नक्कली सुन देखाएर ठगी गर्ने गिरोह सक्रिय, ६ जना पक्राउ
विराटनगर : पूर्वका विभिन्न स्थानमा नक्कली सुन देखाएर सर्वसाधारणमाथि ठगी गर्ने गिरोह सक्रिय भएको छ। गिरोहका ६ जना पक्राउ परेका छन्। तीमध्ये २ जना भारतीय नागरिक छन्। जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन गरेर ५० वर्षमाथिका ५ र ३४ वर्षका १ जनालाई सार्वजनिक गरेको छ।
भारतको दार्जिलिङका ५१ वर्षीय नारायण गुरुङ, ३४ वर्षीय सञ्जय शर्मा, झापाको कमल गाउँपालिका–१ तोपगाछीका ५२ वर्षीय अशोक तामाङ, कनकाई नगरपालिका–९ घैलाडुब्बाका ५९ वर्षीय धकलबहादुर थिङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रवीन तामाङ र हल्दिबारी गाउँपालिका–३ का ६६ वर्षीय रामबहादुर कन्दङवालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए।
संखुवासभाको पाँचखपन नगरपालिका–५ का कृष्णबहादुर तामाङले कात्तिक २७ गते बिरामी पत्नीलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल ल्याएका थिए। अस्पतालमै भेटघाट भएका अपरिचित व्यक्तिले गाउँले दाजुभाइको नाता लगाएर सहयोग गर्ने बहानामा झोलाभित्र राखेको १ लाख १० हजार रुपैयाँ चोरिदिए।
उक्त घटनाको अनुसन्धान सुरु गरेको प्रहरी अन्ततः सर्वसाधारणलाई ठगी गर्ने गिरोहको सञ्जालसम्म पुगेको हो। मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले विभिन्न प्राविधिक पक्षको विश्लेषण गर्ने क्रममा गिरोह प्रहरीको फन्दामा परेको बताए। उनका अनुसार कृष्णबहादुरको पैसा विराटबाट चोरी गरेर हिँडेका व्यक्ति अशोक तामाङ हुन्। गिरोहले मोरङसहित झापा र सुनसरीमा पनि ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले गिरोहलाई इटहरीका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको हो। ‘विशेष गरेर हटिया, अस्पताल, मेला, पर्व र भीडभाड बढी हुने ठाउँमा गएर गरगहना लगाएका सोझा र वृद्ध अवस्थाका मानिसहरुलाई सुनजस्तो धातु देखाइ प्रलोभनमा पारेर ठगी गर्ने गरेको पाइयो,’ चिमरिया भन्छन्, ‘यसरी ठगी गर्ने क्रम बढेकाले सबै जना सचेत हुनुपर्ने देखिन्छ। अपरिचित व्यक्तिबाट सावधान हुनुपर्यो।’ उनका अनुसार नक्कली सुनका टिल (बिस्कुट) देखाएर प्रलोभनमा पार्दै सर्वसाधारणले लगाएका गरगहना र उनीहरुसँग भएको पैसा ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
ठगीमा संलग्न गिरोह सीमित समयका लागि होटलमा बस्ने, होटल परिवर्तन गरिरहने, गलत नामहरु बताउने, फ्ल्याट भाडामा लिएर बस्ने, अन्य व्यक्तिका नाममा रहेका मोबाइलका सिम प्रयोग गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ। प्रारम्भिक अनुसन्धानबाट सुनसरीमा ५, मोरङमा ४ र झापामा १ जनामाथि ठगी गरेको पत्ता लागेको छ।
गिरोहबाट ठगीमा पर्नेको संख्या अझै धेरै रहेको र पीडितहरु प्रहरीको सम्पर्कमा आउने क्रम चलिरहेको एसपी चिमरियाले बताए। पक्राउ परेको समूहबाट सुनजस्तो देखिने पहेँलो धातुबाट बनाइएको तिलहरी, हार, मंगलशूत्र, टिल, चन्द्रमा, कानमा लगाउने रिङ, बेरुवा, लकेट, सिक्री, झुम्का, टप, ब्रासलेट, औंठी, चाँदीको पाउजू, जिमाला, कालो पोतेलगायत बरामद भएको उनले बताए।
साथै, २ लाख ७२ हजार ४ स ३० नेपाली र २ हजार ६ स ३० भारती रुपैयाँसमेत बरामद भएको छ। प्रहरीका अनुसार सामान र नगद पक्राउ परेकाहरुको घर तथा कोठाबाट बरामद गरिएको हो। पक्राउ प्रतिवादीविरुद्ध ठगी मुद्दा चलाउन प्रहरीले सोमबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ। कसुर ठहर भएमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ।