बाघले आक्रमण गर्दा बर्दियामा २ जना घाइते
गुलरिया : बर्दियामा बाघको आक्रमणबाट २ जना घाइते भएका छन्।
मधुवन नगरपालिका- ८ स्थित कुसुम्बादेवी मन्दिर आसपास शिवदुर्गा सामुदायिक वनमा घाँस काट्नका लागि गएका ममता तिरुवा र मोहम्मद अलीलाई बाघले आक्रमण गरेको हो। उनीहरूको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको छ ।
‘घाँस काट्ने बेलामा एक्कासी बाघले झम्टियो।’ घाइते तिरुवाले भनिन्, ‘कालो सेतो थोप्लो भएको बाघ जस्तो लाग्छ ।’ उनको अवस्था ढाड र हातमा चोट भई सामान्य रहेको र मोहम्मद अली केही बेर बाघसँग लडेकाले टाउको, हात लगायत शरीरमा चोट रहेकाले अवस्था गम्भीर रहेको बुझिएको छ ।
स्थानीयका अनुसार केही दिनदेखि भारतबाट भित्रिएको रेडियो कलरजडित पाटेबाघ बर्दियाका सामुदायिक वनहरुमा यत्रतत्र देखिने गरेको छ । उक्त बाघ हालसम्म पनि नियन्त्रणमा नआएकाले स्थानीयहरू त्रसित छन् ।
बर्दिया अस्पताल गुलरियामा उपचारमा रहेका बाघ आक्रमणका घाईते तस्विर ः यादव आचार्य