नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा उपचारमा छुट
काठमाडौं : नेपालको पहिलो बैंक नेपाल बैंक र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेज बीच सम्झौता भएको छ। २०८१ साल मङ्सिर १० गते नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
सो सम्झौताबमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि २५ प्रतिशतसम्म छुट हुने व्यवस्था रहेको छ।
विभिन्न सेवामा लाग्ने परामर्श शुल्कमा १०० प्रतिशत छुट हुने व्यवस्था समेत गरिएको जनाइएको छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजको तर्फबाट अध्यक्ष रुप नारायण शाहले हस्ताक्षर गरेका छन्।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने इन्डोस्कोपी, कोलोनोस्कोपी, ईसीजी, ईईजी, पल्मोनरी फंक्शन टेस्ट, एफएनएसी/बायोप्सी, एक्स-रे, अल्ट्रासाउन्ड, डप्लर, कलेजोको स्वास्थ्य, मुटुको स्वास्थ्य, मृगौला स्वास्थ्य, मस्तिष्क वा न्यूरो स्वास्थ्य र यूरोलोजी, सामान्य शारीरिक जाँच, इको, न्यूक्लियर कार्डियोलोजी टेस्ट, दन्त चिकित्सा, छालाको हेरचाह, हरि प्रत्यारोपण, माइनर अपरेशन, एभि फिस्टुला जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।