चुमनुब्रीमा घामसँगै अस्ताउँछ मोबाइल नेटवर्क

चुमनुब्रीमा घामसँगै अस्ताउँछ मोबाइल नेटवर्क
सुन्नुहोस्

गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा विगत एक महिनादेखि रात र बिहानको समयमा मोबाइल नेटवर्कले काम गरेको छैन। सधैं साँझ घाम अस्ताएपछि गएको मोबाइल नेटवर्क भोलिपल्ट बिहान घाम नलागेसम्म नआउने स्थानीयहरूले गुनासो गरेका छन्। 

‘एक महिना भइसक्यो, बेलुकादेखि भोलिपल्ट बिहान ८ बजेसम्म मोबाइलको नेटवर्क देखाउँदैन’, चुमनुब्री गाउँपालिका–३ जगतका गणेश कार्कीले भने, ‘यस्तो समस्या पटकपटक भइरहन्छ। १२ घण्टाभन्दा बढी समयसम्म फोनमा नेटवर्क नहुँदा हामी उत्तरी गोरखावासीहरू समस्यामा छौँ।’ आफूहरूले पटकपटक पालिका र नेपाल टेलिकममा गुनासो गर्दासमेत सुनुवाइ नभएको उनले बताएका छन्। 

चुमनुब्रीमा नेपाल टेलिकमको नेटवर्क मात्र चल्छ। त्यो पनि समयसमयमा नचलेर हैरान हुने गरेको ग्राहकहरूको गुनासो छ। ‘मोबाइल नेटवर्क नहुँदा न फोन लाग्छ, न त फोर जी नै चल्छ। स्थानीय सर्वसाधारण, पर्यटकहरू, गाइड, पोर्टर, हामी होटल व्यवसायी त सधैं मर्कामा परेका छौं’, उनले भने। रातको समयमा नेटवर्क नचल्दा आपत्कालीन समयमा निकै समस्या हुने गरेको उनले गुनासो गरे। 

‘आजभोलि सबै होटलहरू अनलाइनबाटै बुकिङ हुन्छ, पर्यटकहरू पनि फोनबाट सम्पर्क गर्दै आउनुपर्ने हुन्छ। यसरी सधैं बेलुकादेखि भोलिपल्ट बिहानसम्म फोनले काम नगर्दा हामी त अँध्यारोमा परेका छौं’, उनले भने। 

चुमनुब्री गाउँपालिकाका अध्यक्ष नीमा लामाले पनि राति टावर जाँदा निकै समस्या हुने गरेको बताएका छन्। उनी भन्छन्, ‘समस्या त भएको छ, आजै समन्वय गर्ने तयारी गरिरहेको छु। छिट्टै समस्याको समाधान हुन्छ।’

नेपाल टेलिकम कार्यालय गोरखाका प्रमुख सरोज अर्यालले भने प्राविधिक समस्याका कारण नेटवर्क गएको बताए। ‘त्यहाँको टेलिकमको टावर सोलारबाट चल्ने हुँदा घाम अस्ताएपछि नेटवर्क जाने समस्या भएको हो’, उनले भने, ‘अहिले जाडो समयमा धेरै घाम नलाग्ने भएर ब्याकअपले नधानेर बेलुकै नेटवर्क जाने समस्या आएको हो। बिजुली जडान गर्न चाहिने पोल, तारलगायत सामग्रीहरूको इस्टिमेट मगाएको छु। 


घाम अस्ताएपछि मोबाइल सेवा नचल्ने जगत गाउँ।  तस्बिर : शिव उप्रेती।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.