नक्कली यौनजन्य औषधि उत्पादन तथा बिक्री वितरण गर्ने तीनजना पक्राउ
काठमाडौं : नक्कली यौनजन्य औषधि उत्पादन तथा बिक्री वितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रामेछापको दोरम्बा गाउँपालिका-२ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-२६ बस्ने ३४ वर्षीय सुजन गौतम, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने २७ वर्षीय सुजन खड्का र ओखलढुंगाको सिद्धिचरण नगरपालिका-४ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने ४२ वर्षीय डिल्ली प्रसाद घिमिरे रहेका छन्।
यार्सागुम्बाको नाममा सताबरी, अश्वगन्धा, सिलाजित जस्ता विभिन्न जडिबुटीहरूको मिश्रणबाट तयार पारिएको यौन क्षमता बढाउने, शक्ति बढाउने हिमाली जडिबुटी भनेर विभिन्न नामका बट्टाहरू र क्याप्सुलहरू देखाई फेसबुक, टिकटक जस्ता सामाजिक संजालको माध्यमबाट आकर्षक र अश्लील विज्ञापन गरी कुनै साईड ईफेक्ट नभएको, डाक्टरको सिफारिस नचाहिने भनी उल्लेख गरी सर्व-साधारणमा भ्रम सिर्जना गरी बिक्री वितरण गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले भक्तपुर गट्ठाघरस्थित स्टोर सञ्चालन गरिरहेको ठाउँबाट सुजन गौतम र सुजन खड्का तथा ललितपुर लुभुस्थित वायो फुड्स नेपाल प्रालि नामक फुड्स सप्लीमेन्ट फ्याक्ट्रीका सञ्चालक डिल्ली प्रसादलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ।