कोशीको कानुनमन्त्रीमा भण्डारी नियुक्त
विराटनगर : कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा रेवतीरमण भण्डारी सोमबार नियुक्त भएका छन्। उनी नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक हुन्।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानसभा सदस्य एवं एमालेका प्रदेशसभा सदस्य भण्डारीलाई मन्त्री नियुक्त गरे। उनले सोमबार साँझ नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। भण्डारी सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ को ‘क’बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्। विवादास्पद जापान भ्रमणका कारण तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले कात्तिक २१ गते राजीनामा दिएका थिए। त्यसयता आन्तरिक मामिला तथा कानुन मन्त्रालय खाली थियो।
अधिकारीमाथि मानव तस्करीको आरोप लागेपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो। तर, मानव तस्करीमा संलग्न भएको प्रमाण फेला नपरेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनीविरुद्ध मुद्दा नचल्ने निर्णय गर्यो।
नवनियुक्त मन्त्री भण्डारीले कोशी प्रदेशमा बन्न बाँकी ऐन निर्माण गर्ने र ऐन कार्यान्वयन गर्ने आवश्यक नियमावली निर्माण गर्ने बताएका छन्। उनले नयाँ कानुन बनाउनुपर्ने भए प्रदेशसभामार्फत पहल लिने प्रतिबद्धता पनि जनाए। कोशी प्रदेशको यातायात मन्त्रालय पनि आन्तरिक मामिला तथा कानुनमन्त्रीले नै सम्हाल्दै आएका छन्। भण्डारीले यातायात क्षेत्रलाई पारदर्शी बनाउन पहल गर्ने बताए।
कोशीमा भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका छन्। नेपाली कांग्रेसको डाक्टर शेखर कोइराला पक्षले मन्त्रीले नाम नदिएका कारण कांग्रेस नेता राईले दोहोरो जिम्मेवारी सम्हालिरहेका हुन्।
कोइराला पक्षले मन्त्रीको नाम कहिले दिन्छभन्ने टुंगो छैन। स्वास्थ्यमन्त्रीको नाम प्राप्त नभएका कारण सोमबार भण्डारीले मात्रै शपथ लिए।