शिखर धवनको अर्धशतकमा कर्णालीले काठमाडौंलाई दियो १५० रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार भएको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १५० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याङिको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनायो। कर्णालीका लागि ओपनर शिखर धवनले ७२ रनको अविजित अर्धशतकीय पारी खेले। उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे।
पावरप्लेमा २ विकेट गुमाएर ३९ रन बनाएको कर्णालीले १० ओभरमा ५७ रन पूरा गरेको थियो। पहिलो विकेटका रूपमा कर्णालीले देव खनाललाई गुमायो। उनी पहिलो ओभरको तेस्रो बलमा करण केसीबाट एलबीडब्ल्यु आउट भए। दोस्रो विकेटका रुपमा कर्णालीले चार्डविक वाल्टनको विकेट गयो। उनले १५ बलमा ५ चौकासहित २१ रन बनाएर करण केसीको बलमा गेरहार्ड इरास्मसबाट क्याच आउट भए।
दिपेश कँडेलले बाबर हायातलाई १३ रनमा बोल्ड आउट गरे । हायातले १८ बलमा १ छक्का प्रहार गरे। गुल्सन झा १९ बलमा १ चौकासहित १२ रन बनाएर स्पम्पिङ आउट भए। पाँचौं विकेट पनि कर्णालीले छिट्टै गुमायो। पहिलो खेलमा आक्रमक ब्याटिङ गरेका अर्जुन घर्ती ३ बलमा १ चौकासहित ४ रनमा नथान साउटरको बलमा बोल्ड भए।
ओपनर शिखर धवनले छैटौं विकेटका लागि जिसन मक्सुदसँग ६५ रनको अर्धशतकीय साझेदारी गरे। जिसन मक्सुदले ११ बलमा १ चौकासहित १४ रनमा अविजित रहे। काठमाडौंका लागि गेरहार्ड इरास्मसले सर्वाधिक २ करण केसी, नथान साउटर, दिपेश कँडेलले समान १/१ विककेट लिए।
पहिलो खेलमा कर्णाली याक्स जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। त्यस्तै काठमाडौं गुर्खाज भने चितवनसँग ५ विकेटले पराजित भएको थियो। बुधबारको दोस्रो खेल लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच हुनेछ।