पञ्चेबाजा बजाउँदै सन्धिखर्कका महिला
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा महिलाहरूले व्यावसायिक रुपमा पञ्चेबाजा बजाउन सुरु गरेका छन्।
गाउँघरमा पञ्चेबाजा केही समुदायका पुरुष व्यक्तिहरूले मात्र बजाउनु पर्दछ भन्ने परम्परागत मान्यतालाई चिर्दै सन्धिखर्क नगरपालिका-१०, धरम्पानीका महिलाहरूले नौमती बाजालाई आफ्नो पेशाका रूपमा अगाडि बढाउन लागेका छन्।
महिलाहरूलाई पञ्चेबाजा बजाउन तालिम प्रदान गरेपछि उनीहरू व्यावसायिक रूपमा अगाडि बढेको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यले बताएकी छिन्। १० नम्बर वडाका विभिन्न जातजातिका महिलाहरूको समूह सन्देश नौमती बाजा समूह बनाएर कला संस्कृति संरक्षणसँगै आय आर्जन गर्ने कार्यमा जुटेका छन्। समुदायका केही व्यक्तिले महिलाहरूले पनि बाजा बजाउन जाने भनेर हेप्ने गरे पनि आफूहरू निरन्तर लाग्ने तालिममा सहभागी इन्दिरा हमालले बताइन्।
व्यावसायिक रूपमा अगाडि बढ्न सबै दिदी बहिनीहरू प्रतिबद्ध भएको तालिममा सहभागी कमला पराजुलीको भनाइ छ। लोप हुँदै गएको कला संस्कृति संरक्षण गर्न महिलाहरूले पञ्चे बाजा बजाउने कार्य सुरु गरेपछि व्यावसायिक रूपमा फाइदा पुग्ने र आय आर्जनमा टेवा पुग्ने अपेक्षा गरिएको नगर उपप्रमुख आचार्यको भनाइ छ।
सुभ कार्य गर्दा बज्ने पञ्चे बाजाहरू पछिल्लो समय बिस्तारै बज्न छाडेका छन्। पाकापुस्तामा भएको सिप युवा पुस्ताले चासो नदिँदा नौमती बाजा लोप हुने चिन्ता बढेपछि आफूहरू नौमती बाजा बजाउन सुरु गरेको सन्देश नौमती बाजा समूहका अध्यक्ष शान्ता नेपालीले बताइन्।
सिकेको सिपलाई निरन्तरता दिँदै आयआर्जनको बाटोमा लाग्नु पर्ने सन्धिखर्क नगरपालिका-१० का वडाध्यक्ष मोहनसिंह ठकुरीले बताए। अर्घाखाँचीको सन्धिखर्क ६ नरपानीमा महिलाहरूको पञ्चेबाजा बजाउने २ समूह, वडा नम्बर १२ डिभर्नामा एक समूह रहेका छन्। मालारानी गाउँपालिकाको हंसपुरमा २ समूह रहेको छ। उनीहरू पनि व्यावसायिक रूपमा अगाडि बढेका छन्।