जनमत पार्टीले किन माग्यो सभामुख घिमिरेको राजीनामा ?
काठमाडौं : जनमत पार्टीले सभामुख देवराज घिमिरेले सांसद गोमा लाभ सापकोटालाई कारबाही नगरेको भन्दै आपत्ति जनाएकाे छ । सोमबार जनमतका पार्टी प्रवक्ता शरद सिंह यादवले विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पुर्याई कारबाही गर्दा पनि गैर संवैधानिक कदमद्वारा रक्षा गर्ने सभामुखले अविलम्ब राजीनामा दिनुपर्ने बताएका हुन् । जनमतले प्रक्रिया पुर्याएर सापकोटालाई कारबाही गरिएको दाबी गर्दै आएको छ ।
‘कोही प्रतिनिधिसभा सदस्य सभामुखको नातेदार र समुदायको मान्छे पर्यो भन्दैमा र सभामुखको (पूर्व) पार्टी नेकपा (एमाले) मा जाने वचनबद्धता गर्यो भन्दैमा जनमत पार्टीको केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पुर्याई कारबाही सदर गरिसकेको सदस्यलाई यसरी गैर संवैधानिक कदमद्वारा रक्षा गर्ने सभामुखले अविलम्ब राजीनामा दिनुपर्दछ‚’ विज्ञप्तिमा भनिएकाे छ ।
उनले सङ्घीय संसद् सचिवालयले मधेसीहरूप्रति देखाएको रङ्गभेदी र नस्लवादी व्यवहार र नीतिको हामीले संसद्मा समेत घोर विरोध गर्ने जनाएकाे छ। सङ्घीय संसद् सचिवालयले आफ्नो नश्चवादी निर्णय नसच्चाए हामी संसद् अवरुद्ध गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।
जनमतले सांसदबाट हटाउनका लागि चारपटक सभामुखलाई पत्र लेखेपछि सांसद सापकोटालाई पदमुक्त गर्नुपर्ने आधार नरहेको सभामुख घिमिरेले जवाप्फ दिएका थिए ।