ग्रामथानका ४ मतदानस्थल संवेदनशील

ग्रामथानका ४ मतदानस्थल संवेदनशील
सुन्नुहोस्

विराटनगर : मोरङको ग्रामथान गाउँपालिकामा आगामी उपनिर्वाचनका लागि १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र कायम गरिएको छ।

कायम गरिएकामध्ये ४ वटा मतदानस्थल सुरक्षाका दृष्टिकोणले संवेदनशील सूचीमा परेका छन्। जिल्ला सुरक्षा समितिले मतदानस्थलमध्ये ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्यको सूचीमा राखेर वर्गीकरण गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। 

उनका अनुसार सुरक्षाका दृष्टिकोणले संवेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै मतदानस्थलमा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको छ। विगतका निर्वाचनमा भएका झगडा, विवाद र मतदान केन्द्रको संख्यालगायतलाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरिएको जानकारी भट्टराईले दिए। 

उनका अनुसार ग्रामथानमा अति संवेदनशील मतदानस्थल भने छैनन्। प्रजिअ भट्टराईले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर मतदानस्थलको वर्गीकरण गरिएको जानकारी दिए। उनका अनुसार ग्रामथानमा आगामी उपनिर्वाचनका लागि एकीकृत सुरक्षा योजना बनाएर लागू गरिएको छ। 

सुरक्षा स्रोतका अनुसार ३ वटा वा सोभन्दा बढी मतदान केन्द्र र धेरै मतदाता रहेका मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ। ग्रामथान-१ को लखन्तरीस्थित वीरेन्द्र मावि, ५ को तेतरियास्थित देवी मावि, ६ को रविहाटस्थित पब्लिक मावि र ७ को धोवियारेस्थित गणेश मावि मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको हो।

वीरेन्द्र माविमा ३ वटा मतदान केन्द्र र २ हजार ५ सय १३ मतदाता छन्। देवी माविमा ५ वटा मतदान केन्द्र र ४ हजार ८ सय ३८ मतदाता, पब्लिक माविमा ४ वटा केन्द्र र ३ हजार ७ सय ५५ मतदाता तथा गणेश माविमा ३ वटा केन्द्र र २ हजार २ सय ५६ जना मतदाता छन्।

मतदानस्थलमध्ये ग्र्रामथान-१ को खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालयमा १ केन्द्र र ७ सय ७७ मतदाता, २ को वडा कार्यालयमा २ केन्द्र र २ हजार ७२ मतदाता, २ कै झोराहाटस्थित सरस्वती माविमा १ केन्द्र र २ हजार ६२ मतदाता, ३ को भौसाबाडीस्थित राधाकृष्ण आधारभूत विद्यालयमा २ केन्द्र र १ हजार ४ सय ६ मतदाता तथा ३ कै सिद्राहास्थित वाणी माविमा २ वटा केन्द्र र १ हजार ५ सय ४७ मतदाता छन्। 

त्यस्तै ग्रामथान-४ को लोहासुरस्थित महेन्द्र माविमा २ केन्द्र र २ हजार ८१ मतदाता, ४ कै मोतीपुरस्थित लोहन्द्रा आधारभूत विद्यालयमा २ केन्द्र र १ हजार ८ सय ९२ मतदाता तथा ७ को बनिगास्थित सरस्वती आधारभूत विद्यालयमा १ केन्द्र र ८ सय ४५ जना मतदाता रहेका छन्। ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता छन्। 

आगामी उपनिर्वाचनको सुरक्षाका लागि डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको जानकारी मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले दिए। समग्र निर्वाचन सुरक्षालाई लक्षित गरेर मोरङ प्रहरीका डीएसपी मदन केसीको नेतृत्वमा टोली खटाइएको हो। मतदानस्थलमध्ये संवेदनशीलमा इन्स्पेक्टर तथा सामान्यमा वरिष्ठ सइ र सइको नेतृत्वमा प्रहरी परिचालन हुने चिमरियाको भनाइ छ। उनका अनुसार निर्वाचनका दिन सिनियर प्रहरी अधिकृतको नेतृत्वमा ४ वटा मोबाइल गस्ती परिचालन गरिने छ। 

त्यसबाहेक रिजर्ब र स्ट्राइकिङ टोली पनि रहने जानकारी एसपी चिमरियाले दिए। उनका अनुसार उपनिर्वाचनलाई लक्षित गरेर सूचना संकलन गर्ने तथा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने काम भइरहेको छ। निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय सक्रिय भएर लागेको उनको भनाइ छ। 

ग्रामथानको अध्यक्षमा यसअघि २०७९ मा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए। गत असार ३ गते उनको निधन भएपछि आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.