नक्कलको चेपुवामा कोहिनूर संस्कृति
भनिन्छ, ‘कुनै देशलाई खत्तम गर्नु छ भने सबैभन्दा पहिले त्यस देशको संस्कृति निमिट्यान्न पार।’ आज पश्चिमा तथा शत्तिाmसम्पन्न राष्ट्रहरू त्यही बहानामा साना तथा कमजोर मुलुकहरूको धर्म–संस्कृतिमाथि धावा बोल्न कम्मर कसेर लागेका देखिन्छन्। तिनीहरू सियो बनेर पस्छन्। फाली बनेर निस्कन्छन्।
‘शून्यको मूल्य’मा डा. नवराज केसी लेख्छन्– ‘मानिस नक्कले प्राणी हो । मानिसले सबैभन्दा धेरै नक्कल गरेर सिक्छ । एकपटक एउटा वैज्ञानिक जोडीले यसै विषयमा मानिसको बच्चा र चिम्पान्जीको बच्चाबीच अनुसन्धान गरे । अनुसन्धानमा यो देखियो कि मानव आमासँग हुर्किएको चिम्पान्जी बच्चाले १० प्रतिशत मात्र मानवीय गुण सिक्न सक्यो । अर्थात् उसको स्वभाव १० प्रतिशत मानिसको जस्तो र ९० प्रतिशत चाहिँ चिम्पान्जीकै जस्तो रह्यो । उता चिम्पान्जीको संगतमा हुर्केको बालकमा भने ९० प्रतिशत गुण चिम्पान्जीको जस्तो र १० प्रतिशत स्वभावमात्र मानिसको जस्तो हुन पुग्यो ।’
केसीले उल्लेखित तथ्यको बलमा मानवमा निहित नक्कल गर्ने क्षमता उल्लेख गर्नुभएको छ । नक्कलको अर्थ अरूको अनुकरण गर्नु या प्रतिलिपि उतार्नु हुनजान्छ । मानिसमा नक्कल गर्ने स्वभाव शिशू उमेरदेखि नै विकसित हुनेगर्छ । बालकले खान, लाउन, बोल्न, हिँड्न, पढ्न, लेख्न अरूबाटै सिक्छ । नक्कल बालकले मात्र नभै ठूला मानिसले पनि गर्छन् । हिन्दी फिल्ममा नक्कलको नाममा मानिस कुन हदसम्म बहुरंगी हुन पुगेको छ भन्नेबारेको गीत छ एउटा–
‘मेरा जुत्ता है जापानी ।
सर पे लाल टोपी रुसी...।’
आधुनिक मानवमा विकसित हाइब्रिड प्रवृत्तिको उत्कृष्ट ध्वनी हो यो गीत । नक्कललाई गतिशील बनाउनमा चलचित्रहरूको निकै ठूलो योगदान देखिन्छ । चलचित्र फेसन प्रसारको माध्यम पनि हो । युवकयुवतीहरू फिल्मको प्रभावमा आएर हिरो–हिरोइनले झैं बोल्ने, खाने, लाउने प्रयत्न गर्छन् । त्यसो त नक्कल चलचित्र निर्माता कम्पनीहरूले पनि गर्छन् । भारतीय चलचित्र निर्माता कम्पनीहरू हलिउडको नक्कल गर्दै फिल्म बनाउँछन् । नेपाली चलचित्र उद्योगहरू चाहिँ बलिउडको अनुकरण गर्दै फिल्म निर्माण गर्छन् ।
साठीको दशकमा सुरु भएको हिप्पी संस्कृति नेपाल भित्रिनुमा चलचित्रको ठूलो हात छ । हिप्पी संस्कृति युरोपबाट भारतको बाटो हुँदै नेपालसम्मै आइपुग्यो । भारतीयहरूले पूर्वीय संस्कृतिभित्र हिप्पी संस्कृतिको फ्यूजन गर्दै ‘हरे राम हरे कृष्ण’ चलचित्र बनाए । जब नेपालीले चलचित्र हेरे, तब फिल्मको प्रभावमा आएर थुप्रै युवाले हिप्पी संस्कृति ग्रहण गरे ! हिप्पीहरू जस्तै गाँजा–चरेस आदि नशाको सेवन गर्ने, लामा दाह्री–कपाल राख्ने लगायतका बहुरंगी प्रवृत्तिलाई जीवनपद्धति बनाए । हिप्पी संस्कृतिका अनुगामीहरूले हिन्दूहरूका आराध्यदेव पशुपतिनाथलाई समेत चैनले बस्न दिएनन् । ‘हरे राम हरे कृष्ण’का हिप्पीहरूले पशुपतिको आगनमा गाँजाको धुवाँ उडाए । ‘दम मारो दम, मिट जाय गम...’ गाउँदै कुण्ठा–आवेगहरू पोखे !
मानिसलाई अरूको नक्कल उतार्न पाउँदा औधी आनन्द आउँछ । हाँस्यकलाकारहरूले नेता, मन्त्री, प्रधानमन्त्रीको नक्कल उतार्नु, दलका कार्यकर्ता, शीर्षनेतृत्वको कार्बनकपी बन्न तँछाड–मछाड गर्नुपछाडिका कारण पनि त्यही हुन् । नक्कलको राम्रा र नराम्रा दुवै पाटा छन् । मूल कुरा नक्कल केको गरियो भन्ने हो । महान् अग्रज, त्यागी–तपस्वीहरूका सद्गुणहरूको नक्कलले व्यक्तिलाई माथि उठाउँछ । सभ्य र सुसंस्कृत बनाउँछ । त्यस विपरीतको पदचिन्ह पछ्याएकाहरूको अनुकरणले मानिसलाई पाताल धसाउँछ ।
उदाहरणका लागि मानौं, हाम्रा अगाडि दुई मानिस छन्ः एउटा योगी, अर्को भोगी । हामीले योगी वा भोगीमध्ये कुनै एकको नक्कल उतार्नु पर्ने छ । योगीको नक्कल गर्न थोरै गाह्रो र भोगीको प्रतिलिपि बन्न सजिलो हुनसक्छ । किनभने योगीको नक्कल गर्नेले सादगी जीवन बिताउनुपर्ने हुनसक्छ । स्वस्थ भोजन, आहार–विहारमा ध्यान दिनुपर्ने हुनसक्छ । आत्म चिन्तन–मन्थनमा लाग्नुपर्ने हुनसक्छ । त्यसविपरीत भोगीको प्रतिलिपी बन्न खोज्नेलाई माथि उल्लेखित कुनै कुराको रोकावट रहनेछैन । उसँग सुरा–सुन्दरी भोगदेखि खानपान, उठबस आदिमा पूर्ण स्वतन्त्रता रहने छ । योगीको नक्कलले माथि उठाउँछ । भोगीको नक्कले खाडलमा खसाउँछ ।
खानपान, रहनसहन, मेला, चाडपर्वहरू संस्कृतिका नियाल्ने ऐना हुन् । यो देश, काल, परिस्थिति सापेक्ष हुन्छ । कुनै खास भूगोलमा प्रचलित संस्कृति सबै ठाउँमा एकछत्र लागू हुन सक्दैन । समाज संस्कृतिको निर्धारक हो । संस्कृतिभित्र समाज, देश–काल, परिवेश प्रतिविम्बित हुन्छ । भनिन्छ, ‘कुनै देशलाई खत्तम गर्नु छ भने सबैभन्दा पहिले त्यस देशको संस्कृति निमिट्यान्न पार ।’ आज पश्चिमा तथा शक्तिसम्पन्न राष्ट्रहरू त्यही बहानामा साना तथा कमजोर मुलुकहरूको धर्म–संस्कृतिमाथि धावा बोल्न कम्मर कसेर लागेका देखिन्छन् । तिनीहरू सियो बनेर पस्छन् । फाली बनेर निस्कन्छन् ।
मानिस र पशुबीचको पहिचान सर्वांग नग्न हुने कि लुगा लगाउने भन्नेबाट हुन्छ । पशु त्यस्तो जीव हो जसलाई नांगोपनाको बोध हुँदैन । तर, सभ्य मानिस नांगो भएर रहन सक्दैन । पोशाक ग्रहण मानव सभ्यताको इतिहासमा अग्रगामी रिवाज थियो । परन्तु हामी कोही कसैको नक्कल गर्नेे रहरमा नांगो रूपमा प्रस्तुत हुन किञ्चित हिच्किचाउँदैनौं । हामीमा पश्चिमाहरूको नक्कल गर्ने होड बढ्दो छ । पश्चिमाहरू हरदृष्टिले हामीभन्दा अब्बल हुन्छन् भने मनोग्रन्थी छ हामीमा ! यसलाई हामी नेपालीबाट ‘नेपांग्रेज’ बन्दै गएको तीतो यथार्थका रूपमा लिन सकिन्छ ।
त्यसो हुनुमा गोरा–अंग्रेजहरूको भन्दा बढी दोष हाम्रै छ । उक्ति नै छ– ‘थैलीको मुख बाँध्नू । साथीलाई दोष नलगाउनू ।’ गर्नेले ग्रहण नगरिदिए अरूले फैलाउन खोजेको सांस्कृतिक साम्राज्यको माकुरे जालो जेलिने कहाँ ? वर्तमान पुस्तामा पाश्चात्य मुलुकहरूका यावत कुरा राम्रा, हाम्रा सबै नराम्रा भन्ने मानसिकता मौलाउँदै गएको महसुस हुन थालेको छ । वर्तमान नेपालको एकथरी युवा तप्का नारायण गोपाल र विष्णु माझीको नाम लिँदा नाक खुम्च्याउँछ । उनीहरूलाई एरिआना ग्राण्डे, टेलर स्विफ्ट प्यारा लाग्छन् । ‘झ्याप भएर र्याप’ गाउँदा स्वर्गीय आनन्द महसुस हुन्छ तिनीहरूलाई ! तपाईंमध्ये धेरैले घुँडा टेकेर गर्भिणी श्रीमतीको पेट मुसारेको फोटो फेसबुकमा सगौरव पोष्ट गरेको देखेको हुनुपर्छ । ‘बेबिसावर’ र ‘भ्यालेन्टाइन डे’
मनाउँदा तीन बित्ता उफ्रनेहरूलाई भेटेको हुनुपर्छ ।
हाम्रो जीवन अरूले रचेको इतिहासमा ताली बजाउन होइन । खुद् इतिहास रची अरूको ताली खानका निम्ति हो । बाटो त्योमात्र होइन, जुन पश्चिमाहरूले बनाए । बाटो त्यो पनि हो जुन पूर्वीय अग्रजहरूले देखाए । दुःखका साथ भन्नुपर्छ, हामीले पूर्वीय संस्कृतिभित्रको बहुमूल्य हिराको पहिचान गर्न र त्यसको कदर गर्न सकेनौं ! हिरामध्येको बहुमूल्य हिरा हो, कोहिनूर । पूर्वीय संस्कृतिलाई कोहिनूर हिरासँग तुलना गर्न सकिन्छ । हामीमा आफ्नो संस्कृति ग्रहण गर्दा रत्तिभर हिनताबोध हुनुहुँदैन । कोहिनूर हिराजत्तिकै मूल्यवान् छ, पूर्वीय संस्कृति ।
कोहिनूर हिराको कथा बडो रोचक छ । कोहिनूर हीराको उत्पत्ति कथा पाँच हजार वर्ष पुरानो मानिन्छ । कोहिनूर हिरा कृष्ण नदीको किनारमा भेटिएको थियो भन्ने भनाइ छ । भनाइ यो पनि छ, ‘जुन मानिसले कोहिनूर हिरा लगाउँछ उसले सम्पूर्ण पृथ्वीमा राज गर्छ ।’ कोहिनूर हिराको महत्व अंग्रेजहरूले बुझेका थिए । त्यसैले उनीहरूले कोहिनूर हीरालाई छलपूर्वक हत्याए र आफ्नो देशमा पुर्याए ।
कोहिनूर हीरा र पूर्वीय संस्कृतिले झेल्नुपरेको नियति मिल्दाजुल्दा छन् । यतिखेर कोहिनूर हडपेर आफ्नो देशमा पुर्याउने अंग्रेजी साम्राज्यको पतन भइसकेको छ । विश्वको दुईतिहाइ भूगोलमा शासन गर्ने तत्कालीन अंग्रेजी साम्राज्य सीमित भूगोलको अधिपति हुन पुगेको छ । किन्तु नयाँ अवतारका गद्दिनसिन अंग्रेजहरूले आज पनि यो वा त्यो बहानामा साना तथा कमजोर राष्ट्रहरूको कोहिनूर सम्पदामाथि धावा बोल्न छोडेका छैनन् ।
पूर्वीय संस्कृति प्राचीन ऋषि–महर्षिहरूको ज्ञानको आलोकमा पल्लवित ‘कोहिनूर हिरा’ समान हो । पूर्वीय संस्कृतिमा त्यस्ता केही विशेषता छन्, जो पाश्चात्य संस्कृतिमा छैनन् । मेला–पर्म, ऐचो–पैंचो, ‘ज्यूँदाको जन्ती मर्दाको मलामी’ पूर्वीय संस्कृतिका उम्दा उदाहरण हुन् । ‘अतिथि देवो भवः’, अर्थात् पाहुनालाई देवता समान ठान्नु हाम्रो मौलिक संस्कृति हो । हाम्रोमा मानिस रोगले मर्न सक्ला तर खान नपाएर मर्दैन ! यहाँको विकटभन्दा विकट गाउँहरूमा जाने जोकोही भोको रहँदैन । पाहुनालाई मीठो–मसिनो ख्वाएर बिदा गर्नु हरेकले धर्म सम्झिन्छ । जुन कुरा पाश्चात्य संस्कृतिमा कल्पनासम्म गर्न सकिँदैन ।
संस्कृति, जननी, जन्मभूमिपछिको तेस्रो प्यारो चिज हो । यी तीन चिजसँग कुनै पनि किसिमको सौदाबाजी हुन सक्दैन । संस्कृति हाम्रो सान हो । संस्कृति हाम्रो प्राण हो । संस्कृति हाम्रो रगतको कण–कणमा छ । हामीले फेर्ने हरसासमा छ । कोहिनूर हिराजस्तै अमूल्य छ, हाम्रो संस्कृति । हामीलाई नक्कल या अनुकरणको नाममा फिरंगी संस्कृति मञ्जुर छैन । कोहिनूर हिरा समानको पूर्वीय संस्कृति अजर रहोस् ! अमर रहोस् ! आउनुहोस्, हामी सबै मिली कोहिनूर संस्कृतिको संरक्षण गरौं ।