बाल मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ कार्यक्रम
काठमाडौं : बाल मस्तिष्क पक्षघात भएका बालबालिकाका सहयोगार्थ मंगलबार धुलिखेल अस्पतालमा ‘फन्ड रेजिङ’ कार्यक्रम सञ्चालन गरिएको छ।
विश्व अपांगता दिवसका अवसरमा अस्पतालको फिजियोथेरापी डिपार्टमेन्ट, काभ्रेको लायन्स क्लब र काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको लियो क्लबको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो। ‘समावेशी र दिगो भविष्यका लागि अपांगता भएका व्यक्तिहरूको नेतृत्व विस्तार गर्दै’ भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको हो।
कार्यक्रममा फुड फेस्टिभल, फेस पेन्टिङ, चित्रकला र फोटो प्रर्दशनीलगायतका २० वटा स्टल राखिएका थिए। काठमाडौं विश्वविद्यालयकी लेक्चरर एवं बाल फिजियोथेरापिस्ट विशेषज्ञ डा. स्मिता केसीले कार्यक्रमबाट संकलन गरिएको रकमबाट बाल मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि धुलिखेल अस्पतालमा रक क्लाइम्बिङ वाल निर्माण गरिने जानकारी दिइन्। रक क्लाइम्बिङ वालले बालबालिकालाई सक्रिय रहन र उनीहरूको ढाडको व्यायाम गर्न मद्दत मिल्ने केसीको भनाइ छ।
बनेपास्थित काभ्रे बहिरा विद्यालयका श्रवण शक्ति गुमाएका १० जना विद्यार्थीले बनाएका शुभकामना कार्ड र ब्रासलेट अस्पताललाई निःशुल्क प्रदान गरेर सहयोग गरेका थिए। काठमाडौं विश्वविद्यालय स्कुल अफ मडिकल साइन्सका स्नातक र स्नातकोत्तर तहका १३० विद्यार्थीले कार्यक्रममा सक्रिय स्वयंसेवकको भूमिका निभाएका थिए।
कार्यक्रममा फिजियोथेरापिस्ट, नर्स, विभिन्न विधाका चिकित्सक, विद्यार्थी, स्थानीय बासिन्दा लगायत करिब ४ हजारभन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो।