गाँजा बोकेको ट्रकसहित चारजना पक्राउ
धरान : सुनसरीको कोशी गाउँपालिका-७, हरिपुरस्थित पूर्व पश्चिम राजमार्ग गाँजा बोकेको ट्रकसहित चारजना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। कालो त्रिपालले पछाडिको भागमा छोपिएको प्रदेश १-०२-००२ ख ०४१४ नम्बरको ट्रकसहित चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।
प्रहरीले ट्रक धनी समेत रहेका चालक धनकुटाको शहिदभूमि गाउँपालिका-४ का ३० वर्षीय जयप्रकाश राई, भोजपुरको पौवादुम्बा गाउँपालिका-६ को २२ वर्षीय समिर राई, सुनसरीको कोशी गाउँपालिकाको २५ वर्षीय भक्ति उपनामका बिहारी मुखिया र २२ वर्षीय रुपेश यादव पक्राउ परेका हुन्। प्रहरीले ट्रकसहित ११ वटा बोरामा लुकाइराखेको ३ सय ४० केजी गाँजा बरामद गरेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए।
चेकजाँच गर्ने क्रममा चालक राई ट्रक छाडेर भागेपछि ट्रकको नम्बरका आधारमा यातायात कार्यालयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए। पक्राउ परेका चारै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप अनुमति लिएर अनुसन्धान थालिएको उनले बताए।