सजियो जनकपुर, सुरु भयो विवाह महोत्सव
जनकपुरधाम : जनकपुर अहिले दुलही झैं सजिएको छ। चारैतिर सरसफाइ गरेर चिटिक्क पारिएको छ। देशी, विदेशी पाहुनाको स्वागतमा जानकी मन्दिरका महन्थ र पुजारीहरू लागिसकेका छन्।
‘श्री सीताराम विवाहपञ्चमी महोत्सव’ आइतबारबाट विधिवत् रूपमा सुरु भइसकेको छ। महोत्सवलाई भव्य र सभ्य बनाउन मन्दिरका प्रशासक, प्रदेश तथा स्थानीय सरकार र प्रशासनिक निकाय लागि परेका हुन्।
त्रेता युगमा मिथिलाकी राजकुमारी सीता र अयोध्याका राजकुमार रामबीच जुरेको वैवाहिक सम्बन्धलाई जनकपुरवासीले प्रत्येक वर्ष वैवाहिक वार्षिकोत्सवको रूपमा मनाउँदै आएका छन्। मिथिलामा छोरीको विवाहको बेला गरिने सम्पूर्ण विधि र प्रक्रियाहरू यस महोत्सवमा गरिन्छ। सप्ताहव्यापी विवाह महोत्सवको मुख्य आकर्षण विवाहपञ्चमी अर्थात् बिहे हुने दिन हुन्छ। यस वर्ष मंसिर २१ गते शुक्रबार रामसीताका विवाह गरेर विवाहपञ्चमी मनाइँदै छ।
विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन आइतबार नगरदर्शन कार्यक्रम गरिएको हो। भगवान् राम त्रेता युगमा जब आफ्ना गुरु महर्षि वशिष्ठका साथ जनकपुर आएका बेलालाई सम्झना गर्दै नगरदर्शन कार्यक्रम गर्ने गरिन्छ। दोस्रो दिन फूलबारी लीला मनाइयो। जसमा भगवान् राम र सीताको पहिलो भेट फूलबारी (फूलको बगैंचा) मा भएको स्मरणमा फूलबारी लीला गरिन्छ। तेस्रो दिन धनुष यज्ञ मनाउने गरिन्छ। राजा जनकले छोरी सीताको विवाहका लागि निकै महत्वपूर्ण सर्त राखेका थिए। जसअनुसार जनकसँग भएको भगवान् शिवको धनुष उठाएर प्रत्यन्चा चढाउन सफल हुने महापुरुषसँग नै सीताको विवाह गर्ने तय गरिएको थियो।
रामायणमा उल्लेखित यस प्रसंगका अनुसार जनकपुरको रंगभूमि (हालको बारहबिग्घा मैदान) मा जनकले धनुष यज्ञको आयोजना गरे। सो यज्ञमा जनकको सर्तलाई चुनौती दिन महान पराक्रमी राजाहरूको सहभागिता थियो। महर्षि वषिष्ठ पनि आफ्ना शिष्यहरू राम र लक्ष्मणलाई लिएर सो यज्ञमा सहभागी हुन पुगेका थिए। सोही क्रममा धनुषमा प्रत्यन्चा चढाउन त के, कुनै पनि राजाहरूले शिवको धनुषलाई हल्लाउनसमेत सकेनन् तर, रामले धनुषलाई सजिलै गरी उठाए। प्रत्यन्चा चढाउन खोज्दा धनुष तीन टुक्रामा भाँच्चियो। यसरी रामले राजा जनकको सर्त जिते र सीतासँग उनको विवाह निश्चित भयो।
महोत्सवको चौथो दिन बुधबार तिलकोत्सव कार्यक्रमको आयोजना हुन्छ। राम र सीताको विवाह तय गर्न दुवै पक्षका अभिभावकहरूको सहभागितामा रामलाई तिलक चढाउने अर्थात् कोसेलीहरू दिने परम्परा रहिआएको छ । यस कार्यक्रमको आयोजना राम मन्दिर परिसरमा गरिन्छ। पाँचौं दिन मंसिर २० गते मटकोर मनाइन्छ। पवित्र गंगासागर पोखरीबाट माटो र जल ल्याएर माता सीताको विवाह मण्डपलाई शुद्ध पार्ने काम हुन्छ र मंसिर २१ गते रामसीताको स्वयंमवरपश्चात् जानकी मन्दिरको प्रांगणमा बनेको भव्य मण्डपमा विवाह गरिन्छ।
विवाहको अर्को दिन रामका जन्तीहरूको बिदाइ कार्यक्रम अर्थात् रामकलेवा गरिसकेपछि महोत्सवको समापन हुन्छ। ‘यस वर्ष विवाह समारोहमा अयोध्याबाट ५ सयभन्दा बढीको संख्यामा जन्ती आउने छन्,’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले अन्नपूर्णकर्मीसँग कुरा गर्दै भने, ‘प्रत्येक पाँच वर्षको अन्तरालमा अयोध्याबाट विधिवत् रूपमा जन्ती आउने गर्छ। जन्तीको भव्य स्वागत हुनेछ। हामीले सबै तयारी गरिसकेका छौं।’
विवाहपञ्चमी महोत्सवलाई सुरक्षित र सभ्य रूपमा सम्पन्न गराउन प्रशासनले संयुक्त सुरक्षा रणनीति बनाएर अघि बढेको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी गराएका छन्। मेला व्यवस्थापन गर्न नेपाल प्रहरीका १ हजार ४ सय ५१, सशस्त्र प्रहरीका ७ सय ५० र नेपाली सेना विभिन्न भूमिकामा रहने गरी २ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ।
‘हामीले साताव्यापी मेलाको व्यवस्थापनको विशेष योजना बनाएका छौं। जसअन्तर्गत विशिष्ट पाहुनाहरूको सुरक्षा, सवारी व्यवस्थापन, अपराधिक गतिविधि नियन्त्रण, आउन सक्ने सुरक्षा संवेदनशीलताको पहिचान लगायतका विभिन्न विषयहरू छन्,’ उपरीक्षक तिवारी भन्छन्, ‘यो महोत्सवमा सहभागी हुन आउने हरेक व्यक्ति जनकपुरका पाहुना हुन् र उहाँहरूको सुरक्षाका लागि हामी तत्पर छौं। यसमा स्थानीय नगरवासीको सहयोग पनि अपरिहार्य छ।’