन्छ। कतिपय कोसेली घरमा याक चौरीको सुकुटी मासु समेत बिक्री गर्न राखिएको छ।

मुस्ताङमा एक दर्जन बढी फलफूल प्रशोधन केन्द्र सञ्चालनमा छन्। मुस्ताङमा  सञ्चालनमा रहेका फलफूल प्रशोधन उद्योगहरूले विभिन्न परिकारहरू तयार गरी बिक्री गर्छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.