मोरङको ग्रामथान: एमाले र कांग्रेसलाई उछिनेर माओवादीको ‘इन्ट्री’
विराटनगर : थारू समुदायको बाहुल्यता रहेको मोरङको ग्रामथानको अध्यक्षमा २०७४ मा नेकपा (एमाले) र २०७९ सालमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए। २०७९ को स्थानीय तह निर्वाचनबाट अध्यक्षमा विजयी भएका जयप्रकाश गच्छदार थारूको निधन भयो। रिक्त रहेको अध्यक्ष पदका लागि आइतबार उपनिर्वाचन हुँदा दुवै दललाई उछिनेर नेकपा (माओवादी केन्द्र)ले बाजी मारेको छ।
माओवादीका नमोनारायण माझी ६ हजार ९ सय ६९ मत पाएर गाउँपालिका अध्यक्ष निर्वाचित हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका बलराम सरदार थारू ५ हजार ३ स ३३ मतमा सीमित हुन पुगे। उनीहरू बीचको मतान्तर १ हजार ६ सय ३६ छ। नेकपा (एमाले) तेस्रो भयो। एमाले उम्मेदवार तुलसीराम विश्वास ४ हजार १ सय ५९ मतमा खुम्चिए।
२६ हजार ४४ मतदाता रहेको ग्रामथानमा १८ हजार ५ सय ५६ मत खसेको थियो। १८ हजार २ सय ७ मत सदर भएको छ। यसअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयले १८ हजार ५ सय ७७ मत खसेको जानकारी दिएको थियो। तर, मतपेटिकाभित्र २१ मत कम रहेको पाइएको कार्यालयका सहायक निर्वाचन अधिकृत रामराज पौडेलले बताए। ‘मुचुल्का उठाउँदा मत संख्यामा केही तलमाथि भएछ,’ उनले भने।
माझीले २०७९ सालमा कांग्रेसबाट ग्रामथानमा अध्यक्षको उम्मेदवार बन्ने चाहना राखेका थिए। तर, पार्टीले नपत्याएसँगै ग्रामथान–१ बाट वडाध्यक्षको उम्मेदवार बन्न खोजे। वडाध्यक्षमा पनि पार्टीले टिकट दिएन। त्यसपछि स्वतन्त्र उम्मेदवार बनेर चुनावमा होमिएका उनले जित्न सकेनन्। कांग्रेसका सुरेशकुमार माझी वडाध्यक्ष निर्वाचित हुँदा उनी तेस्रो भए।
नमोनारायण माझी २०७४ सालको स्थानीय तह निर्वाचनमा भने तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट सोही वडाको वडाध्यक्ष निर्वाचित भएका थिए। तर, फोरम लोकतान्त्रिक र कांग्रेसबीच पार्टी एकीकरण भएसँगै कांग्रेसमा गएका उनले त्यसपछि पार्टीबाट अवसर पाएनन्।
यद्यपि, २०५४ सालको स्थानीय निकाय निर्वाचनमा उनी कांग्रेसबाटै तत्कालीन लखन्तरी गाविस (गाउँ विकास समिति)को अध्यक्ष निर्वाचित भएका थिए। लखन्तरी हाल ग्रामथान–१ मा पर्छ। २०५९ सालमा गाविस अध्यक्षको कार्यकाल सकिएसँगै उनी विदेशिए।
गाउँमा माओवादीले दिएको पीडा सहन नसकेर नेपाल छाडेका उनले १४ वर्ष विदेशमै बिताए। ७ वर्ष मलेसिया र ७ वर्ष दुबई बसेर फर्किएपछि उनले वडाध्यक्षमा चुनाव लडेर जितेका थिए। कांग्रेसले वडाध्यक्षको समेत टिकट नदिएछि २०७९ सालमा स्वतन्त्र बनेका उनी पार्टीमा फर्किएनन्। गत भदौ २९ गते नेकपा (माओवादी केन्द्रमा) प्रवेश गरे। नेताचोकमा आयोजित सभामा पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्य पार्टीका कार्यकर्तासँगै माझीलाई पनि पार्टीमा स्वागत गरेका हुन्।
माओवादीले गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने सर्तमा उनलाई भित्राएको थियो। माओवादी नेता एवं संघीय सांसद अमनलाल मोदीले पार्टी प्रवेश गराउनेदेखि टिकट दिलाउनेसम्मको भूमिका खेलेका थिए। कांग्रेस छाडेर माओवादीमा प्रवेश गरेका माझी कांग्रेसलाई नै पछि पार्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।
ग्रामथानको अध्यक्ष निर्वाचित माझी जनसरोकारका मुद्दामा आवाज उठाइरहने आँटिला उम्मेदवार भनेर चिनिन्थे। नागरिक सरोकारको विषयलाई उठाउँदा आफूविरुद्ध मुद्दा चलेको बताउने गर्थे। ग्रामथान–१ को रामजानकी मन्दिरका लागि बजेट माग गर्दै २०८० चैत ११ गते गाउँपालिकाको कार्यालयमा उनकै नेतृत्वमा प्रदर्शन भएको थियो। त्यतिबेला गाउँपालिकामा तोडफोडको प्रयाससमेत भयो।
कार्यपालिका बैठक चलिरहेको बेला हुलहुज्जत गरेको भन्दै गाउँपालिकाको तर्फबाट जाहेरी परेपछि प्रहरीले उनीसहित ९ जनालाई पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा चलायो। जिल्ला प्रशासन कार्यालय मोरङले २०८१ भदौ १७ गते सबै प्रतिवादीलाई जरिबाना हुने फैसला सुनायो। पालिकाको नेतृत्वले काम नगरेको भनेर विरोध गर्दा र गाउँको मन्दिर बनाउन बजेट माग्दा आफूविरुद्ध मुद्दा चलेको माझी बताउँछन्।
मुद्दा चलेपछि आफ्नो ‘हाइट’ बढेको बताउने माझी अहिले जनमत प्राप्त गरेर सिँगो गाउँपालिका हाँक्ने ठाउँमा पुगेका छन्। पालिकाको नेतृत्वले काम नगरेको भनेर बारम्बार आवाज उठाउने र दबाब दिइरहने उनी अब आफैं त्यस्ता आवाजको सुनुवाइ गर्नुपर्ने तहमा पुगेका हुन्। माझीले २०४५ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए। उपनिर्वाचनमा ग्रामथानको अध्यक्षका उम्मेदवार भइरहँदा उनको भन्दा माओवादी नेता मोदीको चर्चा धेरै थियो। मोदी भर्सेस कांग्रेस–एमाले भनेर चर्चा हुन्थ्यो।
वास्तवमै ठूलै शक्ति खर्च गरेका कांग्रेस र एमालेलाई पछि पार्दै मोदीको रोजाइमा परेका माझीले उपचुनावमा बाजी मारे। माझीको जित हुनुमा मोदीको मिहिनेत र ‘क्रेज’नै प्रमुख कारण रहेको बताइन्छ। माझीको विजयसँगै मोदीको राजनीतिक उचाइ र चर्चा झन् चुलिएको छ। चुनावी अभियानका क्रममा फरक पार्टीबाट जितेका कारण आफूले केन्द्रबाट ल्याएको बजेट पालिकाले खर्च नगरी फिर्ता पठाउने गरेको गुनासो मोदीले गर्ने गरेका थिए। एउटै पार्टीको मान्छे भए बजेट ल्याउन र विकास निर्माणमा खर्च गर्न सजिलो हुने कुरा उठाउने गर्थे। मोदीकै आग्रहलाई स्वीकार गर्दै मतदाताले पनि उनकै पार्टीका उम्मेदवारलाई रोजेका छन्।
ग्रामथानमा कांग्रेसले दाबी गर्दै आएको गढ भत्काएका माझी सबैसँग समन्वय गरेर विकास निर्माणको काम अघि बढाउने बताउँछन्। ‘हिजो म पार्टीको नेता थिएँ। आज जनताको भएँ। जनप्रतिनिधि हुँ,’ उनले भने, ‘एमाले, कांग्रेस मतलब छैन। सबै मेरा लागि बराबर हुन्। समन्वय गरेर अघि बढ्छु।’ पालिकाका अन्य उम्मेदवारसँग राम्रा एजेन्डामा समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका माझीले कसैलाई भेदभाव नगरी सबैलाई समान व्यवहार गर्ने बताए।
माओवादीको एक्लो प्रयासले मात्रै सम्भव नहुने बताउँदै उनले पालिकाको विकासका लागि सबैसँग समन्वय आवश्यक रहेको उल्लेख गरे। ग्रामथानमा माओवादी सांगठनिक हिसाबले कमजोर रहेको भन्दै माझीले आफ्नो व्यक्तिगत प्रभावसँगै माओवादी पार्टी र मोदीलगायतका नेता एवं आमजनताको सहयोगमा चुनाव जितेको उल्लेख गरे।
एमाले र कांग्रेसपछि माओवादीको पालो
ग्रामथानको अध्यक्षमा यसअघि एमाले र कांग्रेसले १–१ पटक जितिसकेका छन्। २०७४ सालमा एमाले र २०७९ सालमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए। २०७९ मा कांग्रेसबाट निर्वाचित जयप्रकाश गच्छदार थारुको गत असार ३ गते निधन भएको थियो। गच्छदार ७ हजार ६ सय ५ मतसहित अध्यक्ष निर्वाचित हुँदा प्रतिस्पर्धी एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ मत ल्याए। तेस्रो भएको माओवादीका विजयकुमार सरदार २ हजार ७ स २७ मतमै सीमित हुन पुगे।
पालिकाको ७ वटा वडामध्ये एमालेले ४, कांग्रेसले २ र माओवादी केन्द्रले १ वडाध्यक्ष जितेका थिए। सबैभन्दा बढी वडा जितेर पनि २०७९ मा पालिका अध्यक्ष गुमाएको एमाले अहिले तेस्रो स्थानमा पुगेको छ। २०७४ मा भने एमालेका शिवनारायण माझी थारु ४ हजार ७ सय २० मतसहित विजयी हुँदा प्रतिस्पर्धी तत्कालीन फोरम लोकतान्त्रिकका जयप्रकाश गच्छदार थारु ४ हजार ६ सय ६१ मतमा रोकिएका थिए। तेस्रो भएको कांग्रेसका कृष्णकुमार सरदार थारुले ३ हजार १ सय ४३ मत ल्याउँदा चौथो स्थानमा रहेको माओवादीका रमेशकुमार भगत १ हजार ६ सय २ मतबाट अघि बढ्न सकेनन्।
माओवादी २०७९ सालमा तेस्रो र २०७४ मा चौथो स्थानमा थियो। तर, माओवादीको ‘इन्ट्री’ भएको छ। एमाले र कांग्रेसपछि उपनिर्वाचनमार्फत ग्रामथानको नेतृत्वमा माओवादी पुगेको हो। ग्रामथान माओवादीको जनाधार कमजोर भएको पालिका भनेर चिनिन्थ्यो। तर, अहिले अध्यक्षमा बाजी मारेको छ।
१३ उम्मेदवारको जमानत जफत
स्थानीय तह निर्वाचन ऐेन २०७९ को दफा ६३ मा कूल सदर मतको १० प्रतिशत नकटाए उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ। उपनिर्वाचनमा ग्रामथानको अध्यक्षका लागि विभिन्न दलका १५ र १ स्वतन्त्रसहित १६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। तर, ३ ठूला दल कांग्रेस, एमाले र माओवादीबाहेकका अन्य १३ जना उम्मेदवारले सदर मतको १० प्रतिशत कटाउन सकेनन्।
सदर भएको १८ हजार २ सय ७ मतको १० प्रतिशत १ हजार ८ सय २१ हुन्छ। चुनावी प्रतिस्पर्धामा रहेकामध्ये १० प्रतिशत मत प्राप्त गर्न नसकेका १३ जनाको जमानत जफत भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिनेशकुमार थन्दार (दिवेश) (५ सय ५५), रास्वपाका नवीनकुमार विश्वास (३ सय ७५), समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी (२ सय ३३), नेकपा (एकीकृत समाजवादी) पार्टीका दिलबहादुर विश्वकर्मा (१ सय ४४), स्वतन्त्र उम्मेदवार नमनारायण चौधरीले (१ सय ३०), नागरिक उन्मुक्ति पार्टीका बुद्धिचन विश्वास ( ८९) र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका सुरेशकुमार राजवंशी (४७) छन्।
त्यस्तै, मंगोल नेशनल अर्गनाइजेसनका भरत राई (४५), जनमत पार्टीका विनोदकुमार माझी (४२), कमल थापा नेतृत्वको राप्रपा नेपालका राजु मुसहर (२७), नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का पर्शुराम विश्वास थारु (२६), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का धर्मेन्द्रकुमार चौधरी (१८) र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी (१५)को जमानत जफत भएको छ।