तलबको माग गर्दै सम्सीका शिक्षक धर्नामा
सम्सी (महोत्तरी) : गाउँसभाको बन्द सत्र सम्पन्न नहुँदा सम्सी गाउँपालिकाका शिक्षकहरू धर्नामा बसेका छन्। सोमबार बिहानदेखि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू तलब भत्ताको माग गर्दै कार्यालयको मुलगेटमा धर्नामा बसेका हुन्।
पालिकामा बारम्बार आएर तलबको लागि तकेदा गर्दा उधारो आश्वासन मात्र दिँदै आएकोले बाध्य भएर धर्नामा बस्नु परेको नेपाल शिक्षक महासंघ सम्सीका अध्यक्ष रामबाबु यादवले जानकारी दिए।
गाउँसभाको बन्द सत्रमा विवाद हुँदा पालिकाको अर्थतन्त्र पूर्णरुपमा प्रभावित भएको गाउँपालिकाका अध्यक्ष रामनाथ यादवले बताए। जसको कारण पालिकामा कार्यरत कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूको तलब भत्ता साउनयता निकासा हुनका लागि समस्या भएको अध्यक्ष यादवले जानकारी दिए।
७ वटा सामुदायिक विद्यालय रहेको यस पालिकामा विभिन्न तहका गरि ६८ जना शिक्षकहरू कार्यरत रहेका छन्।