लामिछानेविरुद्ध राहदानी दुरूपयोग मुद्दामा आज सुनुवाइ
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेमाथि राहदानी दुरूपयोगका विषयमा मुद्दा नचलाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय हरि फुयाल र नृपध्वज निरौलाको इजलासमा पेशी चढेको छ।
महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलले राहदानी दुरूपयोगको विषयमा लामिछानेमाथि मुद्दा नचल्ने निर्णय गरेका थिए । सोही निर्णय बदरको माग गर्दै युवराज पौडेल सफलले २०७९ चैत्र २० गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।
महान्यायाधिवक्तको कार्यालय,डा.दिनमणि पोख्रेल महान्यायाधिवक्ता,महान्यायाधिवक्ताको कार्यालय, जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग,नेपाल प्रहरी प्रधान कार्यालय,जिल्ला प्रहरी परिसर,निर्वाचन आयोग र लामिछानेलाई निवेदनमा प्रतिवादी बनाइएको छ।
उनले लामिछानेलाई नेपाली नागरिकको रुपमा राजनीतिक अधिकार प्रयोग गर्न नदिन समेत अन्तरिम आदेश माग गरेका छन्।
सहकारी ठगी प्रकरणमा लामिछाने हाल प्रहरी हिरासतमा छन्। सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेमाथि काठमाडौं सरकारी वकिलको कार्यालयमा बयान चलिरहेको छ। उनको बयान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। बयानका लागि उनलाई गत बिहीबार बेलुका काठमाडौं ल्याइएको थियो।