लाहाचोकका दलित व्यावसायिक पशुपालनमा

लाहाचोकका दलित व्यावसायिक पशुपालनमा
सुन्नुहोस्

पोखरा : कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा दलितको ३३ प्रतिशत बस्ती छ। केही अघिसम्म यो समुदायमा कसैले पनि गाईभैंसी पालेर व्यवसाय गरेका थिएनन्। जब लाहाचोक साना किसान कृषि सहकारी संस्थाको स्थापना भयो त्यसपछि सोही समुदायकी एकल महिला टीकादेवी नेपालीले भैंसीपालन थालिन्, त्यो पनि ऋण लिएर। 

टीकादेवी जब एकल महिला भइन्, तब २ छोरा र १ छोरीको लालनपालन सबै पशुपालनसँगै व्यावसायिक खेतीबाटै गर्दै आइन्। सुरुमा उनले दूध बिक्री गरेर आफ्नो व्यवसाय अघि बढाउन मुर्रा भैंसी पालेकी थिइन्। बजारमा दलितको दूध नकिनिदिएको दुःखद् अनुभव पनि उनीसँग छ। उनी विगत सम्झिँदै भन्छिन्, ‘सुरुमा दलितले ल्याएको दूध भनेर किनिदिएनन् , धेरै अप्ठ्यारो भयो। तर सहकारीले कार्यक्रममा सबैलाई खुवाइदिएपछि विभेद कम हुँदै गएर बजारमा दूध बिक्री हुन थाल्यो।’ 

उनको भोगाइको साक्षी रहेकी संस्थाकी अध्यक्ष कमलाकुमारी सुवेदी पौडेल टीकादेवीले बिक्री गर्न लगेको दूध नकिनिदिएको घटना सुनाउँदै भन्छिन्, ‘डेरीले समेत तिमीले दूध ल्यायौं भने अरू कसैले दूध ल्याउँदैनन् भनेर बहिष्कारै गर्न खोजियो।’ यसपछि सहकारीमा एउटा भव्य कार्यक्रममा दलित भनेर विभेद गर्ने सबैलाई बोलाएर उनै टीकादेवीको भैंसीको दूधबाट खिर बनाएर खुवाएको अध्यक्ष पौडेल बताउँछिन्। ‘हामीले यसरी खिर बनाएर सबैलाई खुवाएपछि कसैलाई अस्वस्थ त भएन। यो बारे हामीले सबैलाई थाहा दियौं। यसअघि मात्र विभेदको सोचले समाज जकडिएको थियो। अहिले केही परिवर्तन ल्याएको छ,’ अध्यक्ष पौडेलले भनिन्, ‘सोही गाउँमा इमानसिंह गुरुङको पनि ठूलो फार्म थियो। उनले दूध संकलन गरेर पोखरा लान्थे। यसपछि गुरुङले उनै नेपालीको भैंसीको दूध किनेर लगिदिए। दैनिक क्यानमा दूध बेचेर आउन थालेपछि बल्ल अरू दलितहरूले पनि गाईं–भैंसीपालन जागरुक भए। यसपछि सहकारीबाट पशुपालन ऋण लिन आए।’

५१ वर्षीया टीकादेवीले भैंसीको दूध बेच्न थालेकै अहिले ९ वर्ष भइसक्यो। उनको पौरख र बजारमा दूध बिक्री हुने देखेरै अरू दलितले पनि ऋण लिएर भैंसीपालन थालेको अध्यक्ष पौडेलको भनाइ छ। हिजो दूध बिक्री गर्दा केही समय विभेद खेपेकी टीकादेवी आज समाजमा त्यही दूधको कारणले गर्दा भेदभाव हटेको महसुस गर्छिन्। ‘अहिले भोजभतेरमा पनि सबै बसेर खान्छन्। दूधले गर्दा भेदभाव हटायो,’ उनले भनिन्। 

अहिले छोराछोरी हुर्केर काम सकाउने भएका छन्। हाल उनले छोराबुहारीसँग मिलेर कृषि उद्यम पनि विस्तार गर्न सफल भएकी छन्। पशुपालन, तरकारी र कुखुरापालनबाट जोहो गरेर एक रोपनी जग्गासमेत जोडेकी छन्। पुरानो बन्धकीमा गएको जग्गाहरू पनि विस्तारै ऋण तिर्दै अहिले आफ्नो नाममै ल्याउन सफल भएकी छन्। उद्यम ऋणले समाजमा विभेद न्यूनीकरण गर्नेदेखि उनलाई आर्थिक सबलीकरण र सशक्तीकरणमा समेत सहयोग गरेको उनको अनुभव छ। २०७९ भदौ १५ गते दर्ता भएको उक्त संस्थाले सुरुमा सानोतिनो मात्रै ऋण दिन्थ्यो। सहकारीबाट मात्रै बिनाधितो लगानी गर्दा जम्मा २० हजार रुपैयाँ मात्रै दिइन्थ्यो। जब साना किसान अभियान सुरु भयो र एसियाली विकास बैंक एडीबीको सहयोगमा सरकारमार्फत सानाकिसान लघुवित्तबाट उक्त सहकारीले ९ प्रतिशतको सहुलियत ब्याजदरमा ग्रामीण कृषि उद्यम ऋण सुविधा दिएपछि व्यक्तिगत ५० लाख रुपैयाँसम्मको ऋण सीमा बढ्यो। यो सुविधा आएपछि पशु पाल्नेहरूले व्यवसाय विस्तार गरे। 

पोखरामा लाहाचोकको दूध प्रख्यात छ। अहिले लाहाचोकबाट मात्रै दैनिक १२ हजार लिटरको दूध बिक्री हुन्छ। ‘कृषि उद्यमले ५० लाखसम्म मात्रै ऋण दिन्छ तर अधिकांशले बैंकबाट कर्जा लिएर करोडको कृषि व्यवसाय थालेका छन्। ऋणको सीमा थोरै भएकाले बैंकमा गएका व्यावसायिक किसानहरू सहकारीमा नफर्किंदा अहिलेसम्म तीन वटा मात्रै ग्रामीण कृषि उद्यम ऋण दिन सकेका छौं,’ अध्यक्ष पौडेलले भनिन्। सस्तो ब्याजदरमा पशुपालन गर्न ऋण पाइन्छ भनेपछि यहाँका किसान उत्साहित भएको उनको भनाइ छ। 

उक्त गाउँपालिकामा ४४ वटा सहकारी छन्। जसमध्ये तीनवटा सहकारी महिलाले मात्रै सञ्चालन गरेका छन्। अध्यक्ष पौडेलका अनुसार महिलाले मात्रै चलाएका सहकारीमा ऋणको सदुपयोग हुने र असुली दर बढी हुने भएपछि समस्यामा छैनन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.