प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेटवार्ता गरेका छन्। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँग बेइजिङको देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटघाटका क्रममा उनीहरूबीच आपसी सहकार्य,दुई देशबीचको सम्बन्धलगायत विषयमा छलफल भएको थियो। भेटका क्रममा सीले प्रधानमन्त्री ओलीसँग नेपालको पछिल्लो राजनीतिक,आर्थिक र सामाजिक अवस्थाका बारेमा चासो राखेका थिए।
राष्ट्रपति सीसँगको भेटवार्ताअघि प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री लीबीच भेटवार्ता भएको थियो । भेटका क्रममा उनीहरूबीच विभिन्न ८ वटा विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा मंगलबार हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट बेइजिङ गएका थिए।
चौथो पटक गत असारमा प्रधानमन्त्री बने यता एमाले अध्यक्ष ओलीको यो चीन भ्रमण राजनीतिक हिसावले पहिलो हो । प्रधानमन्त्रीको हैसियतमा ओली २०७३ र २०७५ मा चीन गएका थिए । असारमा प्रधानमन्त्री बनेयता भने प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क गएका थिए ।