मेरै अग्रसरतामा भुटानी शरणार्थी तेस्रो मुलुकमा पुनःस्थापित भएका हुन् : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थीलाई तेस्रो मुलुक हस्तान्तरण गर्न आफूले भरपुर पहल गरेको बताएका छन्। प्रधानमन्त्री ओलीले मानवीय हिसाबले कष्टकर जीवनयापन गर्दै आएका भुटानी शरणार्थीलाई आफ्नोसमेत पहलमा तेस्रो मुलुक हस्तान्तरण गरेको बताए।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा इन्ट्रा फाउण्डेशनका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले भुटानी शरणार्थी तेस्रो मुलुक हस्तान्तरणमा पहल गर्दा आफूमाथि छुद्र टिप्पणी भएको भन्दै दुःख व्यक्त गरे। ‘मावनीय दृष्टिले मैले शरणार्थी शिविरमा कष्टकर जीवनयापन गर्दै आएका एक लाख बढी भुटानी शरणार्थीलाई तेस्रो मुलुक हस्तान्तरण गर्न पहल गर्दा ममाथि अकेन प्रकारका छुद्र टिप्पणी भए,’ प्रधानमन्त्री ओलीले भने।
उनले भुटानले नेपाली भएकै कारण नेपालीभाषीलाई देश निकाला गरेको उल्लेख गर्दै अब तेस्रो देशमा पुनःस्थापना भएका नेपालीभाषाी भुटानीलाई भुटानले शरणार्थीसमेत भन्न छाडेको बताए। तर, तेस्रो मुलुक पुनःस्थापना भएका भुटानी योग्य र सक्षम भएको उल्लेख गर्दै आगामी दिनमा भुटानले दक्ष जनशक्तिको रूपमा पहिला लखेटेका नागरिकलाई फिर्ता बोलाउने दाबी ओलीको छ।
उनले अहिले पनि शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताए। नेपाली मूलका भुटानी-अमेरिकी संस्था इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले शिविरमा बाँकी रहेका भुटानी शरणार्थीको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह गरे। शरणार्थी शिविरमा बाँकी रहेका शरणार्थीलाई फाउण्डेशनले शिक्षा तथा खाद्यान्नलगायतमा सहयोग गरिरहेको उल्लेख गरे। शिविरमा रहेका बालबालिकालाई शिक्षा तथा वृद्धृद्धालाई पोषणयुक्त खाद्यान्नमा फाउण्डेशनले सहगोय गरिरहेको उनको भनाइ थियो।
सो अवसरमा इन्ट्रा फाउण्डेशनले विश्वभरका नेपालीहरूबीचको पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’का विषयमा जानकारी गराएको थियो। फाउण्डेशनका अध्यक्ष अधिकारीसँगै नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान वल, फाउण्डेशनका कार्यकारी निर्देशक चूँडामणि भट्टराई, सचिव गोपाल धिताल, बोर्ड सदस्य ओम गुरुङलगायत सहभागी थिए।