मुस्ताङको थासाङमा ७ दिनदेखि बेपत्ता व्यक्ति मृत भेटिए
जोमसोम : मुस्ताङको थासाङमा ७ दिनदेखि बेपत्ता एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।थासाङ गाउँपालिका—४ झिप्रा देउराली निवासी ५० वर्षीय आई बहादुर दमाई शनिबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी सुर्यबहादुर बोगटीले जानकारी दिए ।
मंसिर ९ गते घरबाट मुस्ताङको घाँसामा आफन्त बितेको ठाउँमा हिँडेका दमाई घर फर्किदा सम्पर्कविहीन थिए । दमाई घर नफर्किएपछि थासाङ—४ का वडाध्यक्ष नगेन्द्र शेरचनले ईलाका प्रहरी कार्यालयलाई जानकारी गराएका थिए । सम्पर्कविहीन दमाईका परिवारले समेत जिल्ला प्रहरी कार्यालय मुस्ताङमा खोजतलासका लागि लिखित निवेदन दिएका थिए ।
दमाईको खोजीकार्यका लागि नेपाल प्रहरी ,नेपाली सेना र स्थानीय बासिन्दाले थासाङको विभिन्न स्थानमा खटेका थिए। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख एवं डीएसपी बोगटीले ७ दिनसम्म सम्पर्कविहीन भएर बेपत्ता व्यक्ति फेला परेको पुष्टि गरे । डीएसपी बोगटीका अनुसार बेपत्ता दमाईको शव थासाङ गाउँपालिका—३ लेते खोला किनारामा उत्तानो परेको अवस्था मृत भेटिएको हो ।
शव फेला परेको सूचना स्थानीयबाट जानकारी गराइएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट डीएसपी बागेटीको कमाण्डमा ४ जना र ईलाका प्रहरी कार्यालयबाट ३ जना गरी ७ जनाको प्रहरीले घटना स्थलमा पुगेको थियो ।
प्रहरीले मृतको शव थासाङ गाउँपालिका -३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए ।