नेपाली चेस खेलाडी सिंगापुर प्रस्थान
काठमाडौं : मंसिर १४ देखि २२ गतेसम्म हुन लागेको अन्तर्राष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियोगितामा सहभागी हुन नेपालका राजन सुवेदी र सुश्रुत दाहाल सिंगापुर प्रस्थान गरेका छन्।
२४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता सुवेदी र तेस्रो भएका दाहाललाई बुधबार सिंगापुर प्रस्थान गरेका हुन्। सिंगापुर ओपन अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालका दुई खेलाडी सहित आयोजक राष्ट्र सिंगापुर, अमेरिका, भारत, चीन, स्पेन, उज्वेकिस्तान, यूएई, फिलिपिन्स, जर्जियालगायत ६० भन्दा बढी उच्च ग्रान्ड मास्टर्सहरूको सहभागिता रहनेछ।
भिसाका कारण नेपालले ४५औं चेस ओलम्पियाडमा सहभागी हुन नपाएपछि खेलाडीको मनोबल उच्च राख्न नेपाल बुद्धिचाल महासंघले विभिन्न अन्तर्राष्ट्रिय स्पर्धामा खेलाडी पठाएको हो। जस अनुसार राजन सुवेदी, फिडे मास्टर क्षितिज भण्डारी, शुश्रुत दाहाल र रुपेश जैसवाललाई सहभागी गराउने निर्णय गरेको हो।
यसैगरी महिला खेलाडीहरू सिन्दिरा जोशी, कृतिसारा अधिकारी, शान्ति धिमाल, पूजा भण्डारी र रिया श्रेष्ठलाई पनि कुनै न कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पठाइने महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सहभागी हुने शीर्ष खेलाडीलाई आवास, हवाई खर्चलगायत खर्च वल्र्ड चेस फेडेरेसनको सहयोगमा नेपाल बुद्धिचाल महासंघले ब्यहोर्ने महासंघका कार्य सम्पादन सदस्य राजु ताम्राकारले जानकारी दिए।
यसैबीच विश्व बुद्धिचाल महासंघको क्यालेन्डर प्रतियोगिता वल्र्ड च्याम्पियनसिप २५ नोभेम्बरदेखि सिंगापुरमा चलिरहेको छ। विश्व विजेता चीनका २७२८ रेटेट सुपर ग्रान्ड मास्टर डिङ लिरेनलाई भारतका २७८३ रेटेड सुपर ग्रायन्ड मास्टर गुकेश डोमाराजुले च्यालेञ्ज गरिरहेका छन्।
तीन चरणको वल्र्ड च्यालेञ्जमा एक÷एक जित र एक÷एक बराबरी खेल्दै दुवैले १.५ अंक बनाउन सफल भएका छन्। कुल १४ खेलमा प्रतिस्पर्धा गर्दै प्रथम ७.५ अंक जोड्ने खेलाडीले विश्व च्याम्पियन बन्ने सौभाग्य प्राप्त गर्ने छन्।