आईपीओ पाइपलाइनमा ७६ कम्पनी

आईपीओ पाइपलाइनमा ७६ कम्पनी
फाइल तस्बिर।

काठमाडौं : नेपाल धितोपत्र बोर्डमा आईपीओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) निष्कासनको अनुमतिका लागि पाइपलाइनमा ७६ वटा कम्पनीहरू छन्। नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अहिलेसम्म रोकिएको आईपीओ निष्कासन चाँडै सुरु हुने आश्वासन दिएका छन्। 

‘सेबोनमा हुने आईपीओको काम नियमित हो। नियमित रूपमा हुने काममा अध्यक्षले खासै केही गर्न नपरे पनि रोकिएको ‘भ्याकुम’ भएकाले हो। ‘अब सबै काम नियमित हिसावले अगाडि बढ्छ्,’ अध्यक्ष श्रेष्ठले अन्नपूर्णसँग भने। उनले कार्यभार सम्हाल्दै एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिने पहिलो निर्णय गरे। यसैक्रममा उनले पुँजीबजारको विकासमा सबै सरोकारवाला निकायहरूसँगको सहकार्यमा लाग्ने र पुँजीबजारलाई वर्तमान समय सापेक्ष अगाडि बढाउने बताएका छन्। यससँगै, नयाँ स्टक एक्सचेन्जका बिषयमा सरकारको निर्देशनबमोजिम अगाडि बढ्नेमा उनी कटिबद्ध देखिन्छन्। अब देखिएका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसावले प्राथमिकतामा राखेर पुँजीबजार विकासमा लाग्ने उनको भनाइ थियो। सुरुमा नेतृत्वको अभावमा काराण रोकिएका कामहरूलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाए। 

पुँजी बजारको नियामकीय निकाय सेबोन भएकाले अब पुँजीबजार विकासका लागि काम गर्ने उनी बताउँछन्। उनकाअनुसार नेपालमा पुँजीबजार पूर्ण रुपमा विकास नभएकोले सुरुवाती चरणमै छ। ‘यसअवस्थामा सेबोनले धेरै काम गर्नुपर्ने हुन्छ। हामी सीमित दायरामा मात्रै बसेका छौं। धितोपत्र बोर्डको उद्देश्य पनि समग्र मुलुकको अर्थतन्त्र सुदृढ गर्न, पुँजी विकास तथा परिचालन गर्न सहयोग पुर्‍याउने हो। त्यहिअनुसार चल्नु पर्छ,’ अध्यक्ष श्रेष्ठले भने। 

उनले पहिलो प्राथमिकता लगानीकर्ताहरूको सुरक्षा रहेको बताउँदै लगानीकर्तालाई पनि सजग भएर पुँजी बजारमा लाग्न अनुरोध गरे। ‘सेयर बजार लगानीकर्ताको आत्मविश्वासमा चल्ने हो। आत्मविश्वास कायम राख्न हामी सदैव सजग छौं,’ अधयक्ष श्रेष्ठले अन्नपूर्णसँग भने।

कुन क्षेत्रका कति कम्पनी आईपीओ पाइपलाइनमा ?

नेपाल धितोपत्र बोर्डले मंसिर ७ गते मात्रै एउटा कम्पनी (गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स)को आईपीओ निष्कासनको स्वीकृति दिएको छ। कम्पनीको १ सय अंकित मूल्यको ७५ लाख कित्ता सेयर मध्ये ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि स्वीकृत गरिएको छ। विभिन्न समयमा आवेदन दिएका कम्पनीको सूचीअनुसार आईपीओ पाइपलाइनमा ७६ वटा कम्पनी रहेका सेबोनले जनाएको छ। सबैभन्दा बढी हाइड्रोपावर क्षेत्रका कम्पनीहरू छन्। जलविद्युत्कम्पनीको मात्रै ३७ वटाको आईपीओ निष्कासनका लागि पर्खाइमा रहेको छ। यसैगरी, होटल तथा पर्यटन क्षेत्रमा ५ कम्पनीहरूले आईपीओको स्वीकृति मागेका छन्। यसैगरी क्रमशः लगानी क्षेत्रमाका २ कम्पनी, उत्पादन तथा क्षेत्रमा १३ वटा कम्पनी, लघुवित्त वित्तीय संस्थाअन्तर्गत एउटा कम्पनी, लघुबिमा अर्थात माइक्रोइन्स्योरेन्स ३ वटा कम्पनी र अन्य क्षेत्रका १५ वटा कम्पनीले आईपीओ निष्कासनको अनुमतिको पर्खाइमा छन्। 

उक्त ७६ वटा कम्पनीबाट कुल ४८ अर्ब ५८ करोड ४० लाख १६ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि स्वीकृति मागिएको छ। उक्त मूल्यको कुल ३३ करोड ३४ लाख ३६ हजार ८३ कित्ता सेयर रहेको छ। सबै कम्पनीले स्वीकृत पाउँदा ३३ करोड कित्ताभन्दा बढी आईपीओ निष्कासन हुनेछ। अधिकांशको प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँ छ। केहीले भने प्रतिकित्ता ५० रुपैयाँ तोकेका छन्। जसअन्तर्गत अकामा होटल र नेपाल ब्रोडकास्टिङ च्यानल देखिन्छ। अझ कतिपयले भने अंकित मूल्य १ सय रुपैयाँमा थप प्रिमियममा सेयर निष्कासनका लागि प्रस्ताव गरेको देखिन्छ। जसमा प्रतिकित्ता शिवम् होल्डिङ्सले २१० रुपैयाँ, रिद्धिसिद्धि सिमेन्टले २१४ रुपैयाँ १० पैसा, सौर्य सिमेन्टले २६४ रुपैयाँ ५१ पैसा, ह्याम्स हस्पिटलले २८८ रुपैयाँ, जगदम्बा स्टिलले ३ सय, कैलाश हेलिकप्टरले ३ सय २७ रुपैयाँ, र छायादेशी कम्प्लेक्सले ४ सय रुपैयाँको आईपीओ निष्कासनको प्रस्ताव पेश गरिएको बोर्डले जनाएको छ।

पुँजीबजारमा निरन्तर हरियाली

सरकारले गत सोमबार नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त गरेदेखि सेयर बजार निरन्तर हरीयाली छाएको छ। साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भयो। उक्त दिन नेप्से परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ विन्दुमा पुग्यो। जबकि अघिल्लो दुई कारोबार दिन बढेर बन्द भएको नेप्सेले बुधबार पनि सोही क्रमलाई निरन्तरता पायो। जसले पूँजीबजारमा हरीयाली छाएको छ। लगानीकर्ताहरू पनि उत्साहित भएकै कारण यतिबेला पूँजीबजार उकालो लागेको देखिन्छ। 

अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३३ अंकले बढेको थियो। उक्त दिन ७ अर्ब ४४ करोड रुपैयाँ मूल्य बराबरको कारोबार भएको थियो। त्यसअघि सोमबार ६ अर्ब ३४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। बुधबार ३ सय १६ कम्पनीको १ करोड ७१ लाख ८३ हजार ८ सय ५४ कित्ता सेयर ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँमा खरिद बिक्री भयो। उक्त दिन दोहोरो अंकले बढेको सेयर बजारमा ८ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। जसमा विशाल बजार, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, मानुसी लघुवित्त वित्तीय संस्था र ग्रीन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढ्यो। 

यसदिन आधा दर्जनभन्दा बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यसो हुँदा मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। उक्त कम्पनीको सेयर १० प्रतिशतले घट्यो। समग्रमा कारोबार रकमका आधारमा यसदिन जानकी फाइनान्स अगाडि देखियो। 

यस्तै, एनआरएन इन्फ्रास्टक्चरको ३३ करोड रुपैयाँको सेयर कारोबार हुँदा पिपुल्स हाइड्रोपावर र नेपाल फाइनान्सले २४-२४ करोड रुपैयाँको सेयर कारोबार गरे। कारोबारमा आएका १ सय ९९ कम्पनीको मूल्य बढ्दा ४० वटाको घट्यो। बाँकी ५ कम्पनीको मूल्य भने स्थिर रह्यो। फाइनान्स समूहबाहेक अन्य समूहको उपसूचक भने सकारात्मक देखिए। यसदिन ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ९.२७ अंकले बढ्न पुग्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.