मतदाताको गुनासो : ‘दुःखमा हामीलाई कसैले हेरेन’

मतदाताको गुनासो : ‘दुःखमा हामीलाई कसैले हेरेन’
जाजरकोटमा कांग्रेसको घरदैलो । तस्बिर : राजेन्द्र कार्की

जाजरकोटको नलगाड नगरपालिकामा उपचुनावको निकै रौनक छ। उम्मेदवारहरू मतदाताको घरघरमा पुगेर मत मागिरहेका छन्। तर उम्मेदवारसँग अधिकांश मतदाताले गुनासो पोख्ने गरेका छन्। भूकम्पको राहत, पुनर्निर्माण र पुनस्र्थापनामा कसैले सहयोग नगरेको, रोजगारी र विकास निर्माणका विषयमा जनप्रतिनिधि, दलबाट अपेक्षाकृत सहयोग नपाएको गुनासो गर्ने गरेका छन्।

नलगाड—३ का बिर्खबहादुर कामीले अस्थायी आवासकै दोस्रो किस्ताको अनुदान रकम पाउन नसकेको गुनासो सुनाउने गरेका छन्। उनले भने, ‘पुनर्निर्माणको कुरा त परको भयो। अस्थायी आवासकै दोस्रो किस्ता रकम पाउन सकेनौं। जनप्रतिनिधिले के हेरे ? दलका नेताहरूले के हेरे ? भोट माग्न मात्र आउने, दुःखमा साथ नदिने ? किन भोट दिने ? ।’ उनीजस्तै नलगाड—४ का महेन्द्र बोहराले पनि अस्थायी आवासको दोस्रो किस्ता पाउन नसकेको गुनासो गर्ने गरेका छन्। 

कतिपय मतदाताले गाउँमा विकास निर्माण नभएको, रोजगारी नपाएको, भूकम्पको राहत वितरणमा पक्षपात भएको, पुनर्निर्माणमा ढिलाइ भएको लगायतका गुनासो सुनाउने गरेको प्रचारमा हिँडेका नेपाली कांग्रेसका नेता छवि पन्तले बताए। उनले मतदाताहरू निकै सचेत र उत्साहित रहेको पनि बताए। 

नलगाड नगरपालिकामा उपप्रमुख पदमा ६ वटा पार्टीको उम्मेदवारी दर्ता भएको छ। कांग्रेसबाट इन्द्राचन्द सिंह, एमालेबाट सुनिता बोहरा, माओवादी केन्द्रबाट देवका लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट सुनिता पुन रावल, रास्वपाबाट पार्वती पुन, नेपाल समाजवादी पार्टीबाट पवित्रा जैसी चुनावी प्रतिस्पर्धामा छन्। चुनावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। 

उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गते भूकम्पमा परी मृत्यु भएपछि उपप्रमुख पद रिक्त थियो। सिंह २०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएकी थिइन्। गत निर्वाचनमा सिंह ५ हजार ४ सय ६ मत पाएर विजयी भएकी थिइन्। उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुनिता बोहोराले ३ हजार ३ सय ९३ मत पाएकी थिइन्।

त्यतिबेला पराजित उपप्रमुख सुनिता बोहरालाई नेकपा एमालेले पुनः उपप्रमुखमै उम्मेदवार बनाएको छ। अघिल्लो पटक कांग्रेसलाई सहयोग गरेको माओवादी केन्द्रले देवका लामिछानेलाई उम्मेदवार बनाएको छ। लामिछाने चुनाव जित्नेमा ढुक्क छिन्। माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत मनोनयनकै बेलादेखि चुनावी प्रचारमा सक्रिय रूपमा लागिरहेका छन्। यो उनको गृह जिल्ला पनि हो। 

कांग्रेसले पनि गत वर्ष नगरउपप्रमुख पद जितेको र २०६४ सालमा झिनो मतले पराजित भएका कारण अहिले चुनाव जित्ने गरी मैदानमा होमिएको छ। कांग्रेसले उम्मेदवार बनाएकी इन्द्रा स्वर्गीय सरिताकै भाइबुहारी हुन्। कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, सहमहामन्त्री जीवन परियारलगायतका नेताहरू चुनावी प्रचारका क्रममा जाजरकोट पुगेका छन्।

त्यस्तै, एमालेबाट उम्मेदवार भएकी बोहरा योसहित तेस्रो पटक मैदानमा आएकी छन्। गत चुनावमा दुई पार्टीले गठबन्धन गरेर जिते पनि एक्लाएक्लै लड्दा आफू अगाडि आउने उनको दाबी छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.