छलफल गरेर मात्रै १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोक्न माग

छलफल गरेर मात्रै १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोक्न माग

काठमाडौं : नेपाल ओलम्पिक कमिटीमा आबद्ध खेल संघहरूको संस्था कन्फिडेरेसन अफ नेसनल स्पोट्र्स एसोसिएसनले सरोकारवाला निकायसँग छलफल गरेर मात्रै १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति निर्धारण गर्न माग गरेको छ। नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाको अध्यक्षतामा सातदोबाटोमा मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो।

बैठकले सरोकारवाला खेलकुद संघसँग छलफल नगरी एकलौटी रुपमा मिति निर्धारण गरेमा संस्थामा आवद्ध संघहरू विरोधमा उत्रिने निर्णय पनि गरेको नेपाल उसु महासंघका महासचिव  लाक्पाछिरिङ लामाले जानकारी दिए।

‘अहिले १०औं राष्ट्रिय खेलकुद कहिले हुन्छ भन्ने अन्योलता छ। पहिले घोषणा भएको मिति घर्किसकेकाले नयाँ मिति तोक्दा संघहरूसँग पनि छलफल गरेर मात्रै तोक्नुपर्छ भन्ने हो’, महासचिव लामाले भने, ‘१०औं राष्ट्रिय खेलकुदको मिति निर्धारण गर्नुपूर्व सम्बन्धित खेल संघका प्रतिनिधिबाट खेल स्थलको अनुगमन, निरीक्षण र सरोकारवाला खेल संघसँगको छलफलपछि मात्रै १०औं राष्ट्रिय खेलकुदसम्बन्धी निर्देशिका जारी गर्नुपर्ने हाम्रो माग छ। अन्यथा हामी विरोधमा उत्रिनुको विकल्प हुँदैन।’

बैठकले राष्ट्रिय खेलकुद विकास ऐन संशोधनमा भइरहेको प्रगतिका बारेमा पनि युवा तथा खेलकुद मन्त्रालयसँग छलफल गर्ने निर्णय गरेको छ। यस्तै राष्ट्रिय खेलकुद परिषद्को यही शुक्रबार बस्ने भनिएको बोर्ड बैठक तत्कालका लागि रोक्नुपर्ने माग पनि बैठकले गरेको छ।

‘अहिले राष्ट्रिय खेलकुद परिषद्को बोर्ड आधाभन्दा बढी रिक्त छ। यस्तो अवस्थामा बोर्ड बैठक बस्दा भोलिका दिनमा विभिन्न कानुनी झमेला पनि निम्तिन सक्छ। त्यसैले रिक्त रहेका पदाधिकारी नियुक्ति गरेपछि मात्रै बोर्ड बैठक बस्नुपर्छ भन्ने हाम्रो माग हो’, महासचिव लामाले भने।

बैठकमा ओलम्पिक कमिटीमा आबद्ध २७ मध्ये २१ संघका अध्यक्ष तथा महासचिवको उपस्थिति रहेको थियो। बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझी पनि उपस्थित थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.