‘स्थितिगत्यात्मक प्रगतिवाद’ हाम्रो मातृभूमिमा यहींका धर्तीपुत्रद्वारा अभिनिर्मित एक मौलिक सिद्धान्त हो।
स्थितिगत्यात्मक प्रगतिवाद’ हाम्रो मातृभूमिमा यहींका धर्तीपुत्रद्वारा अभिनिर्मित एक मौलिक सिद्धान्त हो। काठमाडौं विश्वविद्यालय भाषा आमसञ्चार विभागप्रमुख डा. निर्मलमणि अधिकारीले हाम्रो सनातन वैदिक दर्शनमा आधारित रही सामाजिक–सांस्कृतिक एवं अर्थराजनीतिक दृष्टिकोणबाट समाज विकासको रूपरेखाका रूपमा यो अवधारणा प्रस्तुत गरेका थिए।
पश्चिमी भूमिमा जन्मिएका, त्यहींको भूराजनीतिक–सांस्कृतिक परिवेशमा अध्ययन गरिएका हुन् या गम्भीर अध्ययनबिनाका कोरा विचारमात्र नै भए पनि, विभिन्न वाद, सिद्धान्त र परिभाषालाई आँखा चिम्लिएर स्वीकार्न हिच्किचाउँदैनौं हामी। ती सबैलाई खुल्ला हृदयले स्वागत गर्ने बानी छ हाम्रो।
नितान्त पराई परिवेशमा जन्मिएका दृष्टिकोणहरू, आफ्नो समाज–परम्परा अनुकूल रहे–नरहेको परीक्षण त परैको कुरा, तिनलाई आफ्नो निहित स्वार्थ साँध्ने निश्चित उद्देश्य लिएर होस्, या तिनका बारेमा यथेष्ट केही नबुझिकनै पनि, जबरजस्ती थोपर्ने चलन पनि स्थापित भइसकेको छ यहाँ। दुःखको कुरा, आफ्नो सनातन परम्परा, संस्कृति, समाज अनुकूलका मूल्यमान्यताहरूलाई भने सरासर पुराना, अवैज्ञानिक, रुढिवादी आदि जस्ता पगरी बाँधिदिएर निषेध अनि अस्वीकार गर्ने गर्दछौं हामी।
हाम्रो आर्थिक–सामाजिक, राजनैतिक एवं ऐतिहासिक आदि विविध कारक तŒवले गर्दा शिक्षादीक्षा, विकासजस्ता मामिलामा हामी पछाडि परेको–रहेको यथार्थ नै हो। अतः ज्ञानसीप, दक्षता, विकास, अर्थतन्त्र आदि मामिलामा अगाडि रहेका देशहरूको अनुसरण गर्न, सहयोग लिन पनि आवश्यक नै छ। तर आफ्नो मौलिक शिक्षा, विज्ञता, पुर्खाहरूले देखाएका मार्ग आदि सबैलाई तिलाञ्जली नै दिएर अबुझ, अज्ञानी, असभ्य, अविकसितको दर्जामा नै सधैं रहिरहन भने पर्दैन हामीले। बरु हाम्रा सनातन संस्कृति–सभ्यता, परम्परागत ज्ञान कत्ति वैज्ञानिक, हाम्रा लागि कत्ति उपयोगी–यथार्थपरक अनि सान्दर्भिक छन् भन्ने अध्ययन गर्न भने अब ढिलै भइसकेको छ।
यस अर्थमा निर्मलमणि अधिकारीको ‘स्थितिगत्यात्मक प्रगतिवाद’ सिद्धान्त सान्दर्भिकमात्र नभई अवलम्बन गर्न सकेको खण्डमा आर्थिक–राजनीतिक र सामाजिक विकासका ढोकाहरू खुल्ने देखिन्छ। ‘स्थितिगत्यात्मकता’ ः स्थिति र गति दुई शब्दको संयोजनबाट बनेको छ। स्थिति अर्थात् स्थिर रहने काम वा अवस्थितिले जुनसुकै वस्तु, पदार्थ या अवयवभित्र रहेको ‘सम्भावित ऊर्जा’लाई जनाउँछ। गतिले भने ती वस्तुहरूको गमन, चाल, या परिवर्तनमा आधारित रहने ‘गतिशील ऊर्जा’लाई चिनाउँछ। त्यसैले स्थिति अनि गति अन्योन्याश्रित तवरमा गाँसिएका विषय हुन्, तिनलाई भिन्न तवरमा बुझ्न सकिँदैन। चाहिएको बखतमा गतिशील बन्न सक्ने स्थिति या आवश्यकतानुसार स्थितिमा अडिन सक्ने गतिले नै संसार चल्छ, यही नै स्थितिगत्यात्मकता हो।
प्राकृतिक क्रियाकलापहरू हुन् या भौतिक विकासका चरणहरू, स्थितिगत्यात्मकताका उदाहरण प्रशस्तै देखिन्छन्। प्रकृतिमा एउटा बीजबाट उत्पन्न हुने फर्सी, काँक्रोजस्ता जुनसुकै तरिकालाई हेरौं। बीजभित्र स्थितिमा रहेको शक्ति गतिमान भएर लहरा अनि अन्ततः असंख्य फलहरू लिएर आएको देखिन्छ। अनि, अण्ड या बीजमा अवस्थित भएर रहेको सम्भावित ऊर्जा गतिशीलतामा परिवर्तन भएर नै हामी सबैको उत्पत्ति हुन पुगेको हो। त्यस्तै, खोलानालाजस्ता जलस्रोतमा रहेको स्थिर शक्तिलाई गतिशील बनाएरै जलविद्युत् आएको हो।
वायुको स्थिर शक्ति गतिशील भएरै वाष्प इन्जिन चल्ने हो। भौतिक विकासका लागि स्थितिगत्यात्मकताको निययममा आधारित अझै अनेकौं दृष्टान्त छन्। यही स्थितिगत्यात्मकताको सिद्धान्त नै हाम्रो सनातन संस्कृतिका मन्त्रहरूमा मुखरित भएका छन्, जस्तै : ‘चरैवेति चरैवेति’, अर्थात्, अघि बढ्दै जाऊ, अघि बढ्दै जाऊ। अब श्रीमद्भगवद् गीताको आलोकमा स्थितिगत्यात्मकतालाई हेरौं।
हाम्रो मनोचिकित्साको भाषामा एङ्जाइटी—डिप्रेसनका लक्षणहरू देखिए उनमा। ‘मलाई बन्धुहत्याको पापको भागीदार हुनु छैन’ भन्ने पश्चातापका भावहरू अभिव्यक्त गर्दै, ‘म अब युद्ध गर्दिनँ’ भन्दै, आफ्ना गाण्डिव भुइँमा नै छोडेर, रथको पछाडि बस्न पुगे अर्जुन। श्रीमद्भगवद् गीताको पहिलो अध्यायमा कोरिएका अर्जुन—मनोविज्ञानका यी दृश्यहरूलाई महाभारत कथाकार व्यासले अर्जुन विषादयोगका रूपमा अथ्र्याएका छन् भने थुप्रै मनोविज्ञानका अन्वेषक अनि मजस्ता मनोचिकित्साकर्मीहरू भने यसलाई अर्जुन रोगको स्थिति मान्छौं।
अब यो स्थितिबाट अर्जुनलाई गतिमान गराई उनलाई आफ्नो क्षत्रीय धर्ममा प्रवृत्त गराउन अनि उनीभित्रको योद्धा व्यक्तित्व उजागर गर्नका लागि श्रीकृष्णले मनोचिकित्साका विभिन्न अवयवको प्रयोग गरेका छन्। यसैलाई हामी श्रीकृष्णोपचार विधि मान्छौं, जुन गीताको अठार अध्याय सात सय श्लोकहरूमा विस्तृत रूपमा वर्णित छन्। अर्जुन रोगको स्थितिबाट उनलाई स्वधर्मको गतिमा ल्याइपु¥याउन श्रीमद्भगवद् गीतामा स्थितिगत्यात्मकता सिद्धान्तका अनेकौं दृष्टिकोण यत्रतत्र सर्वत्र पोखिएका छन्। हाम्रो सनातन संस्कृतिभित्रको गुरु—शिष्य परम्परा स्थितिगत्यात्मकताको अर्को उदाहरण हो। गुरु—शिष्यबीचको संवादमा कुनै रोकतोक हुँदैन, आफ्ना जिज्ञासाहरूको समाधानका लागि शिष्यहरू हरेक प्रश्न सोध्न स्वतन्त्र छन्।
गुरुहरू पनि अनेक उद्धरण उदाहरणहरूद्वारा आफ्ना शिष्यहरूलाई जिज्ञासु स्थितिबाट ज्ञानको गतिमा ल्याउन हरसम्भव प्रयास गर्छन्। भनिएको नै छ ः वादे वादे जायते तŒवबोधः। गीताको पहिलो अध्यायभर अर्जुन बोलिरहन्छन्, आफ्ना पीडा शंका अभिव्यक्त गरिरहन्छन्, तर श्रीकृष्ण भने चुप नै रहन्छन्। दोस्रो अध्यायको सातौं श्लोकमा बल्ल अर्जुन आफूलाई शिष्य बनाई आफ्ना जिज्ञासाहरूको समाधान गरिदिई मार्गनिर्देशन गर्न श्रीकृष्णलाई आह्वान गर्छन्। श्रीकृष्णलाई गुरुका रूपमा मानेर अर्जुन शरणमा आएपछि मात्र सुरु हुन्छ कृष्ण–अर्जुन संवाद अनि ढोका खुल्छ गीता उपदेशको, अर्जुनरोग निवारण गर्ने श्रीकृष्णोपचारको।
दोस्रो अध्यायभर विभिन्न उदाहरणद्वारा अर्जुनको जिज्ञासा–शंका निवारण गर्ने प्रयास गर्ने क्रममा श्रीकृष्णले मनोचिकित्साका विविध चरण पूरा गरेको देख्न सक्दछौं। तर पनि अर्जुनभित्रको विषादग्रस्त मनस्थितिलाई शान्ति मिलेन, उनी झनै शंका गर्न थाले। तेस्रो अध्यायको प्रारम्भमा नै श्रीकृष्णलाई ‘कहिले ज्ञान अनि कहिले कर्म भन्दै आफूलाई नअल्मल्याउन, बरु आफ्ना लागि श्रेयष्कर मार्ग बताइदिन’ आक्रोशपूर्ण अनुरोध नै गर्छन् अर्जुन। यसको जवाफमा श्रीकृष्ण भन्छन् कि सृष्टिको आदिकालदेखि नै संसारमा प्रगतिका लागि दुई मार्ग रहेको तथ्य बताइएको थियो। क्रियाशील व्यक्तिहरूका लागि कर्मयोग अनि मननशीलका लागि ज्ञानमार्ग। ज्ञानयोगले स्थिति जनाउँछ भने कर्मयोगले गति।
श्रीकृष्ण अगाडि भन्छन् कि कर्मबिना जीवन निर्वाह नै हुन सक्दैन। विषादद्वारा दिग्भ्रमित भई अर्जुन रोगको ‘स्थिति’मा रहेका एक योद्धालाई स्वधर्म परिपालनको ‘गति’मा उद्यत् गराउने श्रीकृष्णोपचार विधि हो, श्रीमद्भगवद् गीता। ‘यज्ञमय कर्मयोगको गतिद्वारा अव्यक्त अवस्थामा स्थित रहेकोे उत्पादक क्षमतालाई हासिल गरी परस्पर उन्नति गर्ने’ सृष्टिकर्ताले परापूर्वकालमा नै दिएका ज्ञानको पुनर्ताजगी भएको छ, श्रीमद्भगवद् गीतामा। अतः गतिबाट स्थिति, अनि स्थितिद्वारा गति, दुवैको सामञ्जस्यता आवश्यक छ जीवनमा। ‘क्रमिक रूपमा कर्मयोगको साधना गदैं ज्ञान प्राप्तिको सामथ्र्य हासिल गर्ने, अनि ज्ञानयोगद्वारा मोक्षमार्गको दिशा समाती मोक्षको लक्ष्य प्राप्ति गर्ने’ श्रीमद्भगवद् गीतामा रहेको स्थितिगत्यात्मकताको यो सिद्धान्तले साँचो ‘जीवन जिउने कला’ सिकाएको छ।