उपनिर्वाचनको रस्साकस्सी, मतदाता तान्ने होडबाजी

उपनिर्वाचनको रस्साकस्सी, मतदाता तान्ने होडबाजी

आउने आइतबार अर्थात् मंसिर १६ गते मतदान गर्ने दिन। स्थानीय तहमा रिक्त १ मेयर, १ उपमेयर, २ गाउँपालिका अध्यक्ष ४ गाउँपालिका उपाध्यक्ष र ३४ वडाध्यक्षका लागि उपनिर्वाचन हुँदै छ। स्थानीय तहको यो उपनिर्वाचनको मिति नजिकिँदै जाँदा गाउँगाउँमा चुनावी रन्को छ। दलहरू प्रचारप्रसारमा व्यस्त छन्। 

सुदूरमा चर्को दौडधुप 

सुदूरपश्चिमका विभिन्न जिल्लामा उपनिर्वाचनको रौनक छ। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष र अरू चार जिल्लामा रिक्त वडाध्यक्ष पदका लागि दलहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन। दार्चुलाको दुहुु, कञ्चनपुरको भीमदत्त नगर, बझाङको सुर्मा गाउँपालिका र डोटीको पूर्वीचौकी गाउँपालिकामा वडाध्यक्षको निर्वाचनको चहलपहल बढेको छ। 

स्वार्मीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा तीन ठूला पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ। एमालेबाट सुलोचनकुमारी भण्डारी बुढा, कांग्रेसबाट पुल्तीसरा शाही र एकीकृत समाजवादीबाट जवा शाहीबीच प्रतिस्पर्धा हुन लागेको हो। माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी फिर्ता लिएका छन। बाजुरामा सत्ताको नेतृत्व सम्हालिरहेको पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ। 

प्रतिपक्षमा रहेको माओवादी केन्द्रले उपनिर्वाचनमा एमालेलाई सघाउने सहमति गरेको एमालेका प्रदेश सचिव रणबहादुर चन्दले बताए। माओवादीबाट उम्मेदवार बनेकी राजुकुमारी विकले उम्मेदवारी फिर्ता लिएर एमाले उम्मेदवार जिताउन प्रचारप्रसारमा हिँडेको सचिव चन्दले बताए। 

बाजुरामा आ–आफ्नो उम्मेदवारलाई जिताउन पार्टीका ठूला नेता खटिएका छन्। एमाले उम्मेदवारलाई जिताउन स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य तथा बाजुरा इन्चार्ज लालबहादुर थापा, प्रतिनिधिसभा सदस्य दयालबहादुर शाही, केन्द्रीय सदस्यहरू प्रकाशबहादुर शाह, शहदेव बोगटी, प्रदेश कमिटी उपाध्यक्ष कालीबहादुर शाही र प्रदेश सचिव रणबहादुर चन्द खटिएका छन्।

कांग्रेस उम्मेदवार पुल्तीसरा शाहीको प्रचारमा पार्टीका सहमहामन्त्री जीवन परियार, पूर्वप्रदेशप्रमुख देवराज जोशी, पूर्वराज्यमन्त्री जनक गिरी, महासमिति सदस्य तथा प्रदेशसभा सदस्य जुना दानीसहितका नेताहरू बाजुरा पुगेका छन्। यस्तै, एकीकृत समाजवादीकी उम्मेदवार जवा शाहीको प्रचारका लागि पोलिटब्युरो सदस्य हिक्मत शाही, पोलिटब्युरो सदस्य नरेशबहादुर शाही, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अजबहादुर मल्ल मैदानमा खटिएका छन्। 

ग्रामथानमा ठूला दललाई चुनौती

थारू समुदायको बाहुल्य क्षेत्र मानिने मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। उम्मेदवार भोट माग्न व्यस्त छन्। विभिन्न साना र ठूला दलबाट १५ र स्वतन्त्र १ सहित १६ जना उम्मेदवार मैदानमा छन्। उम्मेदवारहरू पूर्वाधार निर्माणदेखि कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलगायतका एजेन्डा बोकेर मतदाता फकाउँदै भोट माग्न व्यस्त छन्। गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारूको गत असार ३ गते निधन भयो। रिक्त रहेको अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो। 

null

मोरङमा माओवादी केन्द्रको चुनावी अभियान । 

कांग्रेस छाडेका नमोनारायण माझी नेकपा (माओवादी केन्द्र)बाट अध्यक्षका उम्मेदवार छन्। यद्यपि, नवप्रवेशीलाई टिकट दिएको र पुराना एवं पार्टीभित्र योगदान गरेकालाई पाखा लगाइएको भनेर माओवादीभित्र तीव्र विवाद र असन्तुष्टि छ। 

नमोनारायणलाई जिताउन पूर्वमन्त्री एवं संघीय सांसद अमनलाल मोदी, माओवादीका कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्जहरू सावित्रीकुमार काफ्ले, अजम्बर काङ्माङ राई, राष्ट्रियसभामा माओवादीका प्रमुख सचेतक गोपी अछामीदेखि पूर्वराज्यमन्त्री विजयकुमार विश्वास, पूर्वसांसद कुलप्रसाद साम्बालगायतका नेता सक्रिय छन्। 

कांग्रेसले बलराम सरदार थारूलाई उम्मेदवार बनाएको छ। उनी पार्टीमा संस्थापनइतर अर्थात् डा. शेखर कोइराला पक्षधर हुन्। पार्टीभित्रको गुटगत विवादले चुनावी नतिजामा असर पर्न सक्ने विश्लेषण पनि छ। बलरामलाई चुनाव जिताउन पूर्वमन्त्रीहरू महेश आचार्य, मीनेन्द्र रिजाल, डिकबहादुर लिम्बू, डिला संग्रौला, प्रदेश सांसद अमृत अर्याल, नेता गुरुराज घिमिरे, सांसद भीम पराजुलीलगायत खटिएका छन्। 

एमालेले तुलसीराम विश्वासलाई उम्मेदवार बनाएको छ। आकांक्षी धेरै हुँदा व्यवस्थापन गर्न नसकेको भनेर एमालेभित्र पनि विवाद छ। पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार चुनावी मैदानमा छन्। एमालेबाट अध्यक्षको आकांक्षी रहेका नमनारायण चौधरीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन्। मुढा चुनाव चिह्न पाएका उनको उम्मेदवारीले एमालेलाई धक्का लाग्न सक्ने अनुमान छ। यद्यपि, तुलसीरामलाई चुनाव जिताउन एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय सदस्य जीवन घिमिरे, विनोद ढकाललगायतका नेताहरू अहोरात्र खटिएका छन्। 

ग्रामथानको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्कुमार चौधरी, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी उम्मेदवार छन्।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारू, मंगोल नेसनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहरले उम्मेदवारी दिएका छन्। सबै उम्मेदवारले प्रचारप्रसारलाई व्यापक बनाएका छन्। 

पूर्वशिक्षक भरत गुरागाईंले ग्रामथानमा १६ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा तीन ठूला दलबीच हुने बताए। सामाजिक अगुवासमेत रहेका गुरागाईं थारू बाहुल्य रहेको ग्रामथानमा पहाडे समुदायको मत निर्णायक हुने बताउँछन्। 

गौरीशंकरमा राजनीतिक माहोल तात्दै
दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो। 
गौरीशंकरमा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, जनता समाजवादी पार्टीका उम्मेदवार छन। यस्तै, अप्सरा विश्वकर्मा, अम्बिका श्रेष्ठ, दीपक तामाङ, दिलबहादुर बस्नेत, द्वारिका बुढाथोकी, पुष्पा कार्की, मधुरा कार्की, शिव शम्भु तामाङ र सर्किमा शेर्पाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन। 

चुनावको मिति नजिकिएसँगै राजनीतिक दलका नेताहरू बोलेरो गाडी भाडामा लिएर घरदैलोमा पुुगिरहेका छन्। मंसिरको चटारो भएकाले घरमा मतदाता नभेटेपछि उम्मेदवारहरू मतदाता खोज्दै खेतबारीमा पुग्ने गरेका छन्। चुनावी प्रचारप्रसार व्यापक रूपमा अगाडि बढाएका छन्। नेपाली कांग्रेसकी पासदिकी तामाङ आफ्नो श्रीमान्को अधुरा काम पूूरा गर्न उपाध्यक्षको उम्मेदवारी दर्ता गराएको र सबैले साथ दिनुपर्ने भन्दै घरदैलोमा पुुगेकी छिन्। नेकपा एमालेकी उमा मगर सबै जनताको मन जित्ने गरी काम गर्न सक्ने क्षमता आफूमा रहेको भन्दै मत माग्न हिँडेकी छिन्।

नेकपा माओवादी केन्द्रका निमलेकी शेर्पा आफू यसअघि पनि स्वास्थ्य स्वयंसेवी भएर सेवा गरेको र अब ९ वटा वडाको सेवा गर्न उम्मेदवारी दिएकोले निर्वाचित गराउनुपर्ने भन्दै मत माग्न घरदैलोमा छन्। स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरू अब नयाँलाई पालो दिनुपर्ने अडानसहित घरदैलोमा पुुगेका छन्।

महाबुमा विरासत जोगाउने र फर्काउने कसरत
दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि सात जना उम्मेदवार चुनावी मैदानमा छन्। कांग्रेसका झलकबहादुर भण्डारी, एमालेका जंगबहादुर शाही, माओवादी केन्द्रका जंगबहादुर बराल मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशकुमार बुढा, राप्रपाका सुर्जे रावत र नेमकिपाका दुर्गबहादुर मगर चुनावी मैदानमा छन्। एकीकृत समाजवादीका जगतबहादुर हमालले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गरेका छन्। मंगलबार एमालेले आयोजना गरेको सभामा हमालले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दैै एमालेको उम्मेदवारलाई समर्थन गरेको घोषणा गरेका छन्। 

गाउँपालिका अध्यक्षमा निर्वाचित कांग्रेसका लछुमन गुरुङको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरू दलका नेताहरूसहित मतदाता भेट्न घरदैलो पुगेका छन्। टोल तथा वडास्तरीय चुनावी आमसभामा दलहरू केन्द्रित छन्। मुख्यगरी नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्लादेखि केन्द्रीय तहका नेताहरू महाबु केन्द्रित छन्।

यो गाउँपालिकामा मुख्यगरी नेपाली कांग्रेसले आफ्नो विरासत जोगाउने गरी कसरत गरिरहेको छ। नेकपा एमाले पनि आफ्नो विरासत फर्काउने रणनीतिमा छ। कांग्रेसका तर्फबाट महाबुको उपनिर्वाचनमा चुनावी मैदानमा होमिएका झलकबहादुर भण्डारीको जनमतसमेत राम्रो रहेको कांग्रेस नेताहरूको बुझाइ छ। युवामाझ लोकप्रिय भण्डारी उपनिर्वाचनको मत परिणाम आफ्नो पक्षमा पार्न प्रयासरत छन्।

यसअघिको निर्वाचनमा अध्यक्षमा निर्वाचित लक्षुमन गुरुङसँगै उनी लामो समयसम्म गाउँ घुमे। चुनाव जितिसकेपछि पनि उनै गुरुङसँग नजिक रहेर काम गरे। त्यसैले पनि कांग्रेस आफ्नो पुरानो विरासत जोगिनेमा ढुक्क छ।

null

एमालेले दैलेखमा मंगलबार आयोजना गरेको चुनावी सभा।

एमालेले २०७४ मा एमालेबाटै पालिका अध्यक्षमा निर्वाचित, २०७९ को निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेर मतका हिसाबले तेस्रो भएका जंगबहादुर शाहीलाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको छ। यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार र त्यसबेला समाजवादीबाट उम्मेदवार बनेका जंगबहादुर शाहीले प्राप्त गरेको ४ हजार ७ सय ८७ मतको आधारमा एमालेको विरासत फर्किने आकलन गरिरहेको छ।

नेकपा एकीकृत समाजवादीबाट गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवार बनेका जगतबहादुर हमालले एमालेकै उम्मेदवारलाई समर्थन गरेपछि निर्वाचन जित्नेमा एमाले हौसिएको छ। यस पटकको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले समेत उम्मेदवारी दिएको छ। पुराना राजनीतिक दलले जनताको अवस्था बदल्न नसकेको बताउँदै आएको रास्वपाले युवामाझ लोकप्रिय रहेका प्रकाशकुमार बुढालाई उम्मेदवार बनाएको छ। 

उम्मेदवारका आ–आफ्नै दाबी

नेकपा एमालेबाट उम्मेदवार बनेका जंगबहादुर शाही महाबुको समृद्धिका लागि अघि बढाएको योजना तथा कार्यक्रमकै कारण मतदाताले आफूलाई रोज्ने बताउँछन्। नेपाली कांग्रेसबाट उम्मेदवार बनेका झलकबहादुर भण्डारीले कांग्रेस जनतामा विश्वास राख्ने पार्टी भएकाले महाबुमा गर्नुपर्ने विकासका मतदाता आफ्नो पक्षमा रहेको बताए।

नेकपा माओवादी केन्द्रका उम्मेदवार जंगबहादुर बराल मगरले संघीयतालाई मजबुत बनाउन महाबुका जनताले आफूलाई विजयी बनाउने दाबी गरे। राष्ट्रिय स्वतन्त्र पार्टीबाट गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार प्रकाशकुमार बुढाले विकास र सुशासनको पक्षमा वकालत र पैरवी गर्दै आएकाले आफूले जित्ने बताए।

कांग्रेस एमाले एकातिर, माओवादी–एकीकृत समाजवादी अर्कातिर 

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा उपनिर्वाचनको चहलपहल बढेको छ। नेकपा माओवादी र नेकपा एमाले चुनावी एजेन्डा लिएर गाउँ पसेका छन्। 

उपाध्यक्ष पदको लागि कांग्रेस र एमाले तथा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन चुनावी मैदानमा छन्। कांग्रेस–एमाले गठबन्धनबाट एमालेकी केशकुमारी तुलाचन र माओवादी केन्द्र–नेकपा एस गठबन्धनबाट माओवादी केन्द्रकी नरपुरा बुढा पुनको उम्मेदवारी छ। अहिले पार्टीहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन्।

उपनिर्वाचनका लागि उम्मेदवारसहितको वडास्तरीय कोण सभा, पार्टी प्रशिक्षण, जनभेटघाट, टोलस्तरीय बैठक, मतदाता शिक्षाजस्ता कार्यमा जोड दिइएको नेकपा माओवादी केन्द्रकी जिल्ला संयोजककुमारी बरालले जानकारी दिए। 

त्यस्तै, कांग्रेस–एमाले गठबन्धन पनि मतदाता रिझाउन लागिपरेको छ। मतदाता तथा जनभेटघाट, छलफलजस्ता कार्यक्रम गरेर चुनावी एजेन्डाबारे जानकारी गराउने काम भइरहेको नेकपा एमालेका जिल्ला अध्यक्ष लीलामणि गौतमले बताएका छन्।

सर्केगाडमा कांग्रेस–माओवादीबीच प्रतिस्पर्धा

सर्केगाड गाउँपालिका स्थानीय तह उपनिर्वाचन यसपटक विशेष चर्चामा छ। उपनिर्वाचनमा उपाध्यक्ष पद हत्याउने तीन ठूला दल कांग्रेस, एमाले, माओवादी केन्द्र प्रसारप्रसारमा होमिएका छन्।

जिल्लाका राजनीति दल, नेता कार्यकर्ता सर्केगाड गाउँपालिकामा केन्द्रित छन्। सर्केगाड गाउँपालिकामा पहिलो दलका रूपमा रहेको कांग्रेस यस पटक माओवादी केन्द्रले बलियो उम्मेदवार देवकी तिमिल्सेनालाई उम्मेदवर बनाएसँगै डराएको छ। नेपाली कांग्रेसले सविता बुढालाई उभ्याएको छ। नेकपा एमालेले जाना शाहीलाई उम्मेदबार बनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संगिता शाही उम्मेदवार छिन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले बाँचा बुढालाई उम्मेदबार बनाएको छ। 

एमाले कांग्रेस जाजरकोटको निर्णय कुर्दै
जाजरकोटको नलगाड नगरपालिका र हुम्लाको सर्केगाड गाउँपालिकामा दलहरूबीच विरासत जोगाउने र तोड्ने प्रतिस्पर्धा बेजोडले चलिरहेको छ।

जाजरकोटको नलगाड नगरपालिका नेपाली कांग्रेसले पाएपछि हुम्लाको सर्केगाड गाउँपालिका एमालेको भागबन्डामा पर्छ कि भन्ने नेकपा एमाले दाउ कुरिरहेको छ। किनकि हुम्लाको सर्केगाड गाउँपालिका नेकपा एमाले जनमतको हिसाबले तेस्रो दलभित्र पर्छ।

nullजाजरकोटमा कांग्रेसको घरदैलो । तस्बिर : राजेन्द्र कार्की

हुम्लाको सर्केगाड गाउँपालिकामा माओवादीलाई कांग्रेस र एमालेका कारण चुनौती छ। कांग्रेस–माओवादी गठबन्धनबाट उपाध्यक्ष पदमा विजयी भएको माओवादीका लागि एक्लाएक्लै निर्वाचनमा जाँदा कांग्रेस–एमाले नै चुनौती बनेका छन्। 

अस्थायी आवासकै दोस्रो किस्ता रकम पाउन सकेनौं। जनप्रतिनिधिले के हेरे ? दलका नेताहरूले के हेरे ? भोट माग्न मात्र आउने, दुःखमा साथ नदिने ? त्यसो भए किन भोट दिने ? 
बिर्खबहादुर कामी, नलगाड—३, जाजरकोट 

गाउँमा विकास निर्माण नभएको, रोजगारी नपाएको, भूकम्पको राहत वितरणमा पक्षपात भएको, पुनर्निर्माणमा ढिलाइ भएको लगायतका मतदाताका गुनासा छन् । 
छवि पन्त, कांग्रेस नेता, जाजरकोट 

‘दुःखमा हामीलाई कसैले हेरेन’
जाजरकोटको नलगाड नगरपालिकामा उपचुनावको निकै रौनक छ। उम्मेदवारहरू मतदाताको घरघरमा पुगेर मत मागिरहेका छन्। तर उम्मेदवारसँग अधिकांश मतदाताले गुनासो पोख्ने गरेका छन्। भूकम्पको राहत, पुनर्निर्माण र पुनःस्थापनामा कसैले सहयोग नगरेको, रोजगारी र विकास निर्माणका विषयमा जनप्रतिनिधि, दलबाट अपेक्षाकृत सहयोग नपाएको गुनासो गर्ने गरेका छन्।

नलगाड—३ का बिर्खबहादुर कामीले अस्थायी आवासकै दोस्रो किस्ताको अनुदान रकम पाउन नसकेको गुनासो सुनाउने गरेका छन्। उनले भने, ‘पुनर्निर्माणको कुरा त परको भयो। अस्थायी आवासकै दोस्रो किस्ता रकम पाउन सकेनौं। जनप्रतिनिधिले के हेरे ? दलका नेताहरूले के हेरे ? भोट माग्न मात्र आउने, दुःखमा साथ नदिने ? किन भोट दिने ? ।’ उनीजस्तै नलगाड—४ का महेन्द्र बोहराले पनि अस्थायी आवासको दोस्रो किस्ता पाउन नसकेको गुनासो गर्ने गरेका छन्। 

कतिपय मतदाताले गाउँमा विकास निर्माण नभएको, रोजगारी नपाएको, भूकम्पको राहत वितरणमा पक्षपात भएको, पुनर्निर्माणमा ढिलाइ भएको लगायतका गुनासो सुनाउने गरेको प्रचारमा हिँडेका नेपाली कांग्रेसका नेता छवि पन्तले बताए। उनले मतदाताहरू निकै सचेत र उत्साहित रहेको पनि बताए। 

नलगाड नगरपालिकामा उपप्रमुख पदमा ६ वटा पार्टीको उम्मेदवारी दर्ता भएको छ। कांग्रेसबाट इन्द्राचन्द सिंह, एमालेबाट सुनिता बोहरा, माओवादी केन्द्रबाट देवका लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट सुनिता पुन रावल, रास्वपाबाट पार्वती पुन, नेपाल समाजवादी पार्टीबाट पवित्रा जैसी चुनावी प्रतिस्पर्धामा छन्। चुनावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। 

उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गते भूकम्पमा परी मृत्यु भएपछि उपप्रमुख पद रिक्त थियो। सिंह २०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएकी थिइन्। गत निर्वाचनमा सिंह ५ हजार ४ सय ६ मत पाएर विजयी भएकी थिइन्। उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुनिता बोहोराले ३ हजार ३ सय ९३ मत पाएकी थिइन्। त्यतिबेला पराजित उपप्रमुख सुनिता बोहरालाई नेकपा एमालेले पुनः उपप्रमुखमै उम्मेदवार बनाएको छ।

अघिल्लो पटक कांग्रेसलाई सहयोग गरेको माओवादी केन्द्रले देवका लामिछानेलाई उम्मेदवार बनाएको छ। लामिछाने चुनाव जित्नेमा ढुक्क छिन्। माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत मनोनयनकै बेलादेखि चुनावी प्रचारमा सक्रिय रूपमा लागिरहेका छन्। यो उनको गृह जिल्ला पनि हो। 

कांग्रेसले पनि गत वर्ष नगरउपप्रमुख पद जितेको र २०६४ सालमा झिनो मतले पराजित भएका कारण अहिले चुनाव जित्ने गरी मैदानमा होमिएको छ। कांग्रेसले उम्मेदवार बनाएकी इन्द्रा स्वर्गीय सरिताकै भाइबुहारी हुन्। कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, सहमहामन्त्री जीवन परियारलगायतका नेताहरू चुनावी प्रचारका क्रममा जाजरकोट पुगेका छन्।
त्यस्तै, एमालेबाट उम्मेदवार भएकी बोहरा योसहित तेस्रो पटक मैदानमा आएकी छन्। गत चुनावमा दुई पार्टीले गठबन्धन गरेर जिते पनि एक्लाएक्लै लड्दा आफू अगाडि आउने उनको दाबी छ।

शिवराज भट्ट/धनगढी, किशोर बुढाथोकी/विराटनगर, राजेन्द्र कार्की/जाजरकोट, हिक्मतबहादुर नेपाली/दैलेख, भवानी खड्का/दोलखा, बिस्नप्रसाद न्यौपाने/वीरेन्द्रनगर, निराजन सिर्पाली/रुकुमपूर्व, नरजन तामाङ /हुम्ला


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.