ज्येष्ठ नागरिक आश्रमलाई सहयोग
नुवाकोट : नुवाकोटको देवीघाटस्थित एक वृद्धाश्रमलाई सूर्यगढी गाउँपालिकाले विविध सामग्रीहरू प्रदान गरेको छ। विदुर नपा ५ देवीघाटमा रहेको देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रित वृद्धवृद्धाहरुका लागि सूर्यगढी गापाले रकमका सार्थ जिन्सी सहयोग गरेको हो।
देवीघाट वृद्धाश्रममा पुगेर सूर्यगढी गापाका अध्यक्ष सन्तवहादुर घलेले प्रतिष्ठानमा आश्रित वृद्धवृद्धाको लागि भोजन तथा प्रशासनिक व्यवस्थापन खर्चको लागि एक लाख रुपैयाँका साथै सामग्रीहरु हस्तान्तरण गरेका हुन्। आश्रित ज्येष्ठ नागरिकहरूको लागि थप एक लाख रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरिएको सूर्यगढी गापाले जनाएको छ।
वृद्धवृद्धाहरूलाई न्यानो कपडा वितरण गर्दै सूर्यगढी गापा अध्यक्ष सन्तबहादुर घलेले आगामी दिनमा पनि प्रतिष्ठानलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले जेष्ठ नागरिक अनुभवका खानी भएका कारण उनीहरूबाट शिक्षा ग्रहण गरेर पुस्तान्तरणको क्रममा आउँदो पुस्ताले जीवनोपयोगी कार्यमा लगाउन आवश्यक रहेको बताए।
अध्यक्ष घलेले आर्थिक सहयोग रकम देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाल लगायतलाई हस्तान्तरण गरेका हुन्। नेपालले ज्येष्ठ नागरिकका हकमा सरकारले उचित ध्यान दिन आवश्यक रहेको बताए।
सो प्रतिष्ठानमा हाल ३६ जना ज्येष्ठ नागरिकहरूले आश्रय लिई बसिरहेका छन् भने आश्रितमध्ये सूर्यगढी गाउँपालिकाका ४ जना रहेका छन्।