ब्याटिङ नचल्दा लगातार दुई हार व्यहोरेको विराटनगर

ब्याटिङ नचल्दा लगातार दुई हार व्यहोरेको विराटनगर
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्ग्सको कप्तान सन्दीप लामीछाने आफ्नै प्रदर्शनबाट सन्तोष नभएको बताउँछन्। कारण हो टिमको लागातार २ हार। हारमा पनि दुवै हार निकै फराकिलो हार थिए।

पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटको हार होरेको विराटनगरले दोस्रो खेलमा पुनः सुदूरपश्चिम रोयल्ससँग ९० रनको फराकिलो हार व्यहोरेको छ।

दुवै खेलको कुरा गर्ने हो भने विराटनगरमा धेरै कमी कमजोरी देखियो। पहिलो खेलमा मार्टिन गप्टिलले अर्धशतक बनाउँदा १२७ रनको सम्मानजनक स्कोर बनाएको थियो। दोस्रो खेलमा त त्यो पनि बनेन। गप्टिल डक आउट हुँदा पछि बसिर अहमदले केहीबेर क्रिज सम्हाल्न खोजे, तर भएन। उनी पनि २४ रन बनाएर आउट भए। आजको खेलमा विराटनगर ९२ रनमा अलआउट भयो।

कुनै पनि खेलाडीले ब्याटिङमा स्टेपअप गर्न सकेनन्। आजको खेलमा टिममा नै सन्तुलन नमिलेको जस्तो मैदानमा देखिन्थ्यो। ब्याटर बीचमा कुराकानी नमिल्नु, कुनै पनि ब्याटरले जिम्मेवार ब्याटिङ गर्न नसक्नु विराटनगरको लगातार हारको कारण हो। लगातार २ हारपछि कप्तान सन्दीप भन्छन्, ‘मेरो प्रदर्शन नै सोचेको जस्तो भएको छैन।’ यसो भन्दैगर्दा उनी टिमको प्रदर्शनमा सुधारको आशा भने गर्दै थिए। ‘लगातार २ हारपछि मोमेन्टमचाहिँ छैन। टिममा जितपछिको खुसी छैन,' उनले दोस्रो हारपछिको पत्रकार सम्मेलनमा भने।

मार्टिनबाहेक विराटनगरको कोही पनि खेलाडीले ब्याटिङमा भर पर्ने वातावरण मिलाएनन्। यसो त ओपनिङमा आएका विकेटकिपर ब्याटर लोकेश बमले पनि घरेलु मैदानको फाइदा भने उठाउन सकिरहेका छैनन्। विराटनगरका ब्याटरले निकै सामान्य गल्तीहरू गरिरहँदा विपक्षी टिमलाई सजिलै विकेट दिइरहेको जस्तो भान दोस्रो खेलमा हुन्थ्यो। 

पहिलो खेलमा भन्दा दोस्रो खेलमा केही सुधारिएको प्रदर्शनको अपेक्षा राख्ने गरिन्छ। तर, विराटनगरको भने पहिलो भन्दा दोस्रो खेलमा झनै गल्ती गर्‍यो। ‘हामीले मिडल अर्डरमा सम्हालिएर ब्याटिङ गर्नुपर्ने थियो। तर, हामीले फिल्डिङमा पनि ३० देखि ४० रन बढी दिएका थियौं,’ उनले दोस्रो हारपछि आफ्नो टिमको गल्तीहरू केलाए।

बलिङकै कुरामा पनि विराटनगरमा कप्तान सन्दीपले नै विकेट निकाल्न सकेका छैनन्। आफ्नो प्रदर्शनबाट नै खुसी नभएका कप्तान टिममा जितको खुसी देख्न चाहन्छन्। ‘ड्रेसिङ रुममा खुसीको माहोल छैन। हामी त्यो माहोल टिममा छिट्टै ल्याउनेछौं,' उनले भने। लगातार २ खेलमा टिमको कमजोर प्रदर्शनपछि सन्दीप भन्छन्, ‘चिजहरूको तालमेल भइरहेको छैन। भएको दिन सबै प्रश्नहरू पनि मेटिनेछ।’

आखिर कहाँ चुकिरहेको छ विराटनगर?
विराटनगर किङ्ग्सको कुरा गर्ने हो भने तीनै पक्षमा यो टिममा तालमेलको कमी झल्किएको छ। बलिङमा पनि नेपाली बलर र विदेशी बलरलाई पिचमा दिइने जिम्मेवारी फरक हुन्छ। जसमा विराटनगरले टर्निङ विकेटमा स्पिनर लगाउनुपर्नेमा तीव्र गतिको बलरको प्रयोग गरिरहेको हुन्छ। मंगलबार (आज)को विकेटको कन्डिसन हेरेर टस जित्दासमेत बलिङमा पावरप्लेमा राम्रो गर्दागर्दै पनि मिडल विकेटमा फिल्डिङको गल्तीहरूले गर्दा पनि विराटनगरले ठूलो स्कोरको लक्ष्य पायो। जसमा दोस्रो खेलको मिडल अर्डर र डेथ ओभरको बलरलाई सुदूरपश्चिमका ब्याटरले राम्रोसँग बाउन्ड्री देखाए।

ब्याटरमा नमिलेको कुराकानी र तालमेल पनि अर्को कमजोर पक्ष हो। दुई ब्याटर क्रिजमा हुँदा रन लिने या नलिने कल हुन जरुरी छ। दोस्रो खेलमा हेर्ने हो भने मिडल अर्डर केही सेटल हुने प्रयासमा रहेका राजेश पुलामी मगर र बसिर अहमदबीच तालमेल नमिल्दा राजेश रनआउट हुन पुगे।

ब्याटिङ युनिटमा भने धेरै नै समस्या छ। जसमा विराटनगरले सुधार गर्नुपर्ने र जिम्मेवार भएर खेल्नु जरुरी छ। दोस्रो खेलमा मार्टिन डक आउट हुनेवित्तिकै आजको खेलमा अकिबलाई स्वास्थ्य समस्या देखिनु पनि विराटनगरको स्कोर कम हुनुको एक कारण मान्न सकिन्छ। अकिबलाई फुड पोइजनिङ भएका कारण उनले खेल्न सकेनन्। टप अर्डरमा अकिब नहुँदा त्यो जिम्मेवारी निकोलस क्रिटोनले पूरा गर्नुपर्ने, त्यो जिम्मेवारीमा उनी पनि चुके।

समग्र भन्नुपर्दा बलिङ, ब्याटिङ र फिल्डिङमा पनि मुख्यतः ब्याटिङ समस्या विराटनगरले जतिसक्दो छिटो समाधान गर्दा टिमलाई फाइदा हुनेछ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.