मनमोहनबाट चेक चोरी गर्ने पूर्वविद्यार्थीसहित २ जना पक्राउ

मनमोहनबाट चेक चोरी गर्ने पूर्वविद्यार्थीसहित २ जना पक्राउ
सुन्नुहोस्

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित मनमोहन विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निकबाट चेक चोरी गर्ने पूर्वविद्यार्थीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले सप्तरीको राजविराज नगरपालिका–६ का २३ वर्षीय टंकप्रसाद यादव र १८ वर्षीय सुमितसागर यादवलाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार टंकप्रसाद पूर्वविद्यार्थी हुन्। पक्राउ परेका दुवै जनाविरुद्ध चोरी मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जोशीले बताए। 

शिक्षालयमा पढ्नलाई भर्ना हुँदा राखेको धरौटीबापतको रकम फिर्ता लिनलाई भन्दै गत आइतबार टंकप्रसाद साथीसहित शिक्षालयमा पुगेका थिए। धरौटी रकम फिर्ता लिने क्रममा लेखा शाखामा पुगेर टंकप्रसाद र सुमितसागरले चेक चोरी गरेको शिक्षालयका प्राचार्य सुदीप अधिकारीले बताए। उनका अनुसार प्रचार्य र लेखा शाखा प्रमुखको हस्ताक्षर भएका एवं लेखा शाखा प्रमुखको मात्रै हस्ताक्षर भएकासमेत गरेर १३ वटा चेक चोरी भएको थियो। त्याबाहेक अन्य चेक पनि चोरी गरेर लगेको उनले बताए। 

शिक्षालयबाट एभरेष्ट बैंकको चेक चोरी गरेर उनीहरुले रकमसमेत निकालिसकेको पाइएको जानकारी प्रचार्य अधिकारीले दिए। २ लाख ६६ हजार ६ सय ९२ रुपैयाँ निकालिसकेपछि चेक चोरी गर्नेहरु फेला परेको उनले बताए। ‘चेक चोरी भएपछि खाता बन्द गर्न बैंकलाई खबर गरियो। केही चेकहरु साटेर रकम निकालिसकेका रहेछन्,’ अधिकारीले भने, ‘केही चेक साट्न बाँकी रहेछ। शंकास्पद चेक बोकेर रकम निकाल्न पुगेपछि पछिल्लो समय बैंकले खबर गरेको हो।’ 

प्रहरीका अनुसार चोरी भएका १३ वटामध्ये ६ वटा चेकमा प्रचार्य र लेखा शाखा प्रमुखको हस्ताक्षर भइसकेर शिक्षालयको छाप लगाइएको थियो। हस्ताक्षर र छाप भएका चेक टंकप्रसाद र सुमितसागरले सहजै साट्न सकेको डीएसपी जोशीले बताए। उनका अनुसार ७ वटा चेकमा लेखा शाखा प्रमुखको मात्रै हस्ताक्षर थियो। प्रचार्यको हस्ताक्षर थिएन। 

प्राचार्यको हस्ताक्षर नभएका चेकमा अघिल्लो चेकबाट हस्ताक्षर चोरी गरेर बैंकमा साट्न गएको पाइएको जोशीले बताए। शिक्षालयको नक्कली छाप बनाएर चेकमा प्रयोग गरेको पाइएको उनको भनाइ छ। ‘७ वटामध्ये प्रचार्यको हस्ताक्षर किर्ते गरेर ५ वटा साटिसकेका रहेछन्। २ वटा साट्न जाने क्रममा प्रचार्यको हस्ताक्षर नमिलेपछि बैंकले शंका लागेर शिक्षालयलाई खबर गरेको रहेछ,’ डीएसपी जोशी भन्छन्। 

उनका अनुसार एभरेष्ट बैंकका विभिन्न शाखाबाट सोमबार र मंगलबार रकम निकालेको पाइएको छ। विराटनगरको भाटभटेनीनजिकको शाखा र कञ्चानबारी शाखाबाट चेक साटेर पैसा निकालेको पाइएको प्रहरीले जनाएको छ। बाँकी रहेका २ वटा चेक साट्न उनीहरु बुधबार दिउँसो सुनसरीको दुहबी शाखामा पुगेका थिए। 

त्यस क्रममा बैंकको समन्वयमा इलाका प्रहरी कार्यालय नेमुवाका सइ भुवन श्रेष्ठ नेतृत्वको टोलीले दुवै जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको हो। शिक्षालयका प्रचार्य अधिकारीका अनुसार चेक चोरीमा संलग्न पक्राउ परेसँगै त्यसअघि उनीहरुले निकालेको रकम ‘रिकभर’ भइसकेको छ। शिक्षकहरुलाई भुक्तानी दिन ठिक्क पारिएको चेक चोरी भएको उनले बताए। 

चेक चोरी हुँदा शिक्षालयको सीसी क्यामेरा फुटेज नै नभएको पाइएको छ। ‘घटना सीसी क्यामेरामा ‘क्याप्चर’ भएको पाइएन,’ प्रहरी स्रोतले भन्यो, ‘चोरीमा शिक्षालयमै कार्यरत कसैको संलग्नता र सहयोग थियो कि ? भन्ने आशंका पनि छ।’ विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेकाले अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने डीएसपी जोशीले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.