सुदूरपश्चिमलाई माया मेट्रोको साथ
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता भएको छ।
माया मेट्रो र रोयल्सबीच मेडिकल पार्टनरका लागि सम्झौता भएको हो। सम्झौतापत्रमा रोयल्सका मालिक स्वतन्त्रप्रताप शाह र अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले हस्ताक्षर गरेका थिए।
सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करियर पार्टनरका रुपमा भित्र्याएको छ। एनपीएलको अवधिभर टोलीले म्यारियट होटल काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ।
सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दीपेन्द्रसिंह ऐरी रछन्। मेन्टरमा अस्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा छन्। रोयल्सले आफ्नो कोटाका चार विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ। ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इङ्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड) र रोहन मुस्तफा (यूएई) लाई टिममा समावेश गरेको छ।
यस्तै आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठलाई अक्सनमार्फत टिममा भित्र्याएको छ। ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ।