कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्दै आएको दैनिक प्रशासनिक कामकाज उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्नेगरी तोकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली आज चीनतर्फ प्रस्थान गरेपछि उनको अनुपस्थितिमा प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहलाई दिइएको हो ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री सिंहले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओली चीनको भ्रमण पूरा गरी यही मङ्सिर २० गते स्वदेश फर्कने कार्यतालिका छ ।