नवलपरासीको पण्डितपुरमा प्राचीन संरचना
परासी : नवलपरासीको रामग्राम नगरपालिका-१८ मा रहेको पण्डितपुर क्षेत्रमा भइरहेको उत्खननका क्रममा प्राचीन संरचनाहरू फेला पर्न थालेका छन्।
यसअघि गरिएका भू-भौतिक सर्वेक्षण र उत्खननबाट फेला परेका पुरातात्त्विक संरचनाका आधारमा अहिले त्यस क्षेत्रको उत्खनन सुरु गरिएको हो। चार दिनअघिबाट पुरातत्व विभागको टोलीले उत्खनन सुरु गरेको हो। पण्डितपुर गौतम बुद्धको मावली क्षेत्र (कोलीय गणराज्यको क्षेत्र) रहेको भन्दै विभिन्न समयमा सर्वेक्षण र उत्खनन हुँदै आएको छ।
विगतको उत्खनन र सर्वेक्षणका क्रममा फेला परेका भग्नावशेष र संरचनाका आधारमा पण्डितपुर कोलीय गणराज्यको एउटा सहर रहेको तथ्य फेला परेको ज्ञवालीले बताए। त्यस क्षेत्रको आर्थिक वर्ष २०६८/६९ देखि आर्थिक वर्ष ०७२/०७३ सम्म उत्खनन गरिएको थियो भने आर्थिक वर्ष ०७५/०७६ देखि आर्थिक वर्ष०८०/८१ सम्म भू-भौतिक सर्वेक्षण गरिएको थियो। ६० बिघा क्षेत्रफलमा फैलिएको त्यस क्षेत्रमा अहिलेसम्म ३२ बिघा क्षेत्रफलमा भूभौतिक सर्वेक्षण गरिएको ज्ञवालीले जानकारी दिए।
हालसम्म गरिएको भू-भौतिक सर्वेक्षणका क्रममा त्यस क्षेत्रमा चक्राकार सहरी योजनामा बनेको प्राचीन सहरको भग्नावशेष फेला परेको थियो। विगतमा उत्खनन गर्दा प्राप्त ‘डेटिङ नमुना’ को बेलायतमा परीक्षण गर्दा इसापूर्व छैटौं शताब्दीसम्मको बुद्धको समकालीन सांस्कृतिक इतिहास पत्ता लागेको पुरातत्वविद् ज्ञवालीले बताए।
बुद्धको समकालीन र भू-भौतिक सर्वेक्षणमा प्राचीन सहरको विशेषता पत्ता लागेकाले यस क्षेत्रको महत्व थप बढेर गएको ज्ञवालीको भनाइ छ। कोलीय गणराज्य अन्तर्गत विभिन्न ठाउँमा सहरहरू फैलिएको र ती सहरहरू मध्येको एक सहर पण्डितपुरमा रहेको पुष्टि भइसकेकाले थप इतिहास पत्ता लगाउन अहिले उत्खनन सुरु गरिएको ज्ञवालीले जानकारी दिए।
अहिलेको उत्खननले पण्डितपुर सहर मात्र थियो वा कोलीय गणराज्यको राजधानी नै थियो भन्नेमा पुष्टि गर्ने आधार मिल्नेमा विश्वास लिइएको छ। त्यस क्षेत्रमा अधिकांश जग्गा निजी रहेको र घर तथा अन्य भौतिक संरचना निर्माण भइसकेकाले उक्त जग्गाको अतिग्रहण गरी उत्खनन कार्यलाई अघि बढाउनु पर्ने बताइएको छ। उत्खनन तीन हप्तासम्म चल्ने छ।