एक महिना नपुग्दै उप्कियो जोमसोम–ठिनी सडकको कालोपत्रे
जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिकाका पाँचवटै वडा जोड्ने घरपझोङ रिङरोड सडकमा बिच्छ्याइएको कमसल कालोपत्रे एक महिना नपुग्दै उप्किएको छ। रिङरोड सडकअन्तर्गत जोमसोम-ठिनी ३ किमि दूरीमा कात्तिक महिनामा बिच्छ्याएको कालोपत्रे उप्किएको हो।
गण्डकी प्रदेश सरकारअन्तर्गत मुस्ताङको जोमसोम, ठिनी, ढुम्बाताल, सम्ले छैरो र चिमाङ लगायतका गाउँहरू जोड्ने ‘एक निर्वाचन क्षेत्र, एक सडक’ २०७६ कात्तिक २१ गते बन्दना भगवती जेभी कन्स्ट्रक्सनले २१ करोड ४३ लाख १३ हजार लागतमा ठेक्का सम्झौता गरेको हो। सुरुवाती ठेक्का सम्झौताअनुसार घरपझोङ रिङरोड सडक २०७७ माघ महिनामा सकिनुपर्ने थियो। तर, रिङरोड सडक निर्माणमा ठेकेदार कम्पनीको चरम बेवास्ताका कारण पाँच पटकसम्म म्याद थप भइसक्दासमेत सम्पन्न हुन सकेको छैन।
गण्डकी प्रदेश सरकारले तत्कालीन समय घरपझोङ गाउँपालिकाको पर्यटकीय गाउँ ठिनी हुँदै ढुम्बाताल, ढुम्बा गाउँ, छैरो र चिमाङ जोड्ने १० दशमलव ५ किमि सडक योजनाको ठेक्का खुलाएको थियो। ठेक्का सम्झौताअनुसार बन्दना भगवती जेभी कन्ट्रक्सनले रिङरोड सडकको जोमसोम-ढुम्बातालसम्म ड्रेनसहित ८ मिटर चौडा सडकमा ५ किमि प्रिमिक्स कालोपत्रे गर्ने र बाँकी ५ दशमलव ५ किमि दूरीमा ग्राभेल सडक विस्तार गर्ने सम्झौतामा उल्लेख छ।
जीर्ण आयोजनाअन्तर्गत एक वर्ष म्याद थप पाएको घरपझोङ रिङरोड सडकअन्तर्गत जोमसोम-ठिनी ३ किमि दूरी निर्माण कम्पनीले जसोतसो कालोपत्रे गरेको छ। तर, कम्पनीले गरेको कालोपत्रे कमसल खालको प्रिमिक्स कालोपत्रे भएकाले आधा दर्जन स्थानमा कालोपत्रे उप्किएको छ। उक्त रिङरोड सडकको ठिनी गाउँसम्म विस्तार गरिएको कालोपत्रे गुणस्तरहीन भएको स्थानीय नागरिकको गुनासो छ। उनीहरूले ठेकेदारले काम चलाउ कालोपत्रे गरेको र अनुगमन गर्ने कार्यालयले उपयुक्त ढंगले सडकको अनुगमन नगरेको आरोप लगाएका छन्।
यता, पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इन्जिनियर घनश्याम रोक्कामगरले कालोपत्रे सडकमा केही समस्या आएको देखिएमा निर्माण कम्पनीले पुनः कालापत्रे गराउने सर्त रहेको जानकारी दिए। ‘ठेकेदारले अनुकूल समयमा काम गरेन, कामलाई ढिला सुचारु गर्यो’, सूचना अधिकारी ई. रोक्कामगरले भने, ‘हामीले काम गर्छु भनेपछि नगर भन्न सकिएन, ठिनी गाउँसम्म जसोतसो कालोपत्रे गरौं न भनेर गर्न दियौं, चिसोका कारण कालोपत्रे बिग्रिएको हुनसक्छ।’
सूचना अधिकारी इन्जिनियरले घरपझोङ रिङरोड सडकको भौतिक प्रगति ७६ प्रतिशत सम्पन्न भएको जानकारी दिए। उनले रिङरोड सडकका लागि बजेट कम भएकाले सडक निर्माणको काममा ढिलासुस्ती भएको जनाए। पूर्वाधार विकास कार्यालयबाट सञ्चालित मुस्ताङको घरपझोङ रिङरोड सडकमा ठेकेदारको चरम बेवास्ताका कारण सडक विस्तारको विकासे काम निकै ढिलो हुन पुगेको हो। पछिल्लो समय सार्वजनिक खरिद नियमावलीको १३औं संशोधन आएपछि रिङरोड सडकको म्याद एक वर्ष थपिएको छ।
मुस्ताङको घरपझोङ रिङरोड सडकमा अझै सडकको स्ट्रक्चर, ड्रेन निर्माण र सडक फिनिसिङका कामहरू बाँकी छन्। रिङरोड सडक सम्पन्न भएको अवस्थामा घरपझोङको ठिनी, ढुम्बा, सम्ले, छैरो र चिमाङ गाउँका कृषि उपजको बजारीकरणमा निकै सघाउ पुग्ने थियो। जोमसोमदेखि ठिनीसम्म ३ किमि काम चलाउ कालोपत्रे सम्पन्न गरेको निर्माण कम्पनी बन्दना भगवती जेभी कन्स्ट्रक्सनले अहिले बाँकी काम अलपत्र छोडेको छ।