रायमाझीलाई ‘लिभिङ फर अदर’ अवार्ड
सिड्नी : युनिभर्सल पिस फेडेरेसन (युपीएफ)ले प्रदान गर्ने लिभिङ फर अदर अवार्ड समाजसेवी तथा ग्लोबल गस्पेल मिनिस्ट्रीका संस्थापक अध्यक्ष केदार रायमाझी ‘जीवन’लाई प्रदान गरिएको छ। शनिबार साँझ रायमाझीलाई अवार्ड प्रदान गरिएको हो।
अष्ट्रेलियाको जर्ज स्ट्रिट चिपेनडलमा आयोजित विशेष समारोहका बीच समाजसेवी रायमाझीसहितलाई सम्मान गरिएको हो। कार्यक्रममा युनिभर्सल पिस फेडेरेसनका अध्यक्ष जोन एडमेडेसले नेपालीहरूमा रहेको सेवाभावको खुलेर प्रशंसा गरे। कार्यक्रममा न्यू साउथ वेल्सस्थित नेपालका अवैतनिक महावाणिज्य दूत सञ्जीव कुमार शर्माले सम्मान प्रदान गरेका थिए।
कार्यक्रम संयोजक रहेका सन्तोष न्यौपानेले यस प्रकारको कार्यक्रमले समाजमा भाइचारा र सहयोग आदानप्रदानको वातावरण अझ बलियो हुने बताए। रायमाझीलाई प्रदान गरिएको यस सम्मानले नेपाली समुदायभित्र समाजसेवाको महत्त्व र त्यसप्रतिको प्रतिबद्धतालाई थप उर्जा दिने विश्वास गरिएको छ।
अरूका लागि बाँच्ने विचारधाराले समाजलाई नैतिक उत्तरदायित्वप्रति सचेत बनाउँदै सेवा भावलाई प्रोत्साहन गर्ने अपेक्षा आफूले राखेको रायमाझीले बताए।