कर्णालीका खानेपानी योजनामा बजेटको अभाव हुँदैन : मन्त्री यादव
वीरेन्द्रनगर : खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीका कुनै पनि खानेपानी आयोजनाहरूमा बजेटको अभाव नहुने बताएका छन्। सुर्खेतमा ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको उद्घाटन गर्दै उनले नागरिकहरूलाई सहज खानेपानीको सेवा विस्तार गर्न आफूले बजेटको व्यवस्थापन गर्न निर्देशन दिइसकेको बताएका हुन्।
“कर्णाली नेपालकै विकट प्रदेश हो। यहाँका नागरिकहरुलाई प्रयाप्त खानेपानीको सुविधाबाट बञ्चित छन्। म संघीयताका लागि लडेको सिपाई हुँ। कर्णाली र मधेस जस्तै भूगोलका लागि संघीयता आवश्यक हो।” उनले भने, “म व्यक्तिगत रुपमा पनि कर्णालीलाई माया गर्ने व्यक्ति हो। त्यसैले मेरो पहलमा कर्णालीमा प्रक्रियामा रहेका सबै खानेपानी आयोजनाहरूमा पर्याप्त बजेटको सुनिश्चितता गर्न सम्बन्धित ठाँउमा निर्देशन दिइसकेको छु। मन्त्रालयको सचिव र विभागका माहानिर्देशकलाई निर्देशन दिएको छु।”
उनले आम नेपालीहरूलाई स्वच्छ खानेपानीको सुविधा दिन र खानेपानी सेवाको दिगोपनका लागि मन्त्रालयले पहल थालेको बताए। स्वच्छ खानेपानी सेवा पाउने अधिकार सबै नागरिकहरूको भएकाले विकासमा पछाडि परेको समुदायलाई झन् पहिलो प्राथमिकता दिने उनले बताए।