‘विदेशी खेलाडीको खेल्ने शैली हामीले सिक्नुपर्छ’
काठमाडौं : एनपीएल फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साहले नेपाली खेलाडीले विदेशी खेलाडीको खेल्ने शैली सिक्नुपर्ने बताएका छन्। शनिबार भएको उद्घाटन खेलमा विराटनगर किङ्सलाई पराजित गरेपछि कप्तान साहले सो कुरा बताएका हुन्।
‘पिच बलरलाई सहयोग गर्ने खालको थियो। कसैले पनि राम्रोसँग ब्याटिङ गर्न सकेका थिएनन्। तर, दुवै टोलीका नेपालीभन्दा विदेशी खेलाडीले उत्कृष्ट खेल खेले। क्रिजमा जति टिक्न सक्यो त्यति नै रन बन्छ भन्ने कुरा उनीहरूले प्रमाणित गरिदिए’, उनले भने, ‘हाम्रा खेलाडी पनि अनुभवी छन्। तर, दबाबमा पनि कसरी खेल्ने भनेर हामीले विदेशी खेलाडीबाट सिक्नु पर्छ।’
उनले विराटनगर किङ्सका अनुभवी खेलाडी मार्टिन गप्टिललाई पनि सुरुमा ब्याटिङ गर्न गाह्रो भएको बताउँदै उनले पिचको अवस्था बुझेर खेलेकै कारण लामो समय क्रिजमा टिकेको बताए।
‘मार्टिन गप्टिललाई पनि सुरुमा ब्याटिङ गर्न अप्ठयारो भइरहेको थियो। उनले संयमित भएर खेले। पिचको अवस्था बारे थाहा पाए र त्यसपछि मात्रै रन बनाउन थाले’, साहले भने, ‘हाम्रा खेलाडीले यो कुरालाई ध्यान दिनैै सकेनन्।’ कप्तान साहले विराटनगरबाट खोसेको दुई अंक टोलीका लागि महत्वपूर्ण भएको बताए। ‘हामीले योजना अनुसार नै खेल्यौं। हाम्रो योजना नै दुई अंक जोड्ने थियो। त्यसमा सफल भयौं’, उनले भने ।