बर्दिया ठाकुरबाबा-४ को वडाध्यक्षमा नेपाली काँग्रेसका अमिन थारु निर्वाचित
गुलरिया : स्थानीय तह उपनिर्वाचन बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका अमिन थारु विजयी भएका छन् । निकतम प्रतिद्वन्दी नेकपा (माओवादी केन्द्र) लाई ३६५ मतले पछि पार्दै थारु निर्वाचित भएका हुन् ।
थारुले १ हजार ४३ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका शेरबहादुर थारुले ६ सय ७८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ठाकुरबाबाले जनाएको छ । त्यस्तै नेकपा एमालेका विष्णु प्रसाद देवकोटाले ३ सय ३७ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका प्रितिलाल थारूले ७०, राप्रपाका रत्नबहादुर शाहीले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका वासुदेव शर्माले १७ मत प्राप्त गरेका छन् ।
आइतवार सम्पन्न निर्वाचनमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा रहेको कृषि सेवा केन्द्र भवन मतदान स्थलका २ वटा मतदान केन्द्रमा १ हजार १३७ मतदाता मध्ये ७४२ मत खसेको थियो । त्यस्तै बबई शिशु मन्दिर आधारभूत विद्यालय बर्गदा मतदान स्थलको ३ वटा मतदान केन्द्रमा २ हजार ३ सय ७३ मतदाता रहेकोमा १ हजार ४९७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वडामा कुल ३ हजार ५१० मतदाता रहेकोमा २ हजार २३९ मतमध्ये ४० मत बदर भएको छ । वडामा ६३ दशमलव ७९ प्रतिशत मत खसेको थियो । वडा नम्बर ४ को वडाध्यक्ष पदको निर्वाचनको मतगणना सकिएको छ ।