मजदुरमाथि प्रहरीको मुक्का


काठमाडौं : दोलखाका २३ वर्षीय अनिल पाण्डे काठमाडौंमा भारी बोक्छन्। भक्तपुरको जडिबुटीमा रहेको तरकारी बजारमा सबेरै पुग्नु र तरकारीका भारी यताउता पुर्‍याउनु उनको दैनिकी हो। गत मंसिर १५ गते बिहानै ४ बजे उनी तरकारी बजार पुगे। ४ खेप भारी बोकिसकेका थिए। एकाएक तरकारी बजार नजिकै बस्ने लाल सिंह तामाङले उनलाई बाटोमै रोके र भारीसहितका पाण्डेलाई गालामा दुई चडकन लगाए। 'तैँले मेरो जस्ता चोरिस' भन्दै कुट्न थाले। 

'मैले चोरी गरेको छैन। मलाई नकुट्नुस्, प्रहरी बोलाउनुस्' भन्दै पाण्डेले हात जोडे। तामाङले प्रहरी बोलाए। प्रहरीले उनलाई प्रहरी थिमी बृत्त पुर्‍यायो। शनिबार उनलाई प्रहरीले हिरासतमा राख्यो। आइतबार बिहान हिरासतबाट निकालेर प्रहरीले अर्को रूममा पुर्‍याए। जहाँ सिभिल ड्रेसका प्रहरीहरू बसेका थिए। 'किन चोरी गरिस्' भन्दै पाइपै पाइपले हाने। लगातार टाउकोमा पाइपले प्रहार गरेपछि अनिलले 'मैले चोरेको छैन, मलाई नकुट्नुस्' भन्दै हातले छेके। रिसाएका प्रहरी जवानले अन्धाधुन्ध उनको शरीरमा पाइप बर्षाइरहे। प्रहरीको कुटाइले अनिलको आँखामा गहिरो चोट लागेको छ। आँखाबाट तरलपद्धार्थ बगिरहेको छ।

आइतबार दिउँसो २.३० बजे अन्नपूर्ण पोष्टको कार्यालयमा तिनै अनिल लरखराउँदै आएका थिए। टाउकोमा रगत बगेको र आँखामा समेत पानी बगिरहेको अवस्थामा आएका उनले 'प्रहरीले कुट्यो' भन्दै बिलौना गरे। 

जडिबुटीमा रहेको तरकारी बजारमा अनिललाई 'भरिया भाइ' नामले बोलाउने गर्छन्। सानैमा बाबुआमा गुमाएका अनिलको घर दोलखाको मेलुङ हो। तर, उनलाई मेलुङबारे केही थहा छैन। बच्चा उमेरमै गाडीको पछाडि बसेर काठमाडौं पसेका उनी यतैको दुःखमा हराए। उनले घर परिवार र आफन्त भुले। आफन्त र परिवारले उनलाई भुले। अनि उनी काठमाडौंमा अनाथ बने। उनको दैनिकी मजदुरीमा बित्न थाले। पछिल्लो ५ महिनादेखि जडिबुटी तरकारी बजारमा उनले भारी बोक्ने काम गरिरहेका छन्।
 
प्रहरीको कुटाइबाट अनिलको अवस्था नाजुक देखिएपछि हामीले घटनाबारे जिल्ला प्रहरी परिसर भक्तपुरलाई बुझ्यौं। परिसरका प्रवक्ता ढुण्डीराज न्यौपानेले प्रहरी बृत्त थिमीका प्रमुख प्रेमसागर केसीसँग घटनाको विषयमा जानकारी लिएको बताए।

प्रमुख प्रेमसागर केसीले पाण्डेलाई चोरी आरोपमा पक्राउ गरेको स्वीकारे। ‘जस्ता चोरी भयो भनेर जडिबुटीबाट प्रहरीको 'हटलाइन नम्बर'मा फोन आएको रहेछ। सोहीअनुसार थिमी बृत्तबाट प्रहरी टोली खटाएका थियौं। लाल सिंह तामाङले जस्ता हरायो भनेर मौखिक उजुरी दिएका थिए। सोहीअनुसार नै हामीले उनलाई १ दिन हिरासतमा राखेका हौं।'

सीसीटीभी फुटेजमा जस्ता भएको ठाउँमा पाण्डे हिंडेको देखिएको प्रहरीको दाबी छ। तर, जस्ता चोरेको प्रमाण भने भेटिएन। उनले भने, 'प्रमाण नभेटेपछि उनलाई तामाङकै जिम्मा लगाएर आइतबार छाडेका हौं।'

कुटपिटको विषयमा भने डीएसपी केसीले आफूलाई थाहा नभएको बताए। 'प्रहरीले सोधपुछ गरेको हुनसक्ला। सोधपुछ गर्दा कसैलाई पनि कुट्न पाइँदैन। हाम्रा प्रहरीले गल्ती गरेका रहेछन् भने आन्तरिक कारबाही गर्छौं,' उनले भने। कुनै पनि बहानामा प्रहरी कार्यालयमा कुटपिट गर्न नपाइने भन्दै उनले चोरीको विषयमा विस्तृत बुझ्ने बताए।
 
अन्नपूर्णकर्मीको निरन्तरको सोधपुछपछि प्रहरी बृत्त थिमीले पीडित पाण्डेलाई उपचार गरिदिने बताएका थिए। इन्सपेक्टर युवराज कटवाललाई डीएसपी केसीले अन्नपूर्ण पोष्टको कार्यालयमा पनि पठाएका थिए। अनिलको उपचार र गल्ती गर्ने प्रहरीलाई कारबाही गर्ने केसीले बताए। इन्सपेक्टर युवराज कटवालका अनुसार अनिल पाण्डेको भक्तपुरको नागरिक अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.