एनपीएल खेल्न पूर्व भारतीय खेलाडी उन्मुक्त चन्द नेपालमा
काठमाडौं : पूर्व भारतीय यु-१९ टीमका कप्तान उन्मुक्त चन्द नेपाल आइपुगेका छन्। चन्दले नेपाल प्रिमियर लिगमा लुम्बिनी लियन्सबाट खेल्नेछन्। चन्दको आगमनले लुम्बिनी लायन्सलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास गरिएको छ।
उन्मुक्त चन्दले भारतलाई कप्तानको रूपमा सन् २०१२ मा यु-१९ विश्वकप जिताएका थिए। उक्त फाइनल खेलमा उनले शतकसमेत प्रहार गरेर ऐतिहासिक जित दिलाएका थिए।
उनले दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्सजस्ता ठूला फ्रेन्चाइजहरूका लागि आइपीएलमा खेल्दै आफ्नो ब्याटिङ कलाको प्रदर्शन गरेका छन्। हालः अमेरिकाको मेजर लिग क्रिकेटमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। चन्दको लुम्बिनी लायन्समा आगमनले टोलीलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास छ।
उन्मुक्त चन्दले ६७ फस्ट क्लास खेलहरूमा ३३७९ रन बनाएका छन्। जसमा उनको औसत ३१.५७ रहेको थियो। उक्त खेलहरूमा उनको ८ शतक पनि समावेश छन्। लिस्ट ए क्रिकेटमा उनले ४५०५ रन बनाएका छन्। जसमा ४१.३३ को औसतका साथ ७ शतक समावेश छन्। टी-२० मा पनि उनको कीर्तिमान प्रभावशाली छ। जहाँ उनले ८४ खेलमा १५६५ रन बनाएका छन्। उनको ११६.०९ को उत्कृष्ट स्ट्राइक रेट छ।
लुम्बिनी लायन्सको मार्की प्लेयरमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल रहेका छन् भने प्रमुख प्रशिक्षकमा नन्दन फदनिस रहेका छन्।