कालीमाटीमा मृत भेटिएकी जानुकाको हत्या कसले गर्‍यो?

कालीमाटीमा मृत भेटिएकी जानुकाको हत्या कसले गर्‍यो?
सुन्नुहोस्

काठमाडौं : गत मंसिर ७ गते कालीमाटी संगीतमार्गस्थित सडक छेउमा एक महिला मृत भेटिइन्। दोलखा घर भई कुलेश्वरमा बस्दै आएकी ४५ वर्षीया जानुका सुर्खेतीको शव सडकमा फालिएको अवस्थामा भेटिएको थियो।

एका बिहानै सडकमा महिलाको शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी बृत्त कालीमाटी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गर्‍यो। अनुसन्धानको क्रममा उक्त क्षेत्रको सीसीटीभी फुटेज हेर्ने क्रममा सोही रात ३:१७ बजे एक युवकले उनै महिलाको शव बोकिरहेको भेटिएको थियो।
 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार सीसीटीभी फुटेजमा ती युवकले कालीमाटीको डिभाइन कम्प्लेक्सको सडक छेउबाट उक्त महिलाको शव बोकेर सडक छेउसम्म पुर्‍याएर फालेका थिए। प्रहरीले हुलियाको आधारमा ती युवकलाई पक्राउ गर्‍यो। पक्राउ पर्नेमा बित्थडचिर गाउँपालिका-९ बझाङ घर भएका २२ वर्षीय कविन्द्र मल्ल रहेका छन्। उनलाई काठमाडौं-१४ कुलेश्वरबाट पक्राउ गरिएको थियो। उनीविरुद्ध ज्यानसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आर्चायका अनुसार उक्त घटनामा मृत्यु भएकी महिलाको पोष्टमार्टम रिर्पोट आएको छ। त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सकले गरेको शव परीक्षण रिपोर्टअनुसार लिभरको समस्याका कारण उनको मृत्यु भएको देखिएको छ। पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारणबारे लेखिएको छ, ‘डिजिज अफ द लिभर।’

हत्या गरेको पुष्टि भएन 
पोस्टमार्टम रिपोर्टलाई आधार मान्ने हो भने कविन्द्रले ती महिलाको हत्या गरेको देखिँदैन। उनको स्वभाविक मृत्यु भएको देखिन्छ। तर, अनुसन्धानका लागl युवक प्रहरी हिरासतमै छन्। मध्यरातमा शव बोक्ने युवकको चप्पलका आधारमा पहिचान गरिएको थियो।
 
प्रहरी बृत्त कालीमाटीका डीएसपी रुपक खड्काका अनुसार सीसीटीभी फुटेजमा ती युवकले महिलालाई कुनै कुटपिट गरेको देखिँदैन। महिलाको शरीरमा चोटपटक पनि छैन। ती युवकले बोक्नुअघि ती महिला त्यहीँको सडकमा बसिरहेको अवस्थामा सीसीटीभी फुटेजमा देखिन्छ। उनको मृत्यु कहाँ कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए।

खड्का भन्छन्, 'प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका युवकले आफू लागुऔषध अम्मली भएको बताएका छन्। युवकले आफू होसमा नरहेको र किन कसको शव बोकेको भन्ने केही थाहा नभएको बयान दिएका छन्। ती युवकले शव बोक्ने व्यक्ति आफू नै स्वीकारे पनि हत्या नगरेको दाबी गर्दै आएका छन्। 

कविन्द्र मल्ल पहिलो पटक पक्राउ परेका भने हैनन्। उनको पृष्ठभूमि आपराधिक प्रवृत्तिको छ। उनी यसअघि १० पटक विभिन्न कसूरमा हिरासत बसिसकेका छन्। उपत्यका अपराध अनुसनधान कार्यालयका प्रवक्ता काजीकुमार आर्चायका अनुसार मल्ल महिलाको हत्या आरोपमा संलग्न मल्ल १० पटक पक्राउ परिसकेका छन्। २०७७ चैतमा प्रहरी वृत्त जनसेवाले उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाएको थियो। २०७८ वैशाख र भदौमा प्रहरी वृत्त कालीमाटीमा, २०७९ वैशाखमा बझाङमा, २०७९ असारमा कालीमाटीमा र २०८० जेठमा उनी सिंहदरबार बृत्तमा थुनामा परेका थिए। 

२०८१ कात्तिकमा उनलाई चोरी तथा डाँका मुद्दामा प्रहरी बृत्त कालीमाटीले नै पक्राउ गरेर अनुसन्धान गरेको थियो।  २०८१ वैशाख र भदौमा उनी अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेका थिए। 

अब कसरी बढ्छ अनुसन्धान? 
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता आर्चायले घटनाको अनुसन्धान पूरा नभएकाले यही नै निर्णय हुन्छ भनेर कन्फर्म गर्न नसकिने बतए। उनी भन्छन्, 'हत्या आरोपमा पक्राउ परेका उनीविरुद्ध अन्य कसूर पनि आकर्षित हुन सक्छ। पोष्टमार्टम रिर्पोट र आरोप नमिलेको अवस्थामा उनीविरुद्ध मृतक महिलाको शव गलत नियतले ओसारपसार गरेको कसूरमा पनि अनुसन्धान हुनसक्छ। पोष्टमार्टम रिर्पोट नमिल्नासाथ उनी छुटिहाल्ने भन्ने हुँदैन। प्रहरी प्रतिवेदनमा आरोपितले हत्या गरेको भन्ने प्रमाण पुष्टि भएन भनेर पनि लेख्न सकिन्छ। अनुसन्धान सकाएर मिसिल अदालतमा दर्ता गरिन्छ। अदालतको आदेशअनुसार नै ऊ निर्दोष सावित हुने वा थुनामै रहने निर्क्यौल हुन्छ।'
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.