दुई दलीय संयन्त्रले कोशीमा पहिचान पक्षधरसँग वार्ता गर्ने
काठमाडौं : कोशी प्रदेशको एमाले-कांग्रेस दुई दलीय संयन्त्रले पहिचान पक्षधरसँग समिति बनाएर वार्ता गर्ने निर्णय गरेको छ।
शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको संयन्त्रको बैठकले पहिचान पक्षधरसँग तत्काल संबाद गर्ने र यसका लागि प्रदेश सरकारले समिति बनाएर वार्ता सुरु गर्ने निर्णय गरेको हो।
बैठकले ताप्लेजुङको पाथिभरा मन्दिरमा बनाउन लागिएको केबलकार निर्माणको विवाद समाधानका लागि वार्ता टोली बनाउन प्रदेश सरकारलाई आग्रह गरेको दुई दलीय संयन्त्रका संयोजक शेरधन राईले बताए। कोशी प्रदेश सरकारलाई बजेटको स्थिति, खर्चको विवरण र योजनाहरूको कार्यान्वयनको अवस्थालाई हेरेर बजेट संसोधन गर्न निर्देशन दिएअनुसार कोशी प्रदेशको बजेट पुनरावलोकन गरी संसोधन गर्ने निर्णय पनि संयन्त्रले गरेको उनले बताए।
बैठकपछि कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटअनुसार सञ्चालनमा नरहेका कार्यक्रमहरूबारे पुनःविचार गरेर बजेट संसोधन गरिने बताए। एमाले र कांग्रेसका प्रतिनिधिहरूबाहेक प्रदेश सरकारका मन्त्रीहरू र सम्बन्धित सरोकारवालाहरू सहभागी भएका थिए। बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले कोशी प्रदेशको बजेटको अवस्था, आय व्ययको विवरण, योजना कार्यान्वयनको स्थितिबारे जानकारी गराएका थिए।