एसियन बक्सिङ च्यापियनसिपमा सहभागी खेलाडी र प्रशिक्षकलाई सम्मान
काभ्रे : बंगलादेशको ढाकामा सम्पन्न भएको एसियन बक्सिङ च्यापियनसिपमा नेपालबाट सहभागी खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको छ।
शनिबार सम्पन्न जेन जी फाइट नाइट साउथ एसियन बक्सिङ च्यापियनसिपमा नेपालबाट सहभागी खेलाडीहरू र प्रशिक्षकलाई ललितपुरमा सम्मान गरिएको हो।
नेपाल प्रोफेशनल बक्सिङ कमिसन र सिल्क ट्रान्सपोर्ट प्रालिले संयुक्त रूपमा खेलाडीहरूलाई सम्मान गरिएको हो। सम्मान कार्यक्रममा ६१ केजी तौल समूहमा विजयी भएका अनिल कुमार पुन मगर, ५९ केजी तौल समूहमा सहभागी पुरन राई , ६३ केजी तौल समूहमा सहभागी महेन्द्र बहादुर चन्द सहित प्रशिक्षक प्रेम पाउजुलाई नगदसहित कदरपत्रद्वारा सम्मान गरिएको थियो।
सोही अवसरमा वर्ल्ड बक्सिङ काउन्सिलबाट रिङ अफिसियल कोर्स सम्पन्न गरी पहिलो प्रोफेशनल बक्सिङ रेफ्री बन्न सफल भएका राजन प्रजापतिलाई पनि सम्मान गरिएको थियो।
प्रजापतिले बंगलादेशमा सम्पन्न उक्त जेन जी साउथ एसियन बक्सिङ च्यापियनसिपमा रेफ्रिको भूमिका निभाएका थिए। बक्सिङका वरिष्ठ प्रशिक्षकहरू, खेलाडीहरू सहित करिब ४० जनाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सिल्क ट्रान्सपोर्टका प्रमुख कार्यकारी अधिकृत रमेश शेर्पाले व्यावसायिक बक्सिङ, खेलाडी र समग्र खेलकुदको विकासका निम्ति विभिन्न तवरले सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपाल प्रोफेशनल बक्सिङ कमिसनसँग सहकार्य गर्दै जाने बताए।