आर्थिक सुधारका लागि पर्यटन
आज विश्वको अर्थतन्त्र शिथिल अवस्थामा छ। नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन। हाल बैंकहरूमा पैसा थुप्रिएको छ। तापनि यहाँका उद्यमी व्यवसायीहरूले चाहे जति ऋण लिई विभिन्न व्यवसाय सञ्चालनबाट मुनाफा गरेर बैंकको ऋण तिर्ने अवस्था छैन। फलतः यहाँको अर्थतन्त्र चलायमान हुन सकेको छैन।
आयातभन्दा निर्यात बढी घटेकोले अर्थतन्त्र सन्तोषजनक अवस्थामा छैन। विगतमा जस्तै चालू खर्च बढे पनि पुँजीगत खर्च तथा राजस्व अपेक्षाअनुरूप बढाउन सकिएको छैन। विभिन्न विकास कार्यहरू सञ्चालन गर्न आवश्यक वैदेशिक ऋण लिन सरकारले नै ऋण लिनु परेको छ। यस तथ्यबाट अर्थतन्त्र संकटमा रहेको प्रतीत हुन्छ। यस्तो अवस्थामा आर्थिक सुधारको लागि पर्यटन विकासले महŒवपूर्ण भूमिका खेल्न सक्छ। पर्यटकहरू विश्वका विभिन्न देशमा मनोरञ्जन एवं अध्ययन अनुसन्धानका लागि भ्रमण गर्छन्। यसरी भ्रमण गर्दा उनीहरूलाई आनन्द मात्र प्राप्त हुँदैन ज्ञानोपार्जन पनि हुन्छ। कोभिड–१९ को महामारीपछि विश्वको पर्यटन उद्योग केही खस्किए पनि यसबाट हुने वार्षिक आम्दानी सरदर ८ सय अर्ब डलर छ। जसमध्ये नेपाललगायत अन्य दक्षिण एसियाली देशहरूले एक प्रतिशत मात्र आर्जन गर्छन्। केही वर्षयता छिमेकी राष्ट्र चीनले उक्त उद्योगबाट निकै फाइदा प्राप्त गर्न थालेको छ।
विश्वमा हवाई यातायातको धेरै विकास भएको छ। यस्तो यातायातका साधन छिटोछरितो एवं आरामदायक भएकाले धेरैजसो पर्यटकहरू वायुसेवा रुचाउँछन्। यही कारणले सन् १९९० को दशकदेखि हवाई सेवा रुचाउने पर्यटकहरूको संख्या प्रचुर मात्रामा बढेको छ।
एक आधिकारिक तथ्यांकअनुसार विश्वका डेढ अर्ब पर्यटकहरू हवाई मार्गबाट भ्रमण गर्छन्। यसले हवाई यातायात विकासको शुभसंकेत गर्छ। एसिया र प्रशान्त क्षेत्रका हवाई सेवा कम्पनीहरूले आफ्ना पारवहन क्षमता १० प्रतिशत बढाएका छन्। एक अनुमानअनुसार यी कम्पनीहरूले सम्पूर्ण पर्यटकहरूमध्ये झन्डै ८० प्रतिशतलाई सेवा प्रदान गरी प्रशस्त आम्दानी गर्छन्। यसबाट पर्यटन उद्योगको प्रवद्र्धनमा ठूलो सघाउ पुगेको छ। अहिले विभिन्न मुलुकहरूबीच उजागर नभएका भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिक आदि तथ्यहरू पत्ता लगाई प्रचारप्रसार गर्ने प्रतिस्पर्धा बढिरहेको छ।
भौगोलिक विविधताको सम्बन्धमा नेपाल धनी छ। विश्वकै उच्च हिमशिखर ८ हजार ८ सय ४८ मिटरको उचाइमा अवस्थित सगरमाथालगायत ८ हजार मिटरमाथिका ८ वटा हिमाल छन्। यसबाहेक यहाँ मधेस र समथर मैदान, भित्री मधेस, स–साना मैदान, उपत्यका, टार र खोंचहरू प्रशस्त छन्। यिनीहरूले पर्यटकहरूलाई आकृष्ट गर्छन्। भूगोलविद्हरूका अनुसार नेपालले विश्वको कुल भूभागको शून्य दशमलव शून्य एक प्रतिशत भूमि ओगटेको छ भने एसिया महादेशको शून्य दशमलव तीन प्रतिशत भूभाग ओगटेको छ। जहाँ प्रशस्त मात्रामा प्राकृतिक चिजहरू पाइन्छन्। जसले पर्यटकहरूलाई मनोरञ्जन प्रदान गर्छन्।
नेपाल विभिन्न किसिमका जडीबुटीजन्य वनस्पतिको लागि प्रसिद्ध छ। सन् १९७० देखि सन् १९८० सम्म गरिएको एक अध्ययनअनुसार यहाँ ५ हजार ६७ प्रकारका वनस्पति छन्। जसको हालसम्म पनि उपयुक्त किसिमबाट सदुपयोग गर्न सकिएको छैन। संरक्षण गर्न सकेमा भविष्यमा यहाँ आउने पर्यटकहरूको संख्या बढ्ने कुरा नकार्न सकिँदैन।
वस्तुतः नेपाल प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधताको संगमस्थल हो। यहाँको सांस्कृतिक एवं धार्मिक विरासत शताब्दीऔं पुराना मात्र नभई अनुपम पनि मानिन्छ। समाजको संरचना विभिन्न जातजाति, धर्म, संस्कार र संस्कृतिको महŒवपूर्ण समझदारी एवं सहकार्यमा जीवन्त रहेको छ। संस्कार, दिनचर्या र सहिष्णुता अन्य देशहरूको लागि उदाहरणीय मात्र नभई अनुकरणीय पनि हुन सक्छन्। विभिन्न जातजाति तथा समुदायको पहिचान र रहनसहन उनीहरूको नाचबाट प्रतिविम्बित हुन्छन्। यो बाहेक यहाँको कला, शिल्प, लोकगीत, वाद्यवादन, भाषा, साहित्य, दर्शन, धर्म, उत्सव, खाना र पेयपदार्थहरूबाट पनि मुखरित हुन्छन्।
पर्यटन उद्योगलाई सरकारको प्राथमिकतामा हालसम्म पनि पर्न नसक्नु विडम्बना हो। वास्तवमा उक्त उद्योगको विकासका लागि यहाँका प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाहरूको संवर्धन तथा प्रवर्धन गर्न आवश्यक छ। खर्चको हिसाबले नेपाल एक सस्तो देश मानिन्छ। तर, प्रचार–प्रसारको कमीले यहाँ सोचेअनुरूप पर्यटकहरू आउँदैनन्।
वस्तुतः नेपालमा पदयात्रा, जलयात्रा, तालतलैया बिहार, प्याराग्लाइडिङ, बन्जी जम्पिङ, जंगल सफारी, गुफाको यात्रा आदि गर्न सकिने भएकोले प्रत्येक वर्ष प्रचुर मात्रामा पर्यटकलाई आकर्षण गर्न सकिन्छ। पुर्खाले आर्जेका र प्रकृतिले दिएको प्रचुर सम्पदाको सदुपयोग गर्नसके भविष्यमा नेपालमा पर्यटन उद्योगबाट धेरै फाइदा लिन सकिन्छ। परन्तु, यसका लागि यहाँको राजनीतिक नेतृत्वमा दूरदर्शी सोच एवं दृढ इच्छाशक्तिका आवश्यकता छ। यहाँको ठोस पर्यटन विकासका लागि एकातिर ऐतिहासिक पर्यटकीयस्थल, गढी, किल्ला, दरबार आदिको सम्बन्धमा व्यापक प्रचारप्रसार गर्न आवश्यक छ। अर्कोतिर संरक्षण एवं सहज पहुँचका लागि व्यवस्था गर्न पनि उत्तिकै जरुरी छ। योबाहेक यहाँ पर्वतीय पयर्टन, ग्रामीण पर्यटन, स्वास्थ्य पर्यटन, कृषि पर्यटन, खेल पर्यटन आदिको विकास गर्न पनि आवश्यक छ।
यथार्थतः नेपालमा आधुनिक संरचनाको विकास गरी बढी पर्यटकहरू आकर्षण गर्न सम्भव छैन। यहाँको परम्परा, लोपोन्मुख भाषा, कला, संस्कृति आदिको संरक्षण एवं प्रवद्र्धनको लागि एक राष्ट्रिय स्तरको र सात प्रदेशमा प्रदेश स्तरीय सांस्कृतिक संग्रहालयहरू स्थापना गर्न सके उक्त उद्योगको विकासमा थप सघाउ पुग्नेछ।
कोभिड–१९ को महामारी सुरु हुनुअघि अर्थात् सन् २०१९ मा यहाँ विदेशी पर्यटकहरूको आगमन २ प्रतिशतले बढेको थियो भने उनीहरूको औसत बसाइ अवधि १५ दशमलव १ प्रतिशत पुगेको थियो। योबाहेक उनीहरूको प्रतिदिन खर्च विगतको तुलनामा केही वृद्धि भई ६५ अमेरिकी डलर पुगेको थियो। तर, कोभिड–१९ को चरणबद्ध महामारीपश्चात् सन् २०२० मा विदेशी पर्यटकहरूको आगमनमा झन्डै ८१ प्रतिशत कम भएको कुरा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रकाशित एक तथ्यांकले जनाएको छ। उक्त अवधिमा हवाई मार्ग र स्थलमार्गबाट नेपाल भित्रिने विदेशी पर्यटकहरूको संख्या २ लाख ३० हजारमा सीमित भयो। यसबाट यहाँको अर्थतन्त्रमा नकारात्मक प्रभाव प¥यो। नेपाल पर्यटन बोर्डले केही समयअघि सार्वजनिक गरेको एक आँकडाअनुसार यहाँको पर्यटन क्षेत्रले प्रतिदिन सरदर १० अर्बबराबरको क्षति बेहोर्नु परेको थियो। यति मात्र नभई उक्त क्षेत्रमा संलग्न लगानीकर्ता तथा कामदारहरूको भविष्य अझसम्म सुनिश्चित बन्न सकेको छैन।
सरकारले वर्षौंदेखि पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिँदै आए पनि पर्यटकीय पूर्वाधारहरूको कमी, आर्थिक कूटनीतिको न्यून उपयोग, नयाँ सम्भावित क्षेत्रहरूको खोजी एवं विस्तार हुन सकेको छैन। हार्डवेयरमा बढी ध्यान दिई सफ्टवेयर ओझेलमा पर्नाले उक्त क्षेत्रको विकासमा समस्याहरू देखा परेका छन्। नेपालमा पर्यटन विकासका धेरै सम्भावना भए पनि यसलाई ग्रामीण स्तरसम्म पु¥याउन नसक्नाले अपेक्षाअनुसारको फाइदा लिन सकिएको छैन। योबाहेक पर्यटन क्षेत्रलाई विविधीकरण गर्न नसक्दा धेरैजसो विदेशी पर्यटकहरू काठमाडौं, चितवन, पोखरा, लुम्बिनी र जनकपुरमा केन्द्रित छन् भने बाँकी पर्यटकीय स्थलहरू ओझेलमा परेका छन्। एकातिर यहाँ विदेशी पर्यटकहरूका लागि सुविधायुक्त होटल तथा रिसोर्टहरूको संख्या एवं गुणस्तर दुवै कमजोर छन् भने अर्काेतिर यहाँको प्रमुख गन्तव्यस्थल सुविधायुक्त यातायात प्रणालीले जोड्न सकिएको छैन। बेलाबेलामा गरिने बन्द, हडताल र कमजोर शान्ति सुरक्षाको कारण यहाँको पर्यटन विकासमा समस्या थपिएको छ। जबसम्म पर्यटकहरूको सुरक्षाको प्रत्याभूत हुँदैन, तबसम्म उनीहरूको संख्या एवं बसाइ अवधि बढ्न सक्दैन। र यो देशलाई खासै फाइदा हुँदैन। भरपर्दो सूचना प्रवद्र्धन केन्द्रहरूको कमीको कारण यहाँका कला, संस्कृति एवं प्राकृतिक दृश्यहरूको बारेमा राम्ररी प्रचारप्रसार गर्न सकिएको छैन। त्यसैले पनि यहाँको पर्यटन उद्योगमा सोचेअनुरूप विकास गर्न सकिएको छैन।