पहिलो जितले बढाएको जनकपुरको आत्मविश्वास
काठमाडौं : नेपाली क्रिकेटमा केही फरक स्वाद ल्याउने काम हालः नेपाल प्रिमियर लिग (एनपीएल)ले गरेको छ। शनिबार टियु क्रिकेट मैदानमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीचको खेलले तताएको माहोल निकै आकर्षक थियो।
जनकपुर बोल्ट्सले पहिलो खेलमा विराटनगरलाई ८ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। अनिल कुमार शाहको नेतृत्वमा रहेको जनकपुरलाई आजको जितले थप हौसला बढाएको छ। ‘सबै टिमले पहिलो जितको आश गर्छ। पहिलो खेलबाट नै अंक जोड्न पाउँदा राम्रो लागिरहेको छ। सबै टिमहरू उत्तिकै टफ (बलियो) छ। त्यसैले हामीलाई यो जितले निकै मद्धत गर्नेछ,' खेलपछिको पत्रकार सम्मेलनमा उनले भने।
पहिलो इनिङ्समा विराटनगरलाई १२७ मा प्याक गर्न जनकपुरका बलरले राम्रो प्रदर्शन गरे। विशेषतः ललित राजवंशी र किशोर महतोको प्रदर्शनमा हर्ष थाकरको पनि महत्त्वपूर्ण स्पेल रह्यो। जसका बारेमा अनिल भन्छन्, ‘हामीले योजना बनाएका थियौं। बलरहरूले राम्रो गर्यो। बलरहरूलाई स्वतन्त्र भएर खेल्ने छुट थियो। योजना हामी सरल राखेका थियौं। योजना सफल भयो।’
आजको खेल समग्रमा भन्नुपर्दा नेपाली खेलाडीलाई भने क्रिजमा टिक्न मुस्किल नै भयो। विराटनगरबाट खेलिरहेका घरेलु क्रिकेटका आक्रमक ब्याटर लोकेश बम पनि निकै सकस गरे। उनी पनि क्रिजमा टिक्न सकेनन्। ५ बलमा १ चौका प्रहार गर्दै आउट भए। मार्टिन र अकिब इलियासले भन्दा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
यो कहानी जनकपुरमा पनि दोहोरियो। आसिफ शेख डक आउट हुँदा कप्तान अनिल शाह ५ रनमै समेटिए। दुवै नेपाली ओपनर आज चलेनन्। ‘क्रिजमा स्टे गर्नुपर्ने थियो। विदेशीलाई पनि रन बनाउन सहज थिएन। उनीहरू पनि क्रिजमा टिकेर खेल्दा रन बनेको हो। हामीले पनि यो सिक्न जरुरी छ कि क्रिजमा टिकेर खेल्नुपर्छ,' अनिलले भने।
आजको खेलमा बलरहरूले जनकपुरलाई राहत भने दिलाएकै हुन्। नेपाली बलर चल्दा त्यसमा विदेशी बलरको अनुभव पनि मिसियो। ‘ललित र किशोरले राम्रो गरे। हामीलाई विदेशी खेलाडीले कस्तो खेल्ला भन्ने चिन्ता थिएन। तुल बहादुरले पनि राम्रो बलिङ गर्यो,' उनले थपे।
यु-१९ खेल्न गएका हेमन्त धामी र आकाश त्रिपाठीले टिममा आगमन गर्न बाँकी नै छ। यसले गर्दा टिमको बलिङ लाइनअप अझ सुदृढ हुनेछ। यसमा अनिल भने सहमत छैनन्। आफ्नो टिम राम्रो भएको र आजको जितले त्यसलाई प्रमाणित गरेको उनको दाबी छ। ‘आजको जितले हामी कमजोर टिम जस्तो लाग्यो र?,' उनले प्रतिप्रश्न गरे। 'कमजोर टिम कुनै पनि छैन। १५/१६ जनाको टिममा ११ जनाले खेल्ने हो। जसले राम्रो खेल्छ, उसले जित्ने हो,’ उनको उत्तर निकै सटिक थियो।
आजको खेलमा जनकपुरले राष्ट्रिय टिमका किपिङ गरिरहेका पहिलो रोजाइका विकेटकिपर आसिफलाई त्यो जिम्मेवारी दिएन। उनी आज बलर व्यवस्थापकको भूमिकामा अनिलको साथ निभाइरहेका थिए। ‘हामीले अहिले राष्ट्रिय टिमको बारेमा सोचिरहेको छैनौं। अहिले हामी जनकपुर बोल्ट्सको बारेमा सोचिरहेका छौं। आसिफलाई किपिङ नगराउने मेरो निर्णय हो। यो कहीँ पनि गलत भएको जस्ते मलाइ लाग्दैन,' उनले भने।
नेपाली तथा विदेशी बलरलाई निर्देशन तथा व्यवस्थापनमा अनिल र आसिफले काम गर्नुपर्ने भएकाले आसिफले आज किपिङ नगरेको उनको भनाइ छ। ‘नेपाली बलरहरू तथा विदेशीलाई पनि निर्देशन तथा व्यवस्थापन गर्नुपर्ने भएकाले मैले आसिफलाई त्यही रोल दिएको थिएँ। आसिफले र मैले त्यही गर्नुपर्ने थियो,' उनले भने।
आजको खेलमा टप अर्डरमा दुवै नेपाली खेलाडी चुके पनि आफूहरू विदेशी खेलाडीमा भने निर्भर नरहेको अनिलले बताए। ‘टप अर्डरमा हामी दुवै जना चुक्यौं। लाहिरु र हर्षले राम्रो खेल्यो र जित्यौं। तर, हामी विदेशी खेलाडीमाथि निर्भर छैनौं। घरेलु खेलाडीले पनि अब आउने खेलमा राम्रो गर्नेछन्,’ उनले भने।
समर्थकको चाप
आजको खेलको सबैभन्दा विशेष पक्ष थियो, समर्थकको चाप। आज नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेलेको जस्तो भिड टियु मैदानमा थियो। गेट तोडेर समर्थक भित्र छिर्न खोजे। हुन त यसपटक नेपाल क्रिकेट संघ क्यानले फ्यान जोन छुट्याएको थियो। तर, आज पनि दर्शकको चाप भने व्यवस्थापन भएको थिए।
खेलाडी भने आजको खेलमा यति दर्शकको चाप हुनेमा ढुक्क थिए। ‘पहिलो दिनमा नै टिकट सोल्ड आउट भएको थियो।हामीलाई थाहा थियो, समर्थकको चाप ठूलो हुन्छ भनेर,’ अनिलले भने।