जनकपुरको जानकी बिहे अलौकिक

जनकपुरको जानकी बिहे अलौकिक

मान्छेको काम लौकिक हुन्छ, ईश्वरको अलौकिक। मार्ग शुक्ल पञ्चमीमा मनाइने राम जानकी बिहे जनकपुर महोत्सव सुरु हुन लागेको छ, यसपालिसँगै गढीमाई मेला पनि छ, तराईमा थप रौनकता हुन्छ। मार्ग २१ गते हो विवाह पञ्चमी र अयोध्याबाट जन्तीका लागि विशेष निम्तो गइसकेको छ। बस्ती वृद्धिका कारण हिजोआज अयोध्या, सरयुलगायत धेरै स्थान र हाम्रै जनकपुर मिथिला क्षेत्रमा पनि सरसफाइको समस्या छ। हाम्रो शास्त्रले प्रदूषणलाई पाप भनेको छ। धार्मिक, आध्यात्मिक दृष्टिले प्राचीन समयदेखि नै महत्त्व पाएको नेपालमा जति घरहरू छन् त्यति नै मन्दिरहरू पनि। जनकपुरमा जनकपुरधाम, धनुषाधाम, जलेश्वरशिव, सिन्धुलीको कुशेश्वरशिव, दोलखाको भीमेश्वर शिवलगायत कालिञ्चोकदेवीजस्ता प्रसिद्ध शक्तिपीठ मुख्य हुन्। 

मिथिलेति त्रिवर्णीयं श्रुतितोऽपि गरीयसी। मकारो विश्कर्ता च थकार : स्थितिपालक:।। लकारो लयकर्ता वै त्रिमात्रा शक्तयोेऽभवन्। प्रणवेन समं सिद्धि : सर्वाघौघंनिवारणम्।। पौर्णमासीं विना चन्द्रो यथा पूर्णो नजायते। तथा तीर्थादिकं कृत्वा पूर्णो न मिथिलां विना।। मिथिलायां कृतं पुण्यमिहलोके परत्र च। अक्षयं स्यात्तु तत्सर्वं राम–सायुज्यकारकम्।।–विष्णुपुराण

मिथिलाक्षेत्र आफैं महान् छ। तीन अक्षर मिथिलाको मि माने विश्वको सृष्टि हो, थि ले रक्षा, संसारको पालन बुझिन्छ र ला ले लय, प्रलय भन्ने संकेत गर्छ। चन्द्रमा बिनापूर्णिमा अधुरो भएझैं मिथिलाबिनाको तीर्थ धाम अधुरो हुन्छ। मिथिलामा गरिएका कुनै पनि सुकार्यले इह र परलोक दुवै सुध्रन्छ। राम सीताकै कारण त्यो क्षेत्र सायुज्य मुक्तिक्षेत्र नै हो। यस्तौ सौभाग्य बोकेको योक्षेत्र हाम्रा लागि अहोभाग्यको विषय हो।

विष्णुपुराण, स्कन्दपुराण आदि पूर्वीय शास्त्रहरूले जनकपुरधामका बारेमा विशद् चर्चा गरेका छन्। जनकपुर क्षेत्र भन्नु मिथिला क्षेत्र हो। दार्शनिक तपस्वी राजा जनकको राज्य क्षेत्र भएकाले यस क्षेत्रको नाम जनकपुर रहेको हो। दक्षिणमा भागीरथी, पूर्वमा हिमालय क्षेत्र कौशिकी नदी र पश्चिममा गण्डकी नदीको बीच भाग मिथिला क्षेत्र हो। सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता महेश्वर अर्थात् ३ समष्टि ॐ को केन्द्र मिथिला हो। सृष्टि, स्थिति र संहारकी प्रतीक महामाया, महालक्ष्मी र महाकालीस्वरूप सीताको उद्गमस्थल जनकपुर क्षेत्र हो। पापनाशक मिथिला क्षेत्र विश्वकै लागि उत्कृष्ट क्षेत्र हो। महिनाभरमा पूर्णिमा जसरी पूर्ण छ, त्यसैगरी व्रत, तीर्थ, पुण्यको पूर्णताको लागि मिथिलापुरीको दर्शन आवश्यक छ। मिथिलामा गरिएको पुण्य अन्य क्षेत्रमा तुलना हुन सक्दैन। अक्षय फल प्राप्त गर्न चाहने साधकहरूले जनकनन्दिनी सीताको क्षेत्र जनकपुरको भ्रमण गर्नैपर्ने हुन्छ। मिथिलाका १५ नामहरू शास्त्रहरूले बताएका छन्। मिथिला, वैदेही, यज्ञ क्षेत्र, जानकी जन्मभूमि, विश्वमंगला, क्रियापीठ, विकल्मषा, निरपेक्षा, नैमिकानन, रामानन्दकरी, स्वर्णलाङ्घनपद्धति, तैरमुक्ति, तपोवन, शाम्भवी र स्वर्णकानन। 

ब्रह्मज्ञानी जनकबाट व्यासपुत्र शुकदेव स्वामीले भागवतको अध्ययन गरेका थिए। ९ बालयोगीश्वरहरू– कवि, हरि, अन्तरिक्ष, प्रबुद्ध, पिप्लायन, आविर्हाेत्र, दु्रमिल, चमस, करभाजनले राजाजनकलाई ब्रह्मज्ञान सिकाएका थिए। महाज्ञानी महर्षि याज्ञवल्क्य राजा जनकका गुरु थिए। संसारका ज्ञानी, महात्मा, पुण्यात्माहरू जनकसँग वेदान्तको ज्ञान सिक्न आउँथे। अध्यात्म ज्ञानका शिखरपुरुष राजा जनकलाई विदेह महाराज भनिन्थ्यो। देह भएर पनि देहबाट मुक्त, संसारमा रहेर पनि सांसारिक विषयबाट मुक्त राजा जनकको दरबारमा योग शिक्षा सिकाइन्थ्यो। अध्यात्म क्षेत्रका स्रोत व्यक्तिहरूको सभा, सम्मेलन भइरहन्थ्यो। भनिन्छ, जनकपुर क्षेत्रका पशु, पंक्षी, वृक्ष, वनस्पति सबैले वेदको भाषामा कुराकानी गर्थे। सम्पूर्ण वायुमण्डल वेदमय बनेको थियो। सर्वत्र पूजित व्यक्तित्वहरूको संगमक्षेत्र मिथिला विश्वको सर्वोत्कृष्ट ज्ञान र विज्ञानको स्रोत रहेको थियो। 
पावन नदीहरूले सेचन गरेको मिथिलाभूमिमा भगवती आद्याशक्ति स्वरूपिणी महामायाले धर्तीमा अवतरित हुने निधो गर्नु भयो। एकदिन सुनको हलोले

यज्ञभूमि जोतिरहेको बेला वसन्तऋतु, वैशाख शुक्लनवमीको पुण्यतिथिमा पृथ्वीको गर्भबाट जगत् जननी जानकीको उदय भयो। अति राम्री कन्या प्राप्त गरेका राजा जनकले महारानी सुनैनालाई छोरीको रूपमा लालनपालन गर्न आज्ञा दिनुभयो। सीताको उदय दिन भने वैशाख शुक्ल नवमी हो।

अघि सृष्टिकर्ता ब्रह्माजीको अंगबाट उत्पत्ति भएका स्वायंभूमनु र रानी शतरूपाले सर्वेश्वर श्रीहरिको तपस्या गर्दा श्रीहरि प्रसन्न भई वरदान माग्न भन्नुभयो। स्वायंभूमनु र शतरूपा महारानीले एकै स्वरमा ‘तपाईं जस्तै पुत्र प्राप्त गर्न सकौं’ भनेर वरदान मागेकाले भगवान्ले ‘तथास्तु’ भन्नु भएको थियोे। एकपटक मात्र होइन तीन पटकसम्म युगयुगपिच्छे आफू पुत्र भएर धर्तीमा अवतरण हुने भगवान्को वचन रह्योे। त्रेतायुगमा पृथ्वीका दुष्ट शासकहरूका विरुद्ध भू–भार हरण गरी लोकहित र लोककल्याण गर्न श्रीहरिले रामअवतार लिनुभयो। मनुष्यको रूपमा अवतरित हुने क्रममा अघि वरदान प्राप्त स्वायंभू र शतरूपा अयोध्यानगरीमा राजा दशरथ र रानीकौशल्याको गर्भमा रहने निधो गर्नुभयो। भारतको अयोध्या नगरीमा राजादशरथ पुत्र श्रीहरि श्रीरामका रूपमा अवतरित हुनु र श्रीलक्ष्मीले जनकनन्दिनी सीताको रूपमा अवतरित हुनु केवल संयोगमात्र नभएर पूर्वयोजना थियो। 

राम र सीताको विवाहमा स्वयं ब्रह्माजीसमेत आउँदा जनकपुरको वैभव देखेर आफ्नो रचनामा आश्चर्य मान्नुभएको थियो। त्यसबेला जनकपुरमा देखिएको स्वर्णमण्डप, अलौकिक कलाकौशलता, भव्य महलहरू हेर्दा सृजनाकी स्रोत महामाया देवीको कृपाप्रसाद भनेर सहजै भन्न सकिन्थ्यो। जनकपुरको मध्यबजार क्षेत्रमा जानकी मन्दिर रहेको छ। भारतकी टीकमगढकी महारानी वृषभानु कुँवरले सम्बत् १९६८ मा नौलाख रुपैयाँ खर्च गरी बनाएको यो मन्दिरलाई नौलखादरबार भनिन्छ। मुगल शैलीमा बनेको यो मन्दिरलाई शिशमहल भनिन्छ। मन्दिरको गर्भगृहमा राम र सीताका भव्य मूर्तिहरू छन्। सदैव रामसीताको दर्शन गर्न भीड लाग्ने यो मन्दिरको चारैतर्फ दुई र चार तला गरी महलका बुर्जाहरू बनाइएका छन्। जनकपुरको रामजानकी मन्दिर परिसरको पश्चिमपट्टि सुनयना– जनकमन्दिर छ, जहाँ अंगरागसरबाट झिकाइएका राम, सीता, लक्ष्मण एवं जनक राजा परिवारसहितकै मूर्तिहरू स्थापित छन्। मन्दिरको पश्चिमपट्टि राम–जानकी विवाहमण्डप छ। नेपाली मण्डपशैलीमा बनेको यो मण्डपमा राम–सीताको विवाहमा आएको ऐतिहासिक झाँकी र देवदेवी एवं महर्षि गणहरूको सुन्दर मूर्तिहरू स्थापित गरिएको छ। मण्डप परिसरमा भव्य पुष्प उद्यान छ। 

जानकीमन्दिर पूर्वतर्फ श्रीराममन्दिर छ। लक्ष्मी–नारायण ईश्वरका दसं ैअवतारका मूर्तिहरू, हनुमान, देवी, लक्ष्मण, जनक, दशरथ मन्दिर, संकटमोचन, रत्नसागरक्षेत्र र जनकपुरको पवित्र तलाउ हेर्न लायक छन्। राममन्दिरदेखि पूर्वपट्टि दुई तलाउ छन्। यिनलाई धनुषसागर र गंगासागर भनिन्छ। अघि महर्षि वशिष्ठबाट श्राप प्राप्त गरेका राजा निमिका सन्तान थिएनन्। सन्तति नभएका राजाको शरीर मन्थन गर्दा मिथिनामक एक बालक पैदा भए। मिथिनामक बालकको नामबाट त्यो क्षेत्र मिथिला रहने भयो। याज्ञवल्क्य आदि अन्य गुरुहरूले मन्थन गरेको र मृत शरीर मन्थन गर्दाको प्रायश्चितबाट उनीहरू शुद्ध हुनुपर्ने थियो। महर्षि, मुनिहरूलाई ब्रह्माण्डमा रहेका सम्पूर्ण तीर्थ क्षेत्रहरूलाई त्यहाँ आवाह्न गरियो। गंगा आदि पुण्य नदीहरू, सम्पूर्ण समुद्रहरू, सारा तीर्थ क्षेत्रहरूको अंशस्वरूप गंगासागरको रूपमा यस क्षेत्रमा आएर रहने भए। यहीं स्नान गरेर ऋषिमुनिहरू आपूm शुद्ध भए। पापको प्रायश्चित गर्न चाहनेहरू त्यहाँ स्नान गर्छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.