कहिले होलान्, अपांगमैत्री सार्वजनिक यातायात ?

कहिले होलान्, अपांगमैत्री सार्वजनिक यातायात ?

काठमाडौं : राजधानीका सडकमा मिनेट–मिनेटमा सार्वजनिक यातायातका साधन भेटिन्छन्। तर, अपांगता भएका व्यक्तिले ती सवारीमा यात्रा गर्नु ‘ठूलै युद्ध’ जित्नुपर्छ। किनभने, अपांगता भएका व्यक्ति देखेँ अधिकांश चालकले गाडी रोक्दैनन्। देखेको नदेखेझै व्यवहार गर्छन्। केही गरी गाडी रोके, चढ्नकै सास्ती। चढिहाले चालक-सहचालकले राम्रो व्यवहार गर्दैनन्। सिटमा बस्न पाउनु त उनीहरूका लागि अर्को लडाइँ जिते जस्तै हुन्छ। अपांगता भएकै कारण उनीहरूले सडक, सवारी र गन्तव्यमा पुग्दासम्म पाइला–पाइलामा दुव्र्यवहार खेप्नुपर्छ। कतिपयले त ‘माग्न आएको जस्तो’ दुव्र्यवहार गर्छन्। उस्तै परे, लखेटन पनि पछि पर्दैनन्। अपांगमैत्री भौतिक पूर्वधार, सवारीसधानका बारे थुप्रै ऐन, कानुन छन्। तर, कार्यान्वयन नहुँदा अपांगता भएका व्यक्तिलाई सार्वजनिक यातायातका सवारीसधान प्रयोग गर्न निकै कठिन छ। उनीहरूको पढाइ, लेखाइ, उपचार, घुमघाम, जागिर लगायतका श्रीवृद्धिमा अवरोध भइरहेको छ। 

राष्ट्रिय जनगणना–०७८ अनुसार मुलुकको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ। यसमध्ये ६ लाख ४७ हजार ७ सय ४४ जना अपांगता भएका व्यक्ति छन्। अर्थात्, कुल जनसंख्याको २.२ प्रतिशत अपांगता भएका व्यक्ति छन्। अपांगता भएका व्यक्तिको संख्या यति धेरै भए पनि सार्वजनिक यातायातदेखि भौतिक संरचना अपांगतामैत्री छैनन्। त्यसैकारण उनीहरूले जताततै दुव्र्यवहार र भेदभावको शिकार बन्नुपर्छ। 

गाडी चढ्नै हम्मे–हम्मे 

अपांगता भएका व्यक्तिहरूलाई ट्राफिक प्रहरी गाडी चढाउने, बाटो काट्न सहयोग गर्छ। पहिला र अहिलेको अवस्थामा निकै परिवर्तन आइसकेको छ। गाडी कम र यात्री धेरै भएकाले पनि भने जस्तो सुविधा यात्रुहरूले पाउन सकेको छैन। बिकु नारायण काशिछ्वा, प्रहरी वरिष्ट नायव निरीक्षक, ट्राफिक प्रहरी परिसर ललितपुर

झापाकी सुजता लिम्बु दृष्टिविहीन हुन्। काठमाडौं डाँची बस्छिन्। कलेज पढ्न चाबहिल आउ–जाउ गरिरहनुपर्छ। तर, सधैंको एउटै चिन्ता हुन्छ, बाटो काट्नैको सास्ती। बाटो काटी हाले कुन सवारी चढने भन्ने पिरलो। अर्कोतिर, इसारा गरे पनि अधिकांश सवारीले चढाउन मान्दैनन्। सवारी भेटिहाले चढ्नैको झन्झट। चढेपछि सिट पाउने-नपाउने अर्को चिन्ता। सवारीमा खचाखच यात्रु भए घरी यता, घरी उता ठोक्किदैको हैरानी। 

‘बस-माइक्रोबस कुरिरहेको बेला कुन गाडी आइरहेको छ थाहा पाइँदैन,’ उनले दुःखेसो पोखिन्– बस हो कि, वा ट्रक–टिपर के आइरहेका छन् भन्ने ठम्याउनै मुस्किल हुन्छ।’ दैनिक जीवनमा भोग्नुपरेका समस्याबारे उनी भन्छिन्, ‘गाडीमा सार्वजनिक सवारीसधान छुट्ट्याउने निश्चित साउन्ड जडान गर्नुपर्छ।’ अपांगता भएका व्यक्तिहरूलाई बाटो काट्न सहज बनाउनुपर्छ। त्यसका लागि जेब्रा क्रसिङ भएको स्थानमा निश्चित साउन्डको जडान गर्नुपर्छ।’ 

बाटो कुर्दा गाडी रोक्दैन, चढ्दा सिट पाइँदैन

सार्वजनिक सवारीसाधनमा अपांगता भएका व्यक्तिले हत्तपत्ति सिट नै पाउँदैनन्। उनीहरूलाई यात्रा गरेर गन्तव्यमा पुग्नै कठिन हुन्छ। बाटोमा गाडी कुरेर बस्दा होस् या गाडी चढ्दा होस्, अपांगता भएका व्यक्तिमाथि दुव्यर्वहारजन्य घटनाहरू भइरहेका हुन्छन्। यस्तै घटनाबाट पीडितमध्येकी हुन्– कोपिला गुरुङ। 

कोपिला कीर्तिपुरमा बस्छिन्। कोपिलाले राम्रोसँग आँखा देख्दिनन्। उनलाई काम विशेषले सधै कीर्तिपुरबाट बागबजार आउजाउ गर्नुपरिरहन्छ। लोकसेवाको तयारी कक्षामा जानआउन सार्वजनिक गाडी प्रयोग गर्नुपर्छ। उनको सहारा नै सेतो छडी हो। उनी गाडी चढ्न एकाबिहानै कीर्तिपुरको नयाँ बजारको बस बिसौनी पुग्छिन्। त्यहाँ उनले अनेकौ किसिमका समस्या भोग्छिन्। ‘कसैले गाडी रोक्दैनन् त कहिले गाडीमा सिट नै पाइँदैन’, उनी भन्छिन्, ‘यो बाटोमा बसभन्दा माइक्रोबस र हाइस धेरै कुद्छन। हामीले रोक्न हात दिन्छौं, चालकले देखेर वा नदेखेर गाडी रोक्दै रोक्दैनन्।’

गाडी नरोक्नु एउटा समस्या हो। कोपिलाले घरबाट बाहिर निस्किँदा अपांगता भएकै कारण बग्रेल्ती चुनौतीसँंग सामाना गर्नुपर्छ। ‘ठूलो गाडी(बस) आउँछ। त्यहाँ यति धेरै मान्छे हुन्छन्की हामी चढ्नै सक्दैनौं। यदि चढिहाले पनि सिट नै पाइँदैन’, कोपिलाले दुःखेसो पोखिन्– तपाईँ अपांगता भएको व्यक्ति नै होइन, सिट माग्न बहाना बनाएको ? भन्दै हेला गर्छन्। शिरदेखि पाउसम्म हेर्छन्।’ अपांग सिटमा ज्येष्ठ नागरिक बसिसकेका हुन्छन्। अर्को ठाउँमा सिट माग्दा त्यहाँ अपांगता सिट छँदै छ नि भन्दै दुव्र्यवहार गर्ने गरेको बताउँदै उनी थप्छिन्, ‘कोही–कोही बुझ्नु हुन्न। उल्टै झगडा गर्नुहुन्छ। हामीले आँखा नदेख्नुमा हाम्रो के दोष। हेला, दुव्र्यवहार कहिलेसम्म हामी जस्ता अपांगता भएका व्यक्तिले खेप्ने ? ’ 

गाडी कुर्दा पनि ‘ठग र मागेर खाने’ भन्दै धपाइन्छ 

अपांगता भएकै कारण यस्ता व्यक्तिमाथि सडक र बसमा दुव्र्यवहार हुँदै आएको छ। घटना कात्तिक दोस्रो साताको हो। कोपिला अपांगता भएकी दिदीबहिनीहरूलाई गाडी चढाउन कीर्तिपुरको नयाँ बजारमा बस कुरेर बसिरहेकी थिइन्। त्यहाँबाट लगनखेल जाने गाडी आइपुग्ने समय थियो। त्यहाँ रक्सीले लठ्ठ भएका एक व्यक्ति आइपुगे। ‘ती व्यक्ति आफ्नो बाटो जान्छन् होला भनेर’ कोपिलाले केही बोलिनन्। तर, उनी अपांगता भएका व्यक्तिमाथि जाइलागे। ‘मागेर खाने, ठगेर खाने’ भन्दै धपाउन थाले। अपांगता भएकाहरूले गुहार मागे। स्थानीयहरू आए। गाडी आयो। अपांगताका दिदीबहिनीहरूलाई चढाएर कोपिला कोठा फर्किइन्। तर, उनको मनमा एउटा प्रश्न बिझिरह्यो–दृष्टिविहीन भएकाहरूले कहिलेसम्म हेंला सहनुपर्ने ? उनी भन्छिन्, ‘हाम्रो वरिपरि के भइरहेको छ, को आइरहेको छ ? थाहा हुँदैन। गाडी कुर्ने ठाउँमा असुरक्षित महसुस भइरहेको हुन्छ। बाटोमा उभिँदा पनि गाली खाइन्छ। गाडीमा चढ्दा पनि हेंला भोग्नुपर्छ। यस्ता समस्या धेरै नै छन्।’

लामोदूरीका यातायातमा त झनै समस्या 

जाजरकोटका भरत बीसी ललितपुरमा बस्छन्। शारीरिक कठिनाइका कारण उनलाई हिँड्डुल गर्न कठिन छ। सार्वजनिक यातायातमा यात्रा गरेर दैनिकी चलाउन कठिन बन्यो। अनि उनले किने चारपांग्रे स्कुटर। रहरले होइन् बाध्यताले। सानोमा गन्तव्यका लागि स्कुटर भरपर्दो साथी भयो। तर, टाढाको यात्रामा कठिनै छ। जाजरकोट पुग्न उनलाई सार्वजनिक यातायातमा चढ्नै पर्छ। ‘काठमाडौं उपत्यकामा पनि आपांगता भएका व्यक्तिले सहज रूपमा सार्वजनिक गाडीमा यात्रा गर्न पाउँदैनन्,’ उनले पीडा पोखे– लामोदूरीका बसमा त झनै समस्या छ। सार्वजनिक यातायातमा लामो यात्रा गर्दा खाना, खाजा खान ओर्लिनुपर्छ। दिशापिसाब गर्न झर्नुपर्छ। तर, चालक, सहचालकले ह्वीलचेयर छतमा राखिदिन्छन्। बसको डिकीमा कोचिदिनुहुन्छ। जहाँ झर्ने हो, त्यहाँ मात्रै ह्वीलचेयर झारिदिनुहुन्छ। तर, बाटोमा आवश्यक पर्दा उहाँहरूले ह्वीलचियर निकालदिनु हुन्न। हाम्रो पीडा उहाँहरूलाई के थाहा ?’ भरतले धेरैपटक यात्रा गर्दा यस्तो समस्या झेलेका छन्। त्यसैकारण, जोखिम मोलेरै तीनपटक स्कुटरबाटै सुर्खेतसम्म आउजाउ गरेको उनले बताए। काठमाडौंमा स्कुल र क्याम्पस पढ्न जाँदा सार्वजनिक यातायातामा भोगेका पीडा पनि कम दर्दनाक छैनन्। त्यतिबेला उनी कीर्तिपुर बस्थे। कीर्तिपुरबाट लगनखेल पढ्न जान्थेँ। अनि लगनखेलबाट जावलाखेलसम्म आउजाउ गर्दा दुइटा गाडी फेर्नुपथ्र्यो। ती दिन सम्झिँदै उनी भन्छन्, ‘सुरुमा त गाडीमा चढाउनै नमान्ने। कुनैले चढाइहाले पनि सिटै दिन नखोज्ने।’ कीर्तिपुरबाट थोरै संख्यामा गाडी चल्थे। अनि उनले जुक्ति लगाए, परिपक्व खालका चालक हेरेर मात्रै गाडी चढ्ने। त्यस्ता चालकले भरतलाई सजिलैसँग गन्तव्यमा पु¥याइदिन्थे। ‘अपांगता भएका कारण आफैंलाई पनि हिनताबोध हुन्थ्यो,’ भरतले भने, ‘त्यसैले सेवासुविधाबाट बञ्चित भएँ। गाडी नरोक्ने। बोलीवचन पनि तुच्छखालको प्रयोग हुन्छ। यसले हामीलाई नराम्रो लाग्छ। अपांगता भएका व्यक्तिलाई सभ्य बोली बोल्दा पनि उत्प्रेरणा जाग्छ।’  

‘अपांगता भएका व्यक्तिलाई पनि लाइसेन्स दिनुपर्छ’

काठमाडौंकी ठकुमाया बोल्न सक्दिनन्। कुराकानी गर्न दोभाषेको सहारा लिनुपर्छ। उनको माइती धादिङ हो। उनी बेलाबखत माइती आउजाउ गरिरहन्छिन्। सार्वजनिक गाडीमा यात्रा गर्दा कष्ट भोग्नु परेको बताउँछिन्। उनको प्रायः सहचालकसँग विवाद पर्छ। दोभाषेमार्फत उनले भनिन्, ‘सहचालकसँग अपांगता सिटमा बस्न पाउनुपर्छ भन्छु। तर, उनीहरूले तपार्इं अपांगता भएको व्यक्ति होइन, यहाँ बस्न मिल्दैन भनेर झर्को जवाफ दिन्छन्। कार्ड देखाउँदा पनि मान्दैनन्। जहिल्यै भनाभन हुन्छ।’

बहिराहरूलाई पनि सरकारले यातायात चलाउने लाइसेन्स दिनुपर्ने उनको माग छ। ‘सवारीसाधनको लाइसेन्स हामीले पाउनुप¥यो,’ उनले आक्रोश पोखिन्, ‘हामीले किन लाइसेन्स पाउँदैनौं ? म पनि त सवारीसाधन चलाउन सक्छु।’ बहिरालाई लाइसेन्स दिँदा दुर्घटनाको सम्भावना झन कम हुने उनको दाबी छ। ‘कान सुन्ने व्यक्तिले सवारी चलाउँदा दायाँबायाँ हेर्छन्, बोल्छन्,’ उनले भनिन्, ‘तर बहिराको ध्यान केवल गाडी चलाउनेमा मात्रै हुन्छ। ध्यान दिएर साधनहरू चलाउँछौं। त्यसैले हामीलाई लाइसेन्स दिनुपर्छ।’ 

सार्वजनिक यातायातमा यात्रा गर्ने अधिकार छैन त ?

गोकर्णेश्वर नयाँपाटी बस्ने अनु राई ‘स्पाइनलक्ड इन्जुरी’को चपेटामा परिन्। एक दशक अघि उनी अपांग भइन्। त्यसपछि उनका दुःखका दिन सुरु भए। ‘मलाई नसासम्बन्धी रोग लगेपछि पहिला जस्तो मेरो जीवन सजिलो रहेन,’ उनले भनिन्, ‘ह्वीलचेयर सहारा भयो, हिँड्डुल गर्न। घरपरिवारको सहारामा बाँच्नुप¥यो। सार्वजनिक यातायातमा यात्रा गर्न अरूको सहयोग नै चाहिने भयो।’ केही दिन त उनी सार्वजनिक यातायातबाट गन्तव्यमा पुगिन्। त्यहाँ हुने दुःख र गर्ने हेलाले मन दुःख्यो। अनि उनले बाध्य भएर अपांगमैत्री चारपांग्रे स्कुटर किनिन्। उनी भन्छिन्, ‘म जस्तो सबै अपांगता भएका व्यक्तिहरूसँग स्कुटर किन्ने र चढ्ने क्षमता छैन। कतिलाई शरीरले पनि सवारी चलाउन साथ दिँदैन। के उनीहरू सार्वजनिक सवारीसाधन प्रयोग गरेर सजिलै हिँड्डुल गर्न नपाउने त ?’ 

अपांगमैत्री छैनन् सवारीसाधन र भौतिक पूर्वाधार

सडकका भौतिक पूर्वाधार, सार्वजनिक यातायात र त्यहाँ काम गर्ने कर्मचारीहरूको व्यवहारले अपांगता भएका व्यक्तिहरूलाई सेवा लिन समस्या हुने गरेको छ। राष्ट्रिय शारीरिक संघ ललितपुरका उपाध्यक्ष किरण शिल्पकारले सडक, बस स्टेसन, बस पार्कहरू अपांगमैत्री नरहेको बताए। ‘सवारी साधनको संरचना, भौतिक पूर्वाधारको अवस्था त सगरमाथा जस्तो अग्लो भयो। जहाँ अपांगता भएका व्यक्तिलाई ह्वीलचेयर लिएर गाडी चढ्नै समस्या भयो’, उनी भन्छन्, ‘अपांग सिटको आरक्षण कुनै कुनै बसमा छ, कतै छैन। अपांगमैत्री संरचना हुनुपर्ने बारे थुप्रै कानुनले बोलेको छ। हामी कानुन, ऐन, नियामवलीमा धनी पनि छौं। तर, त्यसको कार्यान्वयनमा कमजोर छौं।’ उनका अनुसार भीडभाडको समयमा काठमाडौं उपत्यकासहित देशभरि सर्वसाधारणलाई गाडी चढ्न समस्या हुन्छ। अपांगता भएका व्यक्तिहरूलाई ह्वीलचेयर लिएर गाडी चढ्न कति कठिन हुन्छ भन्नु परेन। ‘झन् बसका सिँढीहरू त हाम्रा लागि पहाडजस्तै छ,’ उनले भने, ‘ ह्वीलचेयर लिएर चढदै कठिन।’

अपांगता भएका व्यक्तिले गाडी रोक्न हात दिँदा पनि चालक, सहचालकले नरोक्ने गरेको उनको गुनासो छ। उनी भन्छन्, ‘रोकिहाले पनि तपाईंले भनेको बाटोमा गाडी जाँदैन भन्छ। तर, गाडी त्यही बाटोको रुटमा गइरहेको हुन्छ। समय बढी लाग्ने र भाडा पनि आधा मात्रै दिन्छन् भनेर सकभर गाडीवालाहरूले अपांगता भएका व्यक्तिलाई गाडीमा नै चढाउँदैनन्।’ कतिपय गाडी चालक र सहचालकले बाटोमा गाडी कुरी रहेकाहरूलाई रोकेर चढाउँदा पनि ट्राफिक प्रहरीले जरिवाना काटिदिने गरेको राष्ट्रिय शारीरिक संघ ललितपुरका उपाध्यक्ष शिल्पकार बताउँछन्।

व्यवसायी, चालकका आ–आफ्नै समस्या

गाडी र सडकको भौतिक अवस्था सुधार नभएसम्म न त अपांगता भएका व्यक्तिको संख्यामा कमी आउँछ न त सडक दुर्घटना न्यूनीकरण हुन्छ। यसबारे सरकार गम्भीर बन्नुपर्छ। नवराज घिमिरे, उपाध्यक्ष, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन। 

सार्वजनिक यातायात अपांगतामैत्री नरहेकाले अपांगता भएका व्यक्तिहरूलाई सेवा प्रदान गर्न कठिन भइरहेको यातायात व्यवसायी तथा तीनका संघसंगठन बताउँछन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ललितपुरका जिल्ला अध्यक्ष विनोद बुढाथोकी भन्छन्, ‘अपांगता भएका व्यक्तिले गाडी कुरेको ठाउँमा सवारी रोक्दा ट्राफिक प्रहरीले जरिवाना गर्ने गर्छन्। त्यसैकारण कतिपय अवस्थामा उनीहरूलाई गाडीमा चढाउनै समस्या हुन्छ।’

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ललितपुरका सचिव तथा चालक स्वीग्रिप थिङले चालक सहचालकहरूमा जनचेतनाको कमीले गर्दा पनि अपांगता भएका व्यक्तिमाथि दुव्र्यवहार हुने गरेको सुनाए। ‘मैले गाडी चलाउँदा अपांगता भएकाहरूलाई मिलाएर चढाउनुस् भनेर सहचालकलाई भन्छु। कतिपय गाडीमा ह्वीलचेयर राख्ने पनि ठाउँ हुँदैन, उनले भने, ‘तर, हाम्रा साथीहरूले आफू पनि यस्तै अपांगता भएको व्यक्ति भए कस्तो होला जीवन ? भन्ने मानवीयभावले अपांगता भएका साथीहरूलाई सहयोग पनि गर्छन।’ सरोकारवाला निकायहरूले सार्वजनिक सवारीसाधनलाई अपांगमैत्री बनाउन भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

फरक—फरक शारीरिक अपांगता हुन्छन्। तर, बाटोमा ती व्यक्तिहरूलाई चालकले चिन्न नसक्दा पनि गाडी कसरी रोक्ने ? समस्या हुने गरेको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ काठमाडौं जिल्ला कमिटी संयोजक गोपालचन्द्र गुरुङले सुनाए। उनले भने, ‘ट्राफिक नियम पनि पालना गर्नै प¥यो, बस स्टपमा मात्रै गाडी रोक्ने नियम छ।’

सवारीसाधनलाई अपांगमैत्री बनाउन राज्यले सार्वजनिक यातायात सञ्चालन गर्ने गाडीधनीलाई अनुदान दिनुपर्ने बताउँछन् लगनेश्वर महादेव यातायात सेवा प्रालि ललितपुरका अध्यक्ष कविन्द्र थापामगर। सवारी दुर्घटनाले देशमा अपांगता भएका व्यक्तिहरूको संख्या बढ्दै गएको यातायात क्षेत्रमा काम गर्नेहरूको भनाइ छ। सडकको दुराअवस्थाले दुर्घटना बढ्दै गएको छ। त्यसले बर्सेनि अपांगता भएका व्यक्तिहरूको संख्या थपिँदै गएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरेले सुनाए। उनले भने, ‘गाडी र सडकको भौतिक अवस्थ सुधार नभएसम्म न त अपांगा भएका व्यक्तिको संख्यामा कमी आउँछ न त सडक दुर्घटना न्यूनीकरण हुन्छ। यसबारे सरकार गम्भीर बन्नुपर्छ।’ पहिलेभन्दा अपांगता भएका व्यक्तिहरूले थोरै भएपनि सार्वजनिक यातायाता सुविधा, सहुलियत पाइरहेका प्रहरी बताउँछन् ट्राफिक प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ट नायव निरीक्षक बिकु नारायण काशिछ्वा।

सवारी साधनको संरचना, भौतिक पूर्वाधारको अवस्था त सगरमाथा जस्तो अग्लो भयो। जहाँ अपांगता भएका व्यक्तिलाई ह्वीलचेयर लिएर गाडी चढ्नै समस्या भयो। अपांगमैत्री संरचना हुनुपर्नेबारे थुप्रै कानुनले बोलेको छ। तर, त्यसको कार्यान्वयनमा कमजोर छौं। किरण शिल्पकार, उपाध्यक्ष, राष्ट्रिय शारीरिक संघ ललितपुर

सार्वजनिक यातायातमा हुने समस्या समाधान गर्न हामी सहजीकरण, कारबाही गर्दै आएको अनुभव सुनाउँछन्। उनी लामो समयदेखि काठमाडौं उपत्यकाका जिल्लाहरूमा ट्राफिक प्रहरीको जिम्मेवारीसहित काम गर्दै आएका छन्। उनी भन्छन्, ‘अपांगता भएका व्यक्तिहरूलाई ट्राफिक प्रहरी गाडी चढाउने, बाटो काट्न सहयोग गर्छ। पहिला र अहिलेको अवस्थामा निकै परिवर्तन आइसकेको छ। गाडी कम र यात्री धेरै भएकाले पनि भने जस्तो सुविधा यात्रुहरूले पाउन नसकेको उनले बताए। उनले भने, ‘चालक, सहचालकलाई यातायातका कानुन, गर्नुपर्ने व्यवस्था र प्रदान गरिने सुविधाबारे प्रशिक्षण दिदैं आएका छौं। बदमासी गर्ने चालक र सहचालकहरूलाई चेकजाँच गरेर कारबाही पनि गर्छौं ।’

अपांगतासम्बन्धी ऐन, कार्यान्वयनमा झेल

संविधानको धारा १८ समानताको हक (२) सामान्य कानूनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात जाति, लिङ्ग,शारीरिक अवस्था, अपांगता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा या क्षेत्र, वैचारिक आस्था या यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन। अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि धारा ९ पहुँचयुक्तता 

१. अपांगता भएका व्यक्तिहरूलाई स्वनिर्भरता पूर्वक जीवनयापन गर्न तथा जीवनका हरेक पक्षमा पूर्णरूपमा सहभागी हुन सक्षम बनाउन पक्ष राष्ट्रहरूले अन्य व्यक्ति सरह समान आधारमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहरी र ग्रामीण दुवै क्षेत्रहरूमा भौतिक वातावरण, यातायात, सूचना तथा सञ्चार प्रविधि र प्रणालीहरू लगायत सूचना र सञ्चार तथा सर्वसाधारणलाई खुला भएका वा प्रदान गरिका अन्य सुविधा तथा सेवाहरूमा पहुँच सुनिश्चित गर्न उपायहरू अवलम्बन गर्नेछन्। अपांगता  भएका  व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७७ १२) सुहलियत र सुविधाः 

बस-माइक्रोबस कुरिरहेको बेला कुन गाडी आइरहेको छ थाहा पाइँदैन। गाडीमा सार्वजनिक सवारीसधान छुट्ट्याउने निश्चित साउन्ड जडान गर्नुपर्छ। जेब्रा क्रसिङ भएको स्थानमा पनि निश्चित साउन्डको व्यवस्था गरिनुपर्छ। सुजता लिम्बु, दृष्टिविहीन, झापा

(१) सार्वजनिक यातायातले पूर्ण अशक्त, अति अशक्त र मध्यम अपांगता भएका व्यक्तिलाई परिचयपत्रका आधारमा बस, रेल, हवाईजहाज जस्ता सार्वजनिक साधनबाट यात्रा गर्दा लाग्ने भाडामा ५० प्रतिशत छुट उपलब्ध  गराउनुपर्ने छ। 

(२) देहाय बमोजिमका सिट क्षमता भएका सार्वजनिक सवारी साधनले देहायबमोजिमका सीट अपांगता भएका व्यक्तिका लागि सुरक्षित राख्नुपर्ने छ ः 

क)     दश वा सोभन्दा कम सिट क्षमता भएका सवारी साधनले एक सिट
ख)     ११ देखि १५ सिट क्षमता भएका सवारी साधनले दुई सिट 
ग)     १६ देखि ३० सिट क्षमता भएका सवारी साधनले तीन सिट 
घ) ३० भन्दा बढी सिट क्षमता भएका सवारी साधनले चार सिट 
ङ)    रेल लगायतका ठूला सवारी साधनले कूल सिट संख्याको कम्तीमा पाँच प्रतिशत सीट अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना

तथा सञ्चार सेवा निर्देशिका, २०६९  ८. बसपार्क पहुँचयुक्त बनाउने: 

नेपाल सरकार, स्थानीय निकाय, अन्य सम्बन्धित निकायले बस पार्क  निर्माण गर्दा वा गराउँदा सार्वजनिक वस पार्कमा सर्वसाधारणका लागि राखिएका टिकट काउन्टर, सवारी प्रतिक्षा गर्ने ठाउँ, परिसरभित्रका शौचालय, वसमा यात्रु चढ्न प्रयोग हुने प्लेटफर्म ह्वीलचियर प्रयोगकर्ता, होचापुड्का, दृष्टिविहीन, वैशाखी प्रयोगकर्तालगायत सबै अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त बनाउनुपर्ने छ। ९   यात्रुहरू ओराल्ने र चढाउने स्थान पहुँचयुक्त बनाउने: 

नेपाल सरकार, स्थानीय निकाय, अन्य सम्बन्धित निकाय वा संस्थाले यात्रुहरू ओराल्ने र चढाउने स्थान निर्माण गर्दा वा गराउँदा अपांगता भएका व्यक्तिको पहुँचयुक्त बनाउन देहायको व्यवस्था गर्नु पर्नेछः–

 (क) सडकमा सार्वजनिक सवारीले यात्रुहरू ओराल्न र चढाउन सवारी रोक्ने स्थान ह्वीलचियर प्रयोगकर्ता, होचापुड्का, दृष्टिविहीन, वैशाखी प्रयोगकर्ता लगायत सवै अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त र प्रयोगमैत्री बनाउनु पर्नेछ। 
(ख)   खण्ड (क) को प्रयोजनको लागि सडकबाट उक्त स्थानको उचाइ, ¥याम्पको व्यवस्था, ह्वीलचियरको लागि आवश्यक स्थान, सवारी प्रतिक्षा गर्न बस्ने ठाउँ आदिको निर्माणमा विशेष ध्यान दिइनेछ। १०. सार्वजनिक यातायात पहुँचयुक्त बनाउनेसम्बन्धी ः 
(१)    यातायात व्यावसायीले नयाँ सार्वजनिक वस खरिद गर्दा अपांगता भएका व्यक्तिको लागि पहुँचयुक्त बस खरिद गर्नु पर्नेछ। 
(२)    उपदफा (१) बमोजिम अपांगा मैत्री सार्वजनिक यातायातको आयात वा खरिदमा आर्थिक ऐनमा उल्लेख भए बमोजिम राजश्व छुट सुविधा उपलब्ध गराइनेछ।
(३)    पुराना सार्वजनिक बसहरूलाई पहुँचयुक्त बनाउनको लागि नेपाल सरकारले आर्थिक ऐनमा उल्लेख भएबमोजिम कर छुटलगायत विभिन्न अनुदानको व्यवस्था गरी व्यावसायीलाई उत्प्रेरित गर्ने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.